यो एक सपना थियो «

यो एक सपना थियो

रहिम स्टर्लिङ
राष्ट्रिय टोली सदस्य, इंग्ल्यान्ड
मेरी छोरी थोरै अचम्मकी छिन् । लगभग ६ वर्षको उमेरमा उनमा ‘लिटिल एटिट्युड’ विकसित भइरहेको छ । तपाईंलाई थाहा छ ? मेरी छोरी घरको चारैतिर दौडँदै गीत गाइरहेकी छन् । उनका पिताले भर्खरै म्यानचेस्टर सिटीबाट प्रिमियर लिगको उपाधि जितेको थियो, त्यो पनि १०० अंक जोडेर । के उनलाई त्यसको परवाह थियो ?
हाहाहा ! उनलाई म्यानचेस्टर सिटीको मतलब नै छैन, त्यसको कारण हो लिभरपुल । उनी लिभरपुल मन पराउँछिन् । म भगवानको कसम खान्छु, उनी पिताझैँ दौडिन्छिन् । उनी रहिम स्टर्लिङकै झैं दौडन्छिन्, तपार्इंलाई थाहा छ, उनले कुन गीत गाउँछिन् ?
मो साला ! मो साला ! मो साला !
रनिङ डाउन द विङ !
सलाहहहहहहहहहह ला ला ला लाा !
इजिप्टियन किङ !
के तपाईं विश्वास गर्नुहुन्छ ?
जब म बच्चा थिएँ, म पनि उनीजस्तै थिएँ । यदि तपाईंलाई उसले राम्रोसँग चिन्दैन भने एक शब्द पनि बोल्दैन । एक शब्द बोल्नुभन्दा पहिले तपाइं माथि उसले भरोसा गर्नुपथ्र्यो । यो हाम्रो परिवारको विशेषताझैं बनेको थियो ।
के म तपाईंलाई विश्वास गर्न सक्छु ? के म तपार्इंलाई मेरो कथा सुनाउन सक्छु ? यदि तपाईंले केही सामग्री पढ्नुभएको छ ? छ भने मलाई तपाईंले पहिलेदेखि नै चिन्नुहुन्छ र मेरो कथा तपार्इंलाई थाहा छ ।
जब म २ वर्षको थिएँ, मेरो बुबाको हत्या भयो । त्यसपछि भने मेरो सम्पूर्ण जीवन नै परिवर्तन भयो । त्यो डरलाग्दो घटनाको केही समयपछि आमाले म र दिदीलाई जमैका छोडेर इंग्ल्यान्ड जाने निर्णय गर्नुभयो । ताकि उहाँले डिग्री सक्नुहोस् र हाम्रो जीवन राम्रो होस् भन्ने आमाको चाहना थियो । केही वर्षसम्म हामी किंग्स्टनमा हजुरआमाका साथमा बस्यौं । म सम्झन्छु, त्यो बेला आफ्नी आमासँग कोही बच्चा देख्यो भने मलाई साँच्चै इष्र्या लाग्थ्यो ।
मैले त्यो बेला बुझ्न सकिनँ, मेरी आमाले हाम्रा लागि के गर्दै हुनुहुन्थ्यो । मलाई यत्ति थाहा थियो, आमाले हजुरआमासँग हामीलाई छोडेर जानुभयो । हजुरआमा अद्भुत हुनुहन्थ्यो, तर त्यो उमेरमा सबै बच्चाले आफ्नी आमा चाहन्छन् ।
थ्यांक्स गड ! म फुटबलमा थिएँ । म सम्झन्छु, जब पानी परिरहेको हुन्थ्यो, सबै बच्चा दौडन्थे र पानी जमेको ठाउँमा गएर फुटबल खेल्थे, अनि एक अर्कालाई जिस्काउँथे । त्यो समय जमैकाको वातावरणका बारेमा सोच्नमै मेरो दिमाग खर्च हुन्थ्यो । म अर्को कुरा सम्झन्छु, हजुरआमालाई आइसक्रिम किनेर खान पैसा माग्न निकै अनुनय विनय गर्नुपथ्र्यो ।
मैले त्यो बेला बुझ्न सकिनँ, मेरी आमा हाम्रो जीवन राम्रो बनाउने कोसिसमा हुनुहुन्थ्यो । जब म पाँच वर्षको थिएँ, हामी आमासँगै बस्न लण्डनमा आयौं । त्यो निकै कठिन समय थियो, किनकी त्यहाँको संस्कृति निकै फरक थियो । त्यहाँ घुलमील हुन हामीसँग पर्याप्त पैसा थिएन, तरपनि आमाले हामीलाई कुनै कुराको कमी हुन दिनुभएन ।
आमाले केही होटलमा क्लिनरको काम गरेर अतिरिक्त कमाई गर्नुहुन्थ्यो, ताकी आफ्नो डिग्रीको ‘फि’ बुझाउन सकियोस् । म भुल्दिनँ, त्यो बेला म स्कुल जानुभन्दा अघि बिहान पाँच बजे उठ्थेँ र आमालाई स्टोनब्रिज होटलका ट्वाइलेट सफा गर्न सघाउँथे ।
हाम्रो परिवार निकै कडा थियो, हामी कडा थियौं, तपार्इंलाई थाह छ ? म घरको परिधी तोडिरहेको थिएँ । त्यही बेला मैले आमालाई सोध्छु, ‘आमा ! आमा ! म बाहिर जान सक्छु ?’ उहाँले सधैं एउटै जवाफ दिनुहुन्थ्यो, ‘तिमी बाहिर जान सक्छौ, तर घर नछोड ।’
वास्तवमा म त्यो समय सम्झेर निकै नराम्रो महसुस गर्छु, म जब प्राथमिक विद्यालय जान्थे, त्यो बेला निकै बदमास थिएँ । म त्यतिकै बसिरहन सक्दिनँ थिए, सरले भनेको त्यतिकै सुनेर बस्नँ सक्दिनँ थिएँ । मलाई केही न केही गरिरहन मन लाग्थ्यो । म खुल्ला ठाउँमा दौडिरहन्थे, अनि आफैंलाई रोनाल्डिन्हो झैं सम्झन्थेँ । मेरो बदमासीकै कारण विद्यालयले मलाई निकाल्यो ।
वास्तवमा यो पूरै सत्य होइन, उनीहरुले मलाई बाहिर पठाएनन्, आमालाई भनिदिए की, मलाई निगरानीमा राख्नुपर्छ । अनि ६ बच्चालाई र तीन शिक्षकलाई साथै राख्ने निर्णय गरिदिए, यो कुनै जोक होइन । सबैभन्दा खराब कुरा चाहिँ हामीलाई लिन बिहानै बस आउँथ्यो र बेलुका घर छोडिदिन्थ्यो । एकदिन म बसमा यात्रा गरिरहेको थिएँ, मैले झ्यालबाट एक हुल केटाकेटी हाँस्दै स्कुल गइरहेको देखेँ । त्यो दृश्यले मलाई छोयो । अनि मैले सोचेँ, म पनि त्यस्तै गर्न चाहन्छु, तर त्यो सम्भव थिएन, अनि चुपचाप बसेँ ।
म कसैलाई पनि सुन्न चाहन्न थिएँ, तर मेरी आमा ? त्यो मेरो समस्या थियो । यद्यपी एक वर्षपछि म सुध्रन थालें । म ठूलो स्कुल जान थालेँ, र कडा मेहनत गर्न थालेँ । जब मैले क्लाइभ एलिंगटन नामको एक केटासँग भेटेँ, अनि मेरो जीवन बदलियो । उसले छिमेकका बच्चाहरुलाई सल्लाह दिन्थ्यो । उसले सप्ताहिक रुपमा लण्डनको आसपास घुमाउन लैजान्थ्यो, अनि जीवनका अलग पक्ष देखाउँथ्यो ।
कहिलेकाहिँ हामी स्नुकर खेल्थ्यौं, उसले हाम्रो निकै ख्याल गथ्र्यो । एकदिन उसले मलाई सोध्यो, ‘रहिम तिमी के गर्न मन पराउँछौ ?’
त्यो मेरा लागि सजिलो प्रश्न थियो हैन र ? त्यो बेला मैले त्यो तरिकाबाट सोचेको थिइनँ । म सडकमा फुटबल खेलिरहेको थिएँ र बच्चा हुनुका नाताले साथीहरुसँग घुमिरहेको थिएँ । र पनि मैले जवाफ दिएँ, ‘म फुटबल खेल्न मन पराउँछु ।’
उसले भन्यो, ‘ठिक छ । मैले एउटा सानो सन्डे लिग टिम भेटेको छु । तिमी किन बाहिर आउँदैनौं ? हामीसँगै खेल्न सक्छौं ।’
त्यो पल यस्तो थियो, जसले मेरो जीवन बदल्यो । त्यो समय सिर्फ फुटबल, फुटबल, फुटबल मात्रै थियो । जब म ११ वर्षको थिएँ, तब मलाई लन्डनका केही ठूला क्बलले स्काउट गरिरहेका थिए । फुटबल मलाई चाहन्थ्यो, आर्सनल मलाई चाहन्थ्यो । आर्सनलले मलाई चाहँदा, तपाईंले भन्नुहुन्छ की तिमी त्यहाँ जानुपथ्र्यो । लन्डनको सबैभन्दा ठूलो क्लब, तपाईलाई थाहा छ ?
तर, मेरी आमाले एक दिन भन्नुभयो, ‘हेर म तिमीलाई माया गर्छु । तर मलाई लाग्दैन की तिमी आर्सनल जानुपर्छ । तिमी त्यहाँ गयौ भने त्यहाँ तिमीजस्तै राम्रा ५० खेलाडी हुनेछन् । तिमी यस्तो ठाउँमा जानुपर्छ, जहाँ आफ्नो बाटो आफैं बनाउन सक्छौ ।’
उहाँले मलाई क्यूपीआर जान कन्भिन्स गर्नुभयो । त्यो सायद मैले गरेको सबैभन्दा राम्रो निर्णय थियो । तर, यो मेरो परिवारका लागि निकै कठिन थियो । आमाले मलाई एक्लै प्रशिक्षणमा जान दिनुहुन्न थियो । उहाँ सधंै काम गर्नुहुन्थ्यो ।
म प्रशिक्षमा जाँदा दिदी मलाई हरेक दिन बाहिर पर्खिरहेकी हुन्थिन् । म ३ः१५ मा घरबाट निस्किएर राति ११ बजे घर पुग्थेँ । त्यो क्रम १७ वर्षसम्म चलिरह्यो । त्यो समय मैले बुझ्न सकिनँ, उसले मेरा लागि कति त्याग गरेकी रहिछन् । मेरो परिवारले मेरा लागि कति दुःख गर्यो, त्यो जो कोहीले बुझ्न सक्दैनँ ।
म मेरो सपनाको छायामा हुर्किरहेको थिएँ । मेरो बगैंचापछि भव्य वेम्बली स्टेडियम बनिरहेको थियो । एक दिन म सडकमा हिँडिरहेको थिएँ, त्यो स्टेडियम यति भव्य थियो की, मानौं त्यो हिमाल नै हो । म त्यो हरियो मैदानमा म खेल्न सक्छु की सक्दिँन ? म यस्तै सोच्थेँ । मलाई त्यो निकै मन पथ्र्यो, र एक दिन त्यहाँ खेल्छु भन्ने लागेको थियो ।
सबैलाई विश्वास छैन, जब म १४ वर्षको हुँदा एक शिक्षक थियो र उसले सोध्यो, ‘रहिम तिमीलाई के भयो ? के तिमी फुटबललाई अन्तिम लक्ष्य ठान्छौ । तिमीलाई थाहा छ, लाखौं बच्चा फुटबलर बन्न चाहन्छन् ।’
मैले फुटबल नै अन्तिम लक्ष्य भएको बताएको थिएँ । फेरी उसले मलाई उत्कृष्ट बन्न सक्छस् भनेर सोधेको थियो, जुन कुरालाई मैले गम्भिर रुपमा लिएको थिएँ । जुन कुरा मेरो दिमागमा घुमिरह्यो, जे मैले चाहेको थिएँ, त्यो सम्भव छ त ? भन्ने लाग्थ्यो ।
त्यसको दुई महिनापछि इंग्ल्यान्डको अन्डर १६ टिममा बोलाइयो । मैले नर्दन आयरल्याण्ड विरुद्ध दुई गोल गरेँ । यसले मेरो चर्चा निकै बढायो । टेलिभिजनदेखि सबैतिर मेरै चर्चा थियो । त्यो मेरो जीवनको महत्वपूर्ण क्षण थियो । जब म सोमबार स्कुल गएँ, एक्कासी मेरा शिक्षकहरुनै मिल्ने साथी भए ।
वास्तवमा मेरो जीवनको टर्निङ प्वाइन्ट म १५ वर्षको हुँदा आयो । लिभरपुलले मलाई चाहेको थियो, लिभरपुल मेरो घरदेखि तीन घण्टा टाढा थियो । त्यहाँ जाने विषयमा मैले आमालाई सोधेँ । म साँच्चै लिभरपुल जान चाहन्थेँ र फुटबलमा फोकस हुन चाहन्थे । म परिवार र छिमेकीलाई ज्यादै माया गर्थेँ । म बसेको ठाँउमा आपराधिक क्रियाकलाप हुन्थ्यो, जसका कारण पनि मेरो फुटबल चाहना पूरा गर्न त्यहाँ बसिरहन सकिनँ ।
मलाई यहाँसम्म ल्याउन मेरो आमाले र बहिनीले धेरै कुरा त्याग गरेका थिए । त्यसैले पनि म लिभरपुल जाने निर्णयमा पुगेँ । दुई वर्ष बन्द प्रशिक्षणमा बसेँ । हामीसँग एक दिनको समय हुन्थ्यो । म एक दिन परिवार भेट्न लिभरपुलबाट लन्डन जान्थे र फर्कन्थेँ । मलाई एक फुटबल खेलाडीका रुपमा विकास गर्न बन्द प्रशिक्षणमा बसेँ । क्लबमा मलाई ७० वर्षका एक जोडीसँग राखेको थियो, उनीहरुले मलाई नातीको झैं व्यवहार गर्थे ।
मेरो मिसन उचित अनुबन्ध प्राप्त गर्नु थियो । किनकी मेरी आमा र दिदीले तनाव सहनु नपरोस् । जुन दिन मैले घर किनेँ, त्यो दिन उनीहरु सबैभन्दा धेरै खुसी थिए ।
दुई वर्षको अवधि थियो, हामीले भाडा तिर्न सक्ने अवस्था थिएन । तर अहिले आमा, बहिनी र मेरा बच्चाका लागि कुनै तनाव छैन । हामी तीनै व्यक्ति हौं, जसले १५ वर्षअघि स्टोनब्रिजमा ट्वाइलेट सफा गरेका थियौं । मेरी आमा स्कुल, बाथरुम र बेडसिट बदल्ने काम गरेर आफैंलाई अघि बढाइन् र अहिले उनी एक निर्सिङ होमकी निर्देशक छिन् । र उनको छोरा इंग्ल्यान्डबाट खेल्छ ।
मैले सानै उमेरमा बेम्बली स्टेडियममा खेल्ने सपना विश्वकप छनौट चरण पूरा भयो । त्यो पनि युक्रेन विरुद्ध । उक्त खेल खेल्न स्टेडियममा बसबाट आउँदै गर्दा म निकै रोमाञ्चित भएँ । मैले बाल्यकाल बिताएको, त्यो सडक, स्टेडियम नजिकैको घर, मेरा साथीभाइ, छिमेकी सब सम्झिएँ । मैले सानोमा देखेको त्यो सपना पूरा हुनेवाला थियो । युक्रेन विरुद्ध खेल्दै मैले आफ्नो सपना पूरा गरेको थिएँ । एक निकै बदमास केटा जसको इंग्ल्यान्डले सपना पूरा गरिदियो ।
म अझै पनि भन्छु, इंग्ल्यान्ड अहिले पनि उस्तै छ, जहाँ केही पनि नआउने बदमास केटोको सपना पूरा हुन सक्छ !
(इंग्ल्यान्डको राष्ट्रिय टोलीका सदस्य स्टर्लिङ अहिले विश्वकप खेल्न रसियामा छन् । यो सामग्री उनले द प्लेयर ट्रिब्युनमा लेखेको आलेखको सम्पादित अंश हो ।)

प्रतिक्रिया दिनुहोस्