खानेपानी आयोजना अन्योलमा

भोजपुरमा तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाको अनुदान रकम समयमै संकलन नहुँदा आयोजना नै अलपत्र परेको छ । उपभोक्ताले अनुदान रकम जम्मा नगर्दा योजना अन्योलमा परेको हो ।
तोकिएको रकम तिर्नका लागि पटक–पटक सूचना जारी गर्दा पनि सर्वेक्षणमा परेका दुई हजार १९० घर धुरीमध्ये हालसम्म ५२१ घरधुरीले मात्र रकम जम्मा गरेका छन् । खानेपानी आयोजनाका लागि तोकिएको रकम समयमै भुक्तानी नगरे उपभोक्ताको धारा काटिने भएको छ । धेरै पटक तोकिएको रकम तिर्न सूचना जारी गर्दा पनि उपभोक्ताले रकम जम्मा नगरेपछि सर्वपक्षीय बैठकमार्फत धारा काट्ने निर्णय गरिएको छ । रकम जम्मा गर्न बाँकी रहेका कार्यालयको हकमा ७ दिन र अन्य उपभोक्ताको हकमा १० दिनको समय सीमाभित्र पैसा जम्मा गर्ने सूचना जारी गर्ने र सोे समयमा पनि नतिरे बिनासूचना धारा काट्ने निर्णय भएको छ । निर्णयको नगरपालिकाबाट स्वीकृति गराई तत्काल कार्यान्वयन गरिने सिलिचुंग खानेपानी सरसफाइ तथा मूल उपभोक्ता समितिका अध्यक्ष प्रविनकुमार सुवालले बताए ।
उनले भने, “पटक–पटक सूचना जारी गर्दा पनि उपभोक्ताले रकम जम्मा नगरेपछि सर्वपक्षीय बैठकमार्फत यस्तो निर्णय गरेका हौं । उपभोक्ताले समयमै रकम जम्मा नगर्दा यति ठूलो योजना अन्योलमा परेको छ ।” नेपाल सरकारको ७० प्रतिशत, नगर विकास कोष क्रण २५ र उपभोक्ता समितिबाट ५ प्रतिशत गरी कुल ७० करोड ९१ लाख ९९ हजार १९४ रुपैयाँ लागतको योजना सञ्चालन गर्न लागिएको हो । अहिलेसम्म ५२१ घरधुरीबाट जम्मा ८० लाख ८९ हजार रकम संकलन भएको छ । आयोजनाबाट भोजपुर नगरपालिकाको वडा नं ५, ६, ७, ८, ९ र १२ का २ हजार १९० घरधुरी लाभान्वित हुनेछन् । शुल्क बुझाउँदा नयाँ उपझोक्ताले २५ हजार, पुराना उपभोक्ताले १५ हजार जम्मा गर्नु पर्नेछ ।
–अर्जुन बस्नेत