Logo

बेरुजु नियन्त्रणका लागि ठोस पाइला चाल्न राष्ट्रपतिका भनाई

राष्ट्रपति विद्यादेवी भण्डारीले बेरुजु नियन्त्रणका लागि ठोस पाइला नचाले त्यसले समृद्ध नेपाल र सुखी नेपालीको अभियान प्रभावित हुनेतर्फ सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
राष्ट्रपति भण्डारीले शुक्रबार महालेखा परीक्षकको कार्यालयको हिरक जयन्ती उद्घाटनका क्रममा समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि सरकारले आर्थिक अनुशासनमा ध्यान दिनुपर्ने बताइन् । महालेखा परीक्षक टंकमणी शर्माले बेरुजुको अवस्था डरलाग्दो रुपमा बढ्दै गएको र आर्थिक अनुशासनको पालना थप चुनौतिको रुपमा देखापरेको भन्दै चिन्ता प्रकट गरेपछि राष्ट्रपति भण्डारीले बेरुजु नियन्त्रणप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
कार्यक्रममा महालेखा परीक्षक टंकमणी शर्माले संघ, प्रदेश र स्थानीय तहका आर्थिक कार्यविधि अलगअलग हुँदा वित्तीय अनुशासन पालन गराउन चुनौति देखापरेको बताए । उनले जनप्रतिनिधिहरुमा निर्णय गर्ने तर जिम्मेवारी नलिने प्रवृत्ति मौलाएको भन्दै त्यसप्रति पनि चिन्ता प्रकट गरे । महालेखा परीक्षक शर्माले सरकारी निकायहरुमा आर्थिक अनुशासनहीनता बढेको र त्यसका कारण बेरुजुको अंक वर्षेनि बढ्दै गएको भन्दै बेरुजु नियन्त्रणका लागि सरकारले अभियान नै सञ्चालन गर्न आवश्यक रहेको बताए ।
सरकारी निकायहरुको बेरुजु बढेर ५ खर्ब ८ करोड पुगेको छ । गत आर्थिक वर्ष मात्र १ खर्ब २० अर्ब ९१ करोड रुपैयाँ बेरुजु बढेको थियो । महालेखा परीक्षकको कार्यालयले गत आर्थिक वर्षको बेरुजुमध्ये १८ अर्ब ७० करोड ७९ लाख रुपैर्या असुल गर्न सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्