Logo

प्रदेश ४ सरकारको खर्च ८ प्रतिशत

दमौली- प्रदेश नम्बर ४ को सरकारले चालू आर्थिक वर्ष २०७४-७५ मा जम्मा ८.४८ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । चालू आर्थिक वर्षका लागि १ अर्ब १ करोड ६९ लाख ४१ हजार रुपैयाँ विनियोजन भएकोमा ८ करोड ६२ लाख ४६ हजार रुपैयाँ मात्रै खर्च भएको छ ।
प्रदेशसभा सचिवालयलाई ९ करोड ९६ लाख ७९ हजार रुपैयाँ विनियोजन भएकोमा २ करोड ८६ लाख ९२ हजार खर्च भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ६ करोड ४४ लाख ३९ हजार विनियोजन भएकोमा १ करोड २२ लाख २९ हजार, आर्थिक मामिला तथा योजना मन्त्रालयलाई ९ करोड ८१ लाख ३० हजार विनियोजन भएकोमा ६० लाख ६५ हजार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई ४ करोड ६५ लाख ५४ हजार विनियोजन भएकोमा ७४ लाख ३८ हजार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई ८ करोड ३७ लाख ४२ हजार विनियोजन भएकोमा ५८ लाख ४७ हजार रुपैयाँ खर्च भएको छ ।
यस्तै, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई ४ करोड ९ लाख ४६ हजार विनियोजन भएकोमा ७६ लाख ६८ हजार, भौतिक पूर्वाधार विकास मन्त्रालयलाई २५ करोड ६ लाख ३५ हजार विनियोजन भएकोमा ७५ लाख ३२ हजार र सामाजिक विकास मन्त्रालयलाई ६ करोड ७८ लाख ७८ हजार विनियोजन भएकोमा १० लाख ७७ हजार २ सय रुपैयाँ खर्च भएको छ । प्रदेश नम्बर ४ मा खर्च भएको बजेट कार्यालयगत खर्च मात्रै हो ।
प्रदेश सरकार चालू आर्थिक वर्षको फागुन महिनामा गठन भएको थियो । नेपाल सरकारबाट समानीकरण अनुदान स्वरुप प्राप्त रकमलाई स्रोतको रुपमा लिई चालू आर्थिक वर्षको राजस्व र व्ययको अनुमान ०७५ वैशाख १९ गते प्रदेश सभामा प्रस्तुत भइसकेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरणबाट मन्त्रालयको भौतिक तथा वित्तीय गतिविधि, सम्पादित महत्वपूर्ण कार्यहरू र मन्त्रालयगत सार्वजनिक स्रोत परिचालनको बारेमा जानकारी हुने मन्त्री किरण गुरुङले बताए ।
कृष्ण न्यौपाने

प्रतिक्रिया दिनुहोस्