हिमालयन ट्राभल मार्ट सम्पन्न

दोस्रो हिमालय ट्राभल मार्ट २०१८ सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अगुवाइमा भएको मार्टमा २६ वटा देशहरुबाट ५९ कम्पनी सहभगी रहेका थिए ।
मार्टमा नेपाल, भारत, भुटान, दक्षिण कोरिया, इन्डोनेसिया, टर्की, यूएईलगायत सातवटा देशहरुबाट ५२ वटा बिक्रेताहरुको सहभागिता रहेको थियो । नेपाल पर्यटन बोर्डको आयोजना र पाटा नेपाल च्याप्टर कार्यक्रम आयोजक रही पर्यटन क्षेत्रका विभिन्न संघसंस्थाहरुको सहयोगमा हिमालयन ट्राभल मार्ट २०१८ को दोस्रोे संस्करण सञ्चालन गरिएको थियो ।
कार्यक्रमले नेपाललगायत दक्षिण एसियाका सबै पर्यटन व्यवसायीहरुलाई समावेश गरेको थियो । जेठ १८—२० सम्म आयोजना भएको मार्टमा नेपालमा सन् २०३० सम्ममा वार्षिक ५० लाख पर्यटक भित्र्याउने लक्ष्यको विषयमा छलफल गरिएको थियो ।
कार्यक्रमका मुख्य आकर्षण अन्तर्राष्ट्रिय ट्राभल ब्लगर्स मिडिया सम्मेलन रहेको थियो । सम्मेलनमा १८ देशका ४३ जना ब्लगरहरुको सहभागिता थियो । ती ब्लगर्सहरुले नेपाललगायत विश्वका अनेक ठाउँहरुमा पर्यटनसम्बन्धी समस्या र समाधान विषयमा आफ्ना विचार व्यक्त गरेका थिए ।
कार्यक्रमको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सामाजिक सञ्जाल र नयाँ मिडियाको महत्वको उजागर गर्दै पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने र नकारात्मक कुराहरुको निराकरण गर्ने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटनमन्त्री रवीन्द्र अधिकारीले नेपालमा पर्यटन विकास र विस्तारको प्रचुर सम्भावना भएको बताए । यसको समष्टिगत विकासका लागि सबैको सामूहिक प्रयासमा उनले जोड दिएका थिए । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले नेपाल हिमाली गन्तव्यहरुको केन्द्रबिन्दु रहेको र नेपाल साहसिक पर्यटनको मुख्य केन्द्र रहेको बताए ।