माछापालनमा ७ करोड लगानी «

माछापालनमा ७ करोड लगानी

दाङमा माछापालनको क्षेत्रमा ७ करोड रुपैयाँभन्दा बढी लगानी भएको छ । राज्यले माछापालन गर्ने व्यवसायीलाई प्रोत्साहन गर्न थालेपछि माछापालकको संख्यासमेत बढेको छ ।
घरेलु तथा साना उद्योग कार्यालय दाङका अनुसार यस आर्थिक वर्षको हालसम्म कार्यालयमा ४९ वटा माछापालन तथा उत्पादक फर्म दर्ता भएका छन् । त्यसमा ७ करोड २० लाख ६१ हजार ८ सय पुजी लगानी रहेको घरेलु तथा साना उद्योग कार्यालय दाङका उद्योग अधिकृत उपबहादुर वलीले बताए । २ करोड ९३ लाख ३९ हजार ५ सय चालू पुँजी र ४ करोड २७ लाख २२ हजार ३ सय रुपैयाँस्थिर पुँजी रहेको कार्यालयले जनाएको छ । दाङमा वार्षिक ६ करोड ७२ लाख २० हजार रुपैयाँबराबरको माछा उत्पादन हुने गरेको उद्योग अधिकृत वलीले जानकारी दिए । माछापालन व्यवसायमा ५२ पुरुष र ९ महिला गरी ६२ जना उद्यमी र १ सय ५२ पुरुष र एक महिला गरी १ सय ५३ जनाले रोजगारी प्राप्त गरेका छन् ।
कार्यालयका अनुसार चालू आर्थिक वर्षमा जिल्लामा १२ वटा माछापालनका लागि फर्म दर्ता भएका छन् । ती माछा फर्मको पुँजी १ करोड ३ लाख २९ हजार छ । त्यसैगरी चालू पुँजी ८९ लाख ९४ हजार रुपैयाँ रहेको उद्योग अधिकृत वलीले बताए । २ करोड ३० लाख ७० हजार ४ सय मूल्यबराबरको उत्पादन क्षमता छ । २३ महिला र १४ पुरुष गरी ३७ जना उद्यमी छन् । जसमा २४ जनाले रोजगारी प्राप्त गरेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।
पछिल्लो समय दाङमा व्यावसायीक माछापालन गर्नेहरूको संख्या बढ्दै गएको छ । हालसम्म जिल्लाका विभिन्न स्थानमा करिब २ सय हेक्टरमा माछापोखरी विस्तार भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । ‘मत्स्य उत्पादन विशेष कार्यक्रम’अन्तर्गत मत्स्य विकास निर्देशनालय हरिहरभवन ललितपुरको सहयोग तथा जिल्ला कृषि विकास कार्यालय दाङको अनुगमन र प्राविधिक सहयोगमा माछा पोखरी विस्तार गर्ने काम भएको हो । सरकारले दाङलाई मत्स्य उत्पादनको विशेष क्षेत्रका रूपमा सहयोग गर्दै आएको छ । देउखुरी गढवा, राजपुर गाउँपालिकाका केही क्षेत्रलाई माछाको ‘ब्लक’ क्षेत्र घोषणा गरेर माछापालन गर्ने किसानलाई अनुदान तथा प्राविधिक सहयोग पु¥याइँदै आएको छ ।
माछापोखरी निर्माणदेखि माछाका भुर्रा ढुवानीमा सहयोग पु¥याउँदै आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । दाङमा आर्थिक वर्ष २०६८/६९ देखि व्यावसायिक माछापालन सुरु गरिएको हो । व्यक्तिगत तथा सामूहिक गरेर करिब २ सय हेक्टर जमिनमा ७ सय बढी माछापोखरी निर्माण भएका छन् ।

प्रतिक्रिया दिनुहोस्