Logo

बुटवल उपमहानगरभन्दा सिद्धार्थनगरको बजेट बढी

रुपन्देही-रुपन्देहीका सबै स्थानीय तहले आव ०७५/७६ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् ।
एक उपमहानगरपालिका, ५ नगरपालिका र १० गाउँपालिका गरी १६ स्थानीय तह रहेको रुपन्देहीका स्थानीय तहले भौतिक पूर्वाधार निर्माणलाई मुख्य प्राथमिकता दिएका छन् । त्यसैगरी भौतिक पूर्वाधारसँगै कृषि, शिक्षा, पर्यटन, स्वास्थ्य तथा सामाजिक विकासको क्षेत्रलाई पनि प्राथमिकता राखिएको छ । १६ स्थानीय तहको बजेटको आकार १० अर्ब ५२ करोड ७५ लाख रुपैयाँ छ ।
सबै स्थानीय तहले बजेट सार्वजनिक गरे पनि जिल्लाको देवदह नगरपालिका, कोटहीमाई गाउँपालिका र गैडहवा गाउँपालिका गरी तीन स्थानीय तहले अझै पनि बजेटको आकार सार्वजनिक गरेका छैनन् । बाँकी १३ स्थानीय तहको बजेट सार्वजनिक भई पारितसमेत गरिसकेका छन् । स्थानीय तहमध्ये सबैभन्दा ठूलो बजेट सिद्धार्थनगर नगरपालिकाको छ । सिद्धार्थनगरको बजेट बुटवल उपमहानगरको बजेटभन्दा ठूलो छ । सिद्धार्थनगरमा एडीबीको ऋण सहयोगमा एकीकृत सहरी विकास कार्यक्रम चलिरहेकाले बुटवल उपमहानगरको तुलनामा बजेटको आकार ८३ करोडले बढी भएको हो ।

कुन तहको बजेट कति ?
सिद्धार्थनगर नगरपालिका
पूर्वाधार, पर्यटन, खेलकुद, जनजीविका र स्थानीय शासनलाई प्राथमिकीकरण दिएको सिद्धार्थनगरले दुई अर्ब ४९ लाख ८१ हजारको बजेट ल्याएको छ । यो चालू आवभन्दा ४५.१३ प्रतिशतले बढी हो । एसियाली विकास बैंकको अनुदान सहयोग आईयूडीपीतर्फ २३ करोड र आईयूडीपीतर्फ १७ करोड थप भएकाले यहाँको बजेट सबैभन्दा धेरै भएको हो ।

बुटवल उपमहानगरपालिका
‘सुन्दर बुटवल, समृद्ध बुटवलः खुसी बुटवलवासी’ भन्ने नारासहित बजेट ल्याएको बुटवल उपमहानगरपालिकाले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ । उसले एक अर्ब ६६ करोड ५० लाख १६ हजार ८३१ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । यो बजेट चालू आवभन्दा २७ करोड बढी हो । बजेटमा शिक्षा, पर्यटन, कृषि, उद्योग, व्यापार–व्यवसायलाई बुटवलको समृद्धिको आधार मानिएको छ ।

तिलोत्तमा नगरपालिका
हरियाली प्रवद्र्धनलाई प्राथमिकता राखेर बजेट ल्याएको तिलोत्तमा नगरपालिकाले एक अर्ब ३५ करोड रुपैंयाँको बजेट प्रस्तुत गरेको छ । शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकता दिएको बजेटको मुख्य उद्देश्य ‘समृद्ध नगरः खुसी नगरवासी’ रहेको छ । बजेटमा आम्दानीको स्रोतको रूपमा आन्तरिक राजस्व वृद्धि गर्ने जनाइएको छ ।

सैनामैना नगरपालिका
सैनामैना नगरपालिकाले ५९ करोड ५९ लाखको बजेट ल्याएको छ । सैनामैनावासीलाई समृद्धिको आभास दिलाउने उद्देश्य राखिएको बजेटमा कृषि, खेलकुद, पूर्वाधार विकास, स्वास्थ्य शिक्षालाई विशेष प्राथमिकता दिइएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिका
भगवान गौतम बुद्धको जन्मस्थलसमेत रहेको लुम्बिनी सांस्कृतिक नगरपालिकाले ५२ करोड ८९ लाख बराबरको बजेट ल्याएको छ । संस्कृतिको सरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यसहित ल्याइएको बजेटमा कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य र जनजीविकाको सवाललाई विशेष प्राथमिकता दिइएको छ । नगरलाई स्वच्छ, सफा र प्रदूषणरहित बनाउन बजेटमा विशेष व्यवस्था गरिएको छ ।

देवदह नगरपालिका
नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेको देवदह नगरपालिकाले करिब ६० करोडको बजेट ल्याउँदै छ । आन्तरिक स्रोत वृद्धिलाई प्राथमिकता दिएर ल्याउन लागिएको उक्त बजेटमा कृषि, पर्यटक, उद्योग, रोजगारी, वृद्धवृद्धालाई प्राथमिकता दिइने जनाइएको छ । बजेट नगर सभाबाट पारित भएपछि मात्रै सार्वजनिक गरिने नगरपालिकाले जनाएको छ ।

ओमसतिया गाउँपालिका
शिक्षा क्षेञलाई विशेष प्राथमिकता दिएको ओमसतिया गाउँपालिकाले ३५ करोड बराबरको बजेट ल्याएको छ । उसले पूर्वाधार विकास, जनजीविका र बजारीकरणलाई प्राथमिकता दिएको छ । स्थानीय उत्पादनलाई बजारसम्म सहज तरिकाले पु¥याउन बजेटमा व्यवस्था गरिएको छ । यस्तै बालिका बिमालाई पनि प्राथमिकता दिइएको छ ।

रोहिणी गाउँपालिका
गाउँपालिकालाई विकसित गराउने उद्देश्यले पूर्वाधारमा विशेष जोड दिएको रोहिणी गाउँपालिकाले ४० करोड २२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उसले शिक्षा, स्वास्थ्य, कृषिलाई पनि उत्तिकै प्राथमिकता दिएको छ ।

सम्मरीमाई गाउँपालिका
भौगोलिक हिसाबले पछाडि परेको गाउँ हो, सम्मरीमाई गाउँपालिका । यहाँ शिक्षा, स्वास्थ्य र गरिबीका रेखामुनि परेका नागरिकको बढी बसोबास छ । यी क्षेत्रसहित कृषि र पूर्वाधारलाई प्राथमिकता दिँदै पालिकाले ४० करोड ५ लाख बराबरको बजेट ल्याएको छ ।

मर्चवारी गाउँपालिका
भारतीय सीमासँग जोडिएको मर्चवारी गाउँपालिकाले ३६ करोड ४७ लाख बराबरको बजेट ल्याएको छ । पूर्वाधार विकासमा सबैभन्दा बढी बजेट छुट्याएको पालिकाले शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकता दिएको छ । यो पालिका कृषि उत्पादनमा राम्रो मानिन्छ । यस्तै बजेटमा बालविवाहलाई पूर्ण रूपमा नियन्त्रण गर्ने जनाइएको छ ।

कोटहीमाई गाउँपालिका
नीति तथा कार्यक्रममा कृषि र पूर्वाधार विकासलाई विशेष प्राथमिकता दिएको कोटहीमाई गाउँपालिकाले २१ करोड बराबरको बजेट ल्याउँदै छ । गाउँ सभाबाट पारित भएपछि मात्रै बजेट सार्वजनिकीकरण गर्ने जनाएको पालिकाले शिक्षा, रोजगारी, नदीजन्य पदार्थको व्यवस्थापन, आन्तरिक स्रोत वृद्धि र स्वास्थ्यलाई पनि विशेष प्राथमिकता दिएको छ ।

शुद्धोधन गाउँपालिका
शुद्धोधन गाउँपालिकाले ३८ करोड २६ लाख बराबरको बजेट ल्याएको छ । मत्स्य पर्यटनलाई विशेष प्राथमिकता दिएको पालिकाले कृषि, पशुपालन, स्वास्थ्य, शिक्षा, आन्तरिक स्रोत वृद्धिलाई पनि बजेटमा विशेष व्यवस्था गरेको छ ।

मायादेवी गाउँपालिका
कृषिमा पकेट मानिने मायादेवी गाउँपालिकाले ४७ करोड ८७ लाख बजेट ल्याएको छ । कृषि, उद्योग व्यवसाय, शिक्षा, पर्यटन, स्वास्थ्य र स्रोत वृद्धिलाई विशेष प्राथमिकता दिएको छ । यस्तै मठमन्दिर, नदी र भौतिक पूर्वाधार विकासलाई पनि विशेष व्यवस्था गरिएको छ ।

सियारी गाउँपालिका
कृषि, पर्यटन, रोजगारी, शिक्षा, स्वास्थ्य र बजारीकरणलाई विशेष व्यवस्था गरेको सियारी गाउँपालिकाले ३९ करोड ९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यस्तै भौतिक पूर्वाधार, रोजगारी, उत्पादन वृद्धि र आन्तरिक स्रोत परिचालनलाई पनि बजेटले प्राथमिकता दिएको छ ।

कञ्चन गाउँपालिका
कञ्चन गाउँपालिकाले ४० करोड बराबरको बजेट ल्याएको छ । कृषिमा पकेट मानिने पालिकाले बजेटको प्राथमिकता दिएको छ । यस्तै भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, आन्तरिक स्रोत वृद्धि, मठमन्दिर, मस्जिदको संरक्षणलाई पनि बजेटमा व्यवस्था गरिएको छ ।

गैडहवा गाउँपालिका
नीति तथा कार्यक्रममा कृषि, पर्यटन र भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिएको गैडहवा गाउँपालिकाले करिब ४० करोड बराबरको बजेट ल्याउँदै छ । गाउँसभाबाट पारित भएपछि सार्वजनिकीकरण गर्ने जनाएको पालिकाले शिक्षा, स्वास्थ्य, तालतलैया, रोजगारी, उत्पादन वृद्धि, स्रोतको पहिचान र बजारीकरणलाई पनि प्राथमिकतामा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्