नेपालका सुरक्षाकर्मी इमान्दार : राष्ट्रसंघ «

नेपालका सुरक्षाकर्मी इमान्दार : राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघले विश्वशान्ति स्थापनामा नेपालका सुरक्षाकर्मीले पुर्याएको योगदान अतुलनीय रहेको जनाएको छ । द्वन्द्वग्रस्त मुलुकको शान्ति र स्थायित्वका लागि नेपालका सुरक्षाकर्मीले जुनसुकै चुनौतीका बीच पनि इमान्दारिताका साथ जिम्मेवारी निर्वाह गरेको राष्ट्रसंघका अधिकारीले बताएका हुन् ।
नेपालको औपचारिक भ्रमणमा आएका राष्ट्रसंघीय पिस किपिङ डिपार्टमेन्टका प्रमुख तथा उपमहासचिव जिन पाइरे लाक्रोइक्सले प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँगको भेटमा द्वन्द्वग्रस्त मुलुकको संकट निवारण गर्न राष्ट्र संघलाई आवश्यक परेको फौज खटाएर नेपालले महत्वपूर्ण योगदान पुर्याएको बताए ।
विश्व शान्ति स्थापनामा नेपालका सुरक्षाकर्मीले खेलेको भूमिका प्रशंसायोग्य रहेको उल्लेख गर्दै उनले महिला शान्ति सैनिकको संख्या वृद्धि गर्ने नेपाली सेनााके प्रतिवद्धताप्रति पनि धन्यवाद दिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
उपमहासचिव लाक्रोइक्ससँगै राष्ट्रसंघका शान्तिसेना विभागका सल्लाहकार लेफ्टिनेन्ट जनरल कार्लोस हुम्वर्तो लोइते र पुलिस एडभाइजर लुइस कारिल्हो तथा राजनीतिक मामिला सल्लाहकार एलिस काइलमान सहभागी थिए । नेपाल भ्रमणका क्रममा राष्ट्रसंघका उच्च अधिकारीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गृहमन्त्री रामबहादुर थापा (वादल) तथा नेपाल र सशस्त्र प्रहरीका आइजीपीद्वय सर्वेन्द्र खनाल र शैलेन्द्र खनालसँग पनि भेट गर्नेछन् ।
नेपालमा रहँदा राष्ट्रसंघको प्रतिनिधिमण्डलले काभ्रेको पाँचखाल स्थित वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रको पनि अवलोकन गर्ने छन् । सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीका अनुसार प्रतिनिधिमण्डल बुधबार पाँचखाल जाने कार्यक्रम छ ।
सन् १९५८ मा लेवनान स्थित शान्ति मिसनमा मिलिटरी अब्जर्भरको रुपमा पहिलो पटक नेपाली सेनाले सहभागिता जनाएको थियो । ६० वर्षको यो अवधिमा द्वन्द्वग्रस्त एसीया, अफ्रिका, युरोप, मध्यपूर्वी क्षेत्र लगायत मुलुकका ४२ मिसनमा सहभागीता जनाइसकेको छ । सेना बाहेक प्रहरी र सशस्त्र प्रहरी पनि हाइटी, सुडान र दक्षिण सुडानका मिसनमा शान्ति स्थापनार्थ तैनाथ छन् । प्रहरी र सशस्त्रबाट करिव ६ सय भन्दा बढी फौज मिसनमा कार्यरत छन् ।
पछिल्लो तथ्यांक अनुसार प्रजातान्त्रिक गणतन्त्र कंगो, सुडान, दक्षिण सुडान, मोरक्को, इजरायल, लेवनान, माली, सिरिया, सेन्ट्रल अफ्रिकन रिपव्लिक, इराक र लिवियाका १३ वटा शान्ति मिसन अन्तर्गत फौज-पल्टन, मिलिटरी पुलिस, मिलिटरी अब्जर्भर, स्टाफ अफिसर लगायत भूमिकामा १ सय २९ महिला सहित ४ हजार ८ सय २९ जना नेपाली सैनिक अधिकृत तथा जवान तैनाथ छन् । त्यस्तै अनपोल र फम्र्ड पुलिस युनिट (एफपीयु) गरी प्रहरी र सशस्त्रका ६ सय भन्दा बढी जनशक्ति मिसनमै कार्यरत छन् ।
राष्ट्रसंघका तर्फबाट विश्व शान्ति स्थापनाका लागि मिसनमा सुरक्षाकर्मी तैनाथ गरेर योगदान पुर्याउनेमा नेपाल १ सय १६ मुलुकमध्ये छैटौं स्थानमा पर्छ । राष्ट्रसंघले आग्रह गरे १० हजार सम्म शान्ति सैनिक परिचालन गर्नसक्ने जानकारी नेपालले केही वर्ष अघि नै गराइसकेको छ ।
अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र पहरी गरी अहिले मिसनमा करिव ५ हजार ५ सय जनशक्ति तैनाथ छन् । नेपाल बाहेक बढी सुरक्षाकर्मी तैनाथ गर्ने मुलुकहरुमा इथियोपिया, बंगलादेश, भारत, पाकिस्तान र रुवान्डा छन् । शान्ति मिसन आर्थिक आर्जनका लागि समेत आर्कषक माध्यम समेत हो । अनपोल-मिलिटरी अब्जर्भर, स्टाफ अधिकृत लगायतको भूमिकामा तैनाथ एक जना सैनिक तथा प्रहरी अधिकृतले वार्षिक ४० देखि ४५ लाख रुपैयाँ सम्म पारिश्रमिक पाउँछन् । सेना र प्रहरीबाट पल्टनको रुपमा तैनाथ प्रति जनशक्तिले भने १ वर्षको अवधिमा १५ लाखको हाराहारीमा पारिश्रमिक पाउने गरेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्