यूरोपियन र दक्षिण अमेरिकी हेभिवेट भिड्दै

आजका खेल
स्विडेन भर्सेस स्विट्जरल्याण्डः साँझ ७ः४५ बजे
कोलम्बिया भर्सेस इंग्ल्याण्डः राति ११ः४५ बजे
रसियामा जारी विश्वकपको प्रिक्वाटरफाइनलमा आज राति यूरोपियन हेभिवेट इंग्ल्याण्ड र दक्षिण अमेरिकी हेभिवेट कोलम्बिया भिड्दैछन् । नेपाली समय अनुसार राति ११ः४५ मा सुरु हुने खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ । समूह चरणमा उत्कृष्ट प्रर्दशन गर्दै अन्तिम १६ मा प्रवेश गरेका दुई टोली एक अर्कालाई हराउँदै अघिल्लो क्वाटरफाइनल प्रवेश गर्ने अभियानमा हुनेछन् ।
इंग्ल्याण्डले समूह ‘जी’का दुई खेलमा जित हात पारेर अन्तिम १६ मा स्थान बनाएको हो । उसले पनामा र ट्युनियिसालाई पराजित गरेको थियो भने बेल्जियमसँग हार व्यहोरेको थियो । यता कोलम्बियाले भने समूह ‘एच’मा पोल्याण्ड र सेनेगल माथि जित दर्ता गर्दा जापानसँग भने पराजय भोगेको थियो ।
इंग्ल्याण्डका कप्तान ह्यारी केनले विश्वकपमा पाँच गोल गर्दै सनसनीपूर्ण प्रर्दशन गरिरहेका छन्, उनले कोलम्बियाविरुद्धको खेलमा पनि त्यो लयलाई कायमै राख्ने अनुमान गरिएको छ । यता कोलम्बिया भने स्टार खेलाडी जेम्स रोड्रिग्वेजको चोटका कारण केही समस्यामा देखिन्छ । यद्यपी सन्तुलित र एकताबद्ध खेल्दै इंग्ल्याण्डलाई निराश पार्ने दाउमा ऊ देखिन्छ ।
हेड टु हेडमा इंग्ल्याण्ड बलियो
फिफा विश्व वरियतामा इंग्ल्याण्ड १२ औं स्थानमा रहँदा कोलम्बिया १६ औं स्थानमा छ । अहिलेसम्म दुई टोली पाँच पटक एकअर्का विरुद्ध मैदान उत्रिएका छन् । जसमा इंग्ल्याण्डले तीन जित दर्ता गरेको छ । कोलम्बियाले भने इंग्ल्याण्डलाई हराउन सकेको छैन । २ खेल बराबरीमा सकिएका छन् । कोलम्बियाविरुद्ध इंग्ल्याण्डले १० गोल गर्दा कोलम्बियाले तीन गोल फर्काएको छ । विश्वकपमा यसअघि एकपटक दुई टोलीबीच भिडन्त भएको थियो, जसमा इंग्ल्याण्डले जित निकाल्यो ।
सम्भावित लाइनअप
कोलम्बियाः डेभिड ओस्पिना, स्यान्टियागो एरिया, डेभिन्सन सन्चेज, यारी मिना, जोहान मोजिका, कार्लोस सान्चेज, मेटस यूरीबी, जुआन क्यूराड्रो, जुआन क्विनटिरो, लइस मोरिएल, फल्काओ ।
इंग्ल्याण्डः जोर्डन पिकफोर्ड, केली वाल्कर, जोन स्टोन्स, ह्यारी मजुयर, करियन ट्रिपियर, डेली, जोर्डन हेन्डर्सन, जेसे लिंगार्ड, एशले योङ, रहिम स्र्टलिङ, ह्यारी केन ।
प्रेडिक्सनः २–० (इंग्ल्याण्ड)
क्वाटरफाइनल पुगेका टोली र खेल
फ्रान्स भर्सेस उरुग्वेः शुक्रबार साँझ ७ः४५
रसिया भर्सेस क्रोएसियाः शुक्रबार राति ११ः४५