दोलखामा शैक्षिक विज्ञान प्रविधि महोत्सव हुने «

दोलखामा शैक्षिक विज्ञान प्रविधि महोत्सव हुने

दोलखामा पहिलो शैक्षिक विज्ञान प्रविधि तथा सांस्कृतिक महोत्सव हुने भएको छ । यही जेठ १७, १८ र १९ गते कालिञ्चोक मावि चरिकोटमा हुने महोत्सवमा विज्ञान र प्रविधि सम्बन्धि स्टलहरू हुनेछन् । विज्ञान र प्रविधिका बारेमा विद्यार्थीहरूले प्रयोगशालामा आविष्कार गरेका नयाँ नयाँ वस्तुसमेत राखिने आयोजक भीमेश्वर नगरपालिकाका मेयर भरत केसीले जानकारी दिए ।
दोलखालाई शैक्षिक गन्तव्यको रुपमा विकास गर्नका लागि महोत्सवको आयोजना गर्न लागिएको उनले बताए । महोत्सवको तयारीको बारेमा पत्रकार सम्मेलन गरी मेयर केसीले साना बालबालिकादेखि विद्यार्थी, शिक्षक, अभिभावकहरू समेत यसबाट लाभान्वित उनले बताए ।
महोत्सवमा सांस्कृतिक झाँकी, भेषभुषा, हस्तकलाका सामग्री, बालबालिकाहरूका लागि विभिन्न प्रतियोगितात्मक कार्यक्रम हुने उनले जानकारी दिए । यस्ता कार्यक्रमले विद्यालय बाहिर रहेका बालबालिकाहरूलाई समेत विद्यालयसम्म ल्याउन सहयोग पुग्ने बताए ।
महोत्सवको मुख्य आयोजक भीमेश्वर नगरपालिका भए तापनि दोलखाका ८ वटा अन्य स्थानीय तह सहआयोजकको रुपमा रहेका छन् । कार्यक्रममा दोलखामा जन्मेका विद्यावारिधी (पीएचडी) उपाधी प्राप्त गर्नेहरूको पहिचान र सम्मान गर्ने कार्यक्रम पनि रहेको छ । उनीहरूबाट आफ्नो विद्यता समृद्ध दोलखा बनाउनका लागि उपयोग गर्ने मेयर केसीले बताए । दोलखाबाट हालसमम ४६ जना पीएचडीहरूको पहिचान भइसकेको र अन्यको पनि खोजी जारी रहेको छ । कार्यक्रम अवधीसम्म १० जना भन्दा बढी थप हुन सक्ने आयोजकको अनुमान छ ।
महोत्सव अवधीभर विद्यार्थी र अभिभावकहरूलाई ल्याउन लैजानका लागि संस्थागत विद्यालयहरूसँगको समन्वयमा निशुल्क बसको व्यवस्था गरेको छ । कार्यक्रममा शैक्षिक विकास, सफल उद्यम, श्रष्टाहरूको प्रवचन लगायतका कार्यक्रम राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्