सेयर बजारमा सावधानी जरुरी

नेपालको सेयर बजारमा केही समययता पुनः वृद्धिको सूचक देखिएको छ । बजार उछाल वा खस्किने प्रवृत्तिका आधारमा बुल वा वियरिसका रूपमा सेयर बजारलाई विश्लेषण गर्ने गरिन्छ । अहिलेको अवस्थालाई बुल पिरियडका रूपमा विश्लेषण गरिएको छ । एक साताका बीचमा मात्र नेपालको एक मात्र सेयर बजार परिसूचक नेप्से २३ बिन्दुले बढेको छ भने एक महिनाका बीचमा मात्र ४१ बिन्दुले बढेको छ । वृद्धिका बीचमा पनि केही घटबढको क्रम जारी रहेकाले बजारको गतिबारे अझै पनि लगानीकर्ताहरूमा अन्योल कायमै छ, यद्यपि विगतदेखि अनुभवहरूका आधारमा निर्वाचनका समयमा बजारको गति वृद्धिमुखी नै हुने गरेको देखिन्छ । अहिले सेयर बजारमा पर्याप्त लगानी प्रवाह भइरहेको अनुमान गरिए पनि कुल कारोबार अंक र रकमले त्यस्तो उत्साहजनक छैन । बीचमा दैनिक १ अर्ब रुपैयाँबराबर पुगिसकेको सेयर बजारमा अहिले औसतमा ७०–७५ करोडको कारोबार भइरहेको देखिन्छ भने दैनिक औसत ६ देखि ७ हजार कारोबार हुने गरेको छ । अहिले नेप्से परिसूचक १५०० को हाराहारीमा रहँदा केही बजार विश्लेषकहरूले यो अझ वृद्धि हुने आकलन गरेका छन् । विद्यमान आर्थिक परिसूचक, बैंक तथा वित्तीय संस्थाको तरलता र ब्याजदरको अवस्था हेर्दा बजार अहिले हौसियर अझ माथि जानुपर्ने कारकहरू कम देखिएका छन् । नेपालका आवधिक रूपमा कुल गार्हस्थ्य उत्पादनको तथ्यांक सार्वजनिक नगरिने भएकाले वित्त बजारमा अनुमानका आधारमा सूचकहरूको प्रक्षेपण गर्ने चलन छ ।
बैंक तथा वित्तीय संस्थाहरूले अहिले पुनः बचतको ब्याजदर बढाउँदै लगेका छन् भने तरलता जम्मा गर्नका लागि नयाँ–नयाँ खाता स्किमहरू पनि सार्वजनिक गरिरहेका छन् । निर्वाचनका बेला वैध–अवैध सबै किसिमका धन बाहिर निस्किरहेको छ । बैंकहरूबाट अपेक्षाअनुसार पैसा झिक्ने कार्य (विथड्रल) भइरहेको छैन । यसको सोझो अर्थ सेयर बजारमा कालोधनको प्रवाहमात्र बढेको छ । वित्त बजारका अन्य क्षेत्रमा नगद प्रवाह भइरहेको समयमा सेयर बजार पनि हौसियर बढिरहनुले लगानीका स्रोतहरूको पारदर्शितामाथि नै प्रश्न उब्जाउँछ । सामान्यतया निर्वाचनका समयमा सम्भावित स्थिरता र भविष्यमा आउन सक्ने परिणामका आधारमा बन्न सक्ने सरकारले लिने नीतिका अनुमान गरेर बजारमा उतार चढाव हुने गर्दछ । बजारमा भइरहेको वृद्धि चुनावलगत्तै सूचक तल झर्न थाल्ने विगतका अनुभवहरूले देखाउनुले अहिले सेयर बजारमा धेरै ठूलो अपेक्षा गरेर लगानी गरिहाल्न नहुने संकेत गर्छ ।
उचारचढावका समयमा बजार हौसियर लगानी गरिहाल्नु वा अताल्लिएर आफूसँग भएको सेयर बेचिहाल्नु पनि हुँदैन । अर्थतन्त्रका विभिन्न सूचकहरूको मूल्यांकन गरेर सम्भावित आर्थिक स्थितिको प्रक्षेपण गरेर मात्र लगानीसम्बन्धी नीतिहरू लिइनुपर्छ ताकि भोलि गएर पछुताउनु नपरोस् । हाम्रो सेयर बजार अझै परिपक्व हुन सकेको छैन, यस्तो अवस्थामा बजारमा हुने उतारचढावबाट साना लगानीकर्ताहरू अत्तालिने अवस्था हुन सक्छ भने हल्लाका आधारमा लगानी गर्दा लगानीकर्ता फस्न सक्ने जोखिम पनि रहन्छ । यस्तो अवस्थामा धितोपत्र बोर्ड र नेप्सेले सही सूचना सार्वजनिक गर्नुपर्छ ।