Logo

तानसेन नगरको बजेट गत वर्षभन्दा दोब्बर

पाल्पा-तानसेन नगरपालिकाले आगामी आव ०७५/७६ का लागि ८० करोड १३ लाख बराबरको बजेट प्रस्ताव गरेको छ । नगरपालिकाको देस्रो नगरसभामा गत वर्षको तुलनामा झण्डै दोब्बर बजेट प्रस्ताव गरेको हो । समृद्ध नगर, आत्मनिर्भर नगरवासी, सफानगर, सुखीनगरवासी नारासहित आव ०७५/७६ को वार्षिक नीति तथा कार्यक्रमसमेत नगरपालिकाले पारित गरेको छ ।
तानसेन नगरपालिकाकी उपप्रमुख लक्ष्मी पाठकले प्रस्तुत गरेको बजेट र नीति तथा कार्यक्रम छलफलपछि पारित हुनेछ । नगरपालिकाले पूर्वाधार विकासमा ११ करोड ६ लाख, सामाजिक विकासमा ४३ करोड ५९ लाख, आर्थिक विकासमा ८ करोड ५ लाख, वन वातावरण र विपदव्य वस्थापनमा ४ करोड ४० लाख र सुशासन तथा संस्थागत विकासमा ३ करोड २१ लाख विनियोजन गर्ने प्रस्ताव प्रस्तुत नीतिमा छ । संसदीय अभ्यासको पालना गर्दै बसेको बैठकमा कार्यपालिका सदस्य मैयादेवी घिमिरेले आर्थिक विधेयक र उपप्रमुख पाठकले विनियोजन विधेयक पेस गरेका थिए ।
यस्तै नगरपालिकाले आगामी आर्थिक वर्षमा १५ वर्षे रणनीतिक योजना र ५ वर्षे आवधिक योजना निर्माण गरी त्यसकै आधारमा नगर विकासका योजना सञ्चालन गर्ने बताएको छ । नगरका महत्वपूर्ण आयोजनालाई नगर गौरवका आयोजनामा समावेश गरी प्राथमिकताका साथ कार्यान्वयन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । तानसेन–५ मा वातावरणमैत्री बसपार्क निर्माणकार्य अघि बढाउने, भूउपयोग योजनासहित एकीकृत सहरी विकास योजना लागू गर्ने, तानसेन–५, ६, ७ र ९ मा नमुना सहर विकास कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।
यसैगरी सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी, प्राविधिक क्याम्पस सञ्चालनका लागि अध्ययन गर्ने, दलित बिमा कार्यक्रमको दायरा बढाएर महिला स्वयं सेविका र सफाइकर्मीसम्म विस्तार गर्ने, हरेक वडामा एक स्वास्थ्य संस्था स्थापना गर्ने तानसेन नगरको लक्ष्य छ । समानुपातिक विज्ञापन नीति तर्जुमा गरी कार्यान्वयन गर्ने, मर्यादित र निष्पक्ष पत्रकारिता विकासका लागि सहकार्य गर्ने, वडाबाटै कर र राजस्व तिर्ने व्यवस्था मिलाउने, भवन निर्माण संहिता लागू गर्ने, सार्वजनिक जग्गा संरक्षण गर्ने लगायतका कार्यक्रम नीति तथा कार्यक्रममा परेको छ ।
सभामा उत्कृष्ट विद्यालयका रूपमा लक्ष्मी माध्यमिक विद्यालय, भुसल डाँडा माध्यमिक विद्यालय र सेन्टकपितानियोलाई २ लाख नगद र प्रशंसापत्र प्रदान गरिएको छ । सभामा ६ जना सभासदले मात्र नीति तथा कार्यक्रमको छलफलमाभागलिएकाथिए ।
अमृत अधिकारी

प्रतिक्रिया दिनुहोस्