Logo

सहकारीलाई उत्पादनमूलक क्षेत्मा केन्द्रित हुन आग्रह

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सहकारीलाई उत्पादनमूलक क्षेत्रमा काम गर्न बाधक रहेका ऐन, नीति नियम सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । मुलुकको आर्थिक विकासका लागि सहकारीमा रहेको पुँजी उत्पादनशील क्षेत्रमा परिचालन गर्नुपर्ने र त्यसलाई सहजीकरण गर्न सरकार तयार रहेको उनको भनाइ थियो ।
“सहकारीमा संकलन भएको पुँजी मुलुकको आर्थिक विकास र समृद्धिका लागि उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ,” नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको संयुक्त आयोजनामा सुरु भएको ‘साकोस शिखर गोष्ठी–२०७५’ लाई सम्बोधन गर्दै उपप्रधान पोखरेलले भने, “लगानी गर्न कुनै पुराना नीति, कानुन, संरचना र अभ्यासले अप्ठेरो पारेको भए भन्नुहोस्, सहयोग गर्न सरकार तयार छ ।”
कार्यक्रममा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले सहकारीको पुँजी सही तबरले सञ्चालन गर्न नसकिएको बताए । “सहकारीको पुँजी उत्पादनमूलक क्षेत्रमा लगानी गर्नु आवश्यक छ,” उनले भने, “उत्पादनमूलक क्षेत्रमा लगानी गर्न रहेका कानुनी अप्ठ्याराहरु केही छन् भने कानुनी अवरोध फुकाउन सरकार तयार छ ।” सहकारी उत्पादनमा केन्द्रित भएन भने सहकारी संस्थाहरु सहकारी नरहने उनको भनाइ थियो ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले सहकारी अभियान आमनागरिकको अभियान भएको र सहकारीले उदाहरणीय काम गरेर देखाउनुपर्ने बताए । उत्पादन, रोजगारी सिर्जना गर्नेतर्फ सहकारी केन्द्रित हुनुपर्नेतर्फ सहकारीलाई लाग्न उनको सुझाव थियो ।
राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष केशवप्रसाद बडालले सहकारीहरु उत्पादनशल क्षेत्रमा लगानी गरी काम गर्न तयार रहेको र कानुनी अवरोधले काम गर्न नसकेको बताए । “हरेक क्षेत्रमा सहकारीले उदाहरणीय काम गर्न सक्षम छ,” उनले भने, “मुलुकको विकास र समृद्धिका लागि सहकारीलाई विविध क्षेत्रमा काम गर्ने वातावरण हुने हो भने सहकारीले नमूना काम गरेर देखाउने छ ।”
नेफ्स्कूनका अध्यक्ष डिबी बन्नेतले सहकारीमा कर समस्या देखिएको र बजेटमा करका विषय सम्बोधन नगरेको भन्दै दुःख व्यक्त गरे । कर समस्याको समाधान गर्न कार्य दल गठन भएको र कार्यदलमार्फत सम्बोधन हुने आशावादी रहेको उनले बताए ।
शुक्रबारसम्म चल्ने गोष्ठीमा विभिन्न जिल्ला र एसियाका विभिन्न मुलुकका सहकारीका अग्रजसहित करिब ६ सय जना सहभागी छन् । बिहीबार ‘साकोस अभियानको उपलब्धि, एकरुपता प्रणाली र कार्यदिशा’, ‘साकोस सञ्चालनमा स्तरीकरण, ब्रान्ड निर्माण र व्यवस्थापन’, ‘वित्तिय सहकारीहरुमा जोखिम सुपरिवेक्षण, आन्तरिक नियन्त्रण र नियमित अनुगमनको संयन्त्र विकास’, ‘समावेशी आर्थिक विकास, वित्तिय शिक्षा पहुँच अभिवृद्धि र अवसरहरु’ र ‘विद्यमान नयाँ सहकारी ऐन, सहकारीको प्रवद्र्धन नियमन र क्षमता विकासमा तहगत व्यवस्था’ विषयक कार्यपत्र प्रस्तुत् भएका थिए ।
त्यस्तै गोष्ठीको दोस्रो दिन ‘वित्तीय सहकारीमा स्थिरीकरण कोष, सुरक्षित अभियानको परिकल्पना’, ‘प्रविधि र पहुँच, सहकारीका लागि भरपर्दो विद्युतीय वित्त’, ‘समग्र विकासमा सहकार्य र योगदान, दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’, ‘साकोस एकीकरण, अवसर र अभियानको आवश्यकता’, ‘सहकारी मार्फत उत्पादन, बजारीकरण र प्रतिस्पर्धी स्थानको अवधारणा सम्भावना र चुनौती’ र ‘सहकारीहरुमा प्रभावकारी मानवश्रोत व्यवस्थापन, सम्भावना र चुनौती’ विषयमा कार्यपत्र प्रस्तुति र छलफल हुनेछ । नेफ्स्कूनले हरेक तीन÷तीन वर्षमा साकोस शिखर गोष्ठी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्