अलैंची खेती विस्तार हुँदै

तेह्रथुम-तेह्रथुमको ग्रामीण क्षेत्रका किसान खेतीयोग्य जमिनमा परम्परागत अन्नबाली मासेर अलैंची खेती गर्न थालेका छन् । परम्परागत अन्नबालीबाट आम्दानी कम मात्र भएको र ज्याला उठाउनै समस्या हुन थालेपछि किसानहरूले कालो सुनले परिचित अलैंची खेती रोजेका हुन् ।
यसअघि खाली जमिन र खोल्साखोल्सीमा मात्र अलैंची खेती गर्दै आएका किसान पछिल्लो समयमा परम्परागत खेती गर्दै आएको अन्नबालीलाई न्यूनीकरण गर्दै अलैंची खेतीलाई विस्तार गर्दै आएका छन् । जिल्ला कृषि विकास कार्यालयले केही वर्षअघिसम्म अलैंचीलाई सामान्य खेतीको रुपमा व्याख्या गर्दै आएका किसानले पछिल्लो समयमा सोही खेतीलाई बढावा दिइरहेको जनाएको छ । अलैंचीको मूल्यमा लगातार गिरावट आउँदा पनि किसानले यसको खेती विस्तार गर्न भने छाडेका छैनन् ।
सात वर्षदेखि अलैंची खेती गर्दै आएका छथर गाउँपालिका– ६ सुदापमा नारायण आंखेवाले तीन वर्षअघिसम्म वार्षिक ९ लाख रुपैयाँ आम्दानी गर्दै आएका थिए । तर पछिल्लो समयमा आम्दानी घटेर वार्षिक ५ लाख हुन थाले पनि खेतीप्रतिको आकर्षण कम नभएको उनले बताए । अलैंची खेती विस्तार हुँदै गएपछि आंखेवाले बिरुवा बिक्रीबाट पनि राम्रै आम्दामी लिएको बताए । यस वर्ष मात्रै बिरुवा बिक्रीबाट २ लाख रुपैयाँ आम्दामी भएको उनले सुनाए ।
अलैंची खेतीलाई व्यवसायिक रुपमा विकास गर्न राज्यलेसमेत केही सहयोग गर्नुपर्ने यहाँका किसान बताउँछन् । राज्यले अलैंची खेतीको बिमा गर्ने व्यवस्था गरिदिए आफूहरूलाई सहज हुने उनीहरूको भनाइ छ ।
यसैगरी दाँगपाका किसान रमेश बस्नेतले १५ वर्षदेखि अलैंची खेती गर्दै आएका छन् । सुरुमा १ रोपनीमा अलैंची रोपेका उनले खेती विस्तार गर्दै अहिले १० रोपनी पुर्याएका छन् । उनले वार्षिक ४ मन अलैंची बिक्री गर्दै आएको बताए । बस्नेतसँगै गाउँका अन्य किसानले पनि अलैंची खेतीलाई बिस्तार गरीरहेको छथर–२ का केचबहादुर लिम्बुले बताए ।
अलैंची खेती विस्तार गर्न जिल्ला कृषि विकास कार्यालय तेह्रथुमले अलैंची भट्टी निर्माणमा ५० प्र्रतिशत अनुदान दिने गरेको छ । त्यसैगरी नर्सरीका लागी बीउ वितरणलगायतका सहयोगसमेत गर्दै आएको कार्यालयलको भनाइ छ । गत वर्षको तुलनामा यस वर्ष जिल्लामा २८ हेक्टरमा अलैंची खेती विस्तार भएको छ । जिल्ला कृषि विकास कार्यालयले अलैंची कृषकको क्षमता विकासका लागी जिल्लास्तरीय कार्यक्रम र स्थलगत घुम्ति तालिम, बगान व्यवस्थापनलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । साविकका गाविसहरू ईवा, ह्वाकु, संग्रान्ती, खाम्लालुङ, सम्दु, ईसिबु, ओयाक्जुङ, जलजले, सिम्ले, मोराहाङ श्रीजुङ, पौठाक, आङबुङ, जिरीखिम्ती, सोल्मा, सुङनाम फुलेक दाँगपा, बसन्तपुर, सुदाप, आङदिमलगायतका क्षेत्रका किसानले अलैंची खेती गर्दै आएका छन् । जिल्लामा ७ सय २३ हेक्टरमा अलैंची खेती हुँदै आएको छ ।