एकैसाथ धान रोप्ने र भित्र्याउने चटारो

बर्दिया- एकातिर पहेंलपुर भएर लहलह झुलेका धानका बाला, अर्कोतर्फ अब रोप्ने तयारीमा रहेको बीउको ब्याड । बर्दिया राजापुर–७ भिम्मापुरका कृषक गुरुप्रसाद चौधरी पाकेको चैते धान भित्र्याउने र बर्खेधान रोप्ने ध्याउन्नमा छन् ।
बर्खेधान रोपाइँसँगै चैते धान थन्क्याउने चटारो भएपछि यतिबेला उनी अन्य समयभन्दा बढी व्यस्त देखिन्छन् । “चैते धान पाकेर काट्ने तयारीमा छौ,” उनले भने, “बर्खा सुरु भइसक्यो, बर्खे धान लगाउनका लागि बीउ काट्ने, खेत जोत्ने सवै काम एकै पटक भएकाले अलि बढी व्यस्तता छ ।”
गुरुप्रसाद मात्रै होइन गेरुवा गाउँपालिका वडा नम्बर ४ गिदरपुरका प्रदेसु थारुको व्यस्तता पनि धान रोपाइँका साथै थन्क्याउने कार्यमा बढेको छ । तीन वर्षदेखि चैते धान लगाउन सुरु गरेका प्रदेसुले कामको चटारो भए पनि सन्तुष्टि बढेको बताए । “चैते धान थन्क्याउने र बर्खेधान लगाउने समय सँगसँगै हुँदा अलि बढी मेहनत र लगानी गर्नुपरे पनि भोकमरीको समस्या टरेको छ,” उनले भने, “चैतेधान बेचेर बर्खेधानका लागि लगानी गर्दा किसानका धेरै समस्या हल भएका छन् ।”
मानो रोपेर मुरी फलाउने समयको रुपमा लिइने असार महिनाको दोस्रो साता सुरु भइसकेको छ । देशैभरिका कृषक धान रोप्नका लागि बीउ काड्ने, खेत जोत्ने काममा व्यस्त छन् । तर बर्दियाको राजापुर क्षेत्रका कृषक भने धान रोपाइँ सँगसँगै पाकेर चैते धान भित्र्याउनेे सुरमा छन् । यहाँका अधिकांश किसानको जीविकोपार्जनको आधार नै धान खेती हो ।
राजापुर क्षेत्रमा कुल १६ हजार हेक्टरमा धान खेती हुने गरेको छ । जसमध्य यसवर्ष राजापुर नगरपालिकामा १ सय ५० र गेरुवा गाउँपालिकामा १ सय २० हेक्टर गरी कुल २ सय ७० हेक्टरमा चैतेधान खेती लगाइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धान सुपरजोन एकाई कार्यालय राजापुरले जनाएको छ । चैतेधानको खेती राम्रो भएकाले बर्खेधानभन्दा बढी उत्पादन हुने अनुमान गरिएको परियोजनाका प्रमुख कुलप्रसाद अधिकारीले बताए । गत वर्ष ३.९६ मेट्रिक टन उत्पादन भएको चैतेधान यस वर्ष बढेर ४.४ मेट्रिक टन पुग्ने अनुमान रहेको उनको भनाइ छ । “यो गतवर्षको बर्खेधानको उत्पादन भन्दा बढी हो,” उनले भने, “गतवर्ष ४.०७ मेट्रिक टन बर्खेधान उत्पादन भएको थियो ।” यस वर्ष पर्याप्त सिँचाइ, मल र गाउँमै खुलेको बीउ प्रशोधन केन्द्रबाट उन्नत बीउ पाएपछि उत्पादन राम्रो हुने अपेक्षा किसानको छ ।
चैतेधान खेतीतर्फ किसानको आकर्षण बढे पनि धान बिक्रीको भने समस्या रहेको राजापुर–७ का अगुवा कृषक पहारी थारुको भनाइ छ । “बजारको समस्या नहुने हो भने बर्खे धानकै तुलनामा चैतेधान पनि लगाउन सकिन्छ,” उनले भने, “यसका लागि खाद्य संस्थानले किसानको धान किनिदिन जरुरी छ ।”
जिल्ला कृषि विकास कार्यालय बर्दियाका प्रमुख पर्शुराम रावतले सरकारले नीतिगत रूपमै धान खरिद गर्न सक्ने प्रबन्ध मिलाउन सके बर्दियामा बाह्रैमास धान खेती गर्न सकिने सम्भावना रहेको बताए । “चैते धानप्रति कृषकको आकर्षण बढ्नुका साथै उत्पादन पनि राम्रो छ,” उनले भने “उचित मूल्यसहित बजारको समस्या नरहने हो भने जिल्लामा बाहै्रमास धान खेती गरी मनग्य आम्दानी लिन सकिन्छ ।” सरकारले मुलुकलाई धानमा आत्मनिर्भर बनाउने लक्ष्य पुरा गर्न बर्दियाले विशेष योगदान दिनसक्ने उनको भनाइ छ ।
लक्ष्मण ढुंगाना