मतपेटिका सुरक्षामा तीनवटा ताल्चा «

मतपेटिका सुरक्षामा तीनवटा ताल्चा

पहिलो चरण अन्तर्गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका मतपेटिका भण्डारण स्थानमा ३ वटा निकायले छुट्टाछुट्टै तालाचाबी लगाएर सुरक्षा व्यवस्था मिलाएका छन् ।
जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका तर्फबाट नेपाल प्रहरीका अधिकारीले मतपेटिका भण्डारण गरिएका कोठामा छुट्टाछुट्टै ३ तालाचाबी लगाएर मुचुल्का उठाएका छन् । दोस्रो चरणको निर्वाचन सम्पन्न नभएसम्म यी मतपेटिका सुरक्षा निकायको सुरक्षामा सोही स्थानमा रहनेछन् । अबको १० दिनसम्म ब्यालेट बक्स सुरक्षा घेराभित्रै रहनेछ ।
मंसिर २१ गतेको दोस्रो चरणको निर्वाचनको समय समाप्तिपछि (५ बजेपछि) ३ वटै निकाय तथा निर्वाचनमा सहभागी राजनीतिक दलका प्रतिनिधिको रोहबरका तीनवटै ताल्चा खोलिनेछ र मतगणना सुरु हुनेछ । आइतबार सम्पन्न ३२ जिल्लाका ३७ प्रतिनिधिसभा र ७४ प्रदेश सभामा निर्वाचन सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार २ हजार ९ सय १७ मतदान स्थल र ४ हजार ४ सय ६५ मतदान केन्द्र मार्फत २० लाख ७२ हजार ६ सय ५७ मतदातले मतदान गरेका छन् ।
३२ जिल्लामा ३१ लाख ९१ हजार ९ सय ४५ खसेको मत ६५ प्रतिशत रहेको आयोगले जनाएको छ । बाँकी ४५ जिल्लामा मंसिर २१ गते निर्वाचन हुँदैछ ।
“मतगणना सुरु नभएसम्म सुरक्षित, व्यवस्थित र विश्वसनीय ढंगबाट मतपेटिकाको सुरक्षा गर्नु हामी सबैको दायित्व हो,” सैनिक प्रवक्ता सहायक रथी नैनराज दाहालले भने, “त्यही अनुसार मतपेटिकाको सुरक्षा व्यवस्था मिलाइएको छ ।”
मतपेटिका भण्डारण गरिएका स्थानमा २४ सै घण्टा तैनाथ रहने गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका अधिकारी खटिएका छन् ।

दोस्रो चरणको तयारी पूरा :सेना
नेपाली सेनाले दोस्रो चरणको निर्वाचन सुरक्षा तथा व्यवस्थापन तयारी पूरा भएको जनाएको छ । मंसिर २१ गतेका लागि तय भएको निर्वाचनका मतपेटिका र मतपत्र लगायत बन्दोबस्तीका सामान ढुवानी कार्य पूरा भएको सैनिक प्रवक्ता सहायक रथी नैनराज दााहलले जानकारी दिए ।
“मंसिर २१ गतेका लागि निर्धारित निर्वाचनका मतपेटिका र मतपत्र ढुवानीकार्य पूरा भइसकेको छ,” प्रवक्ता दाहाले भने, “अब निर्वाचन सुरक्षाका क्रममा पाएका अन्य जिम्मेवारी निर्वाह गर्छौं ।”
हरेक निर्वाचन क्षेत्रमा सेनानी (मेजर)को कमान्डमा सेनाले अस्थायी बेस क्याम्प स्थापना गरी निर्वाचन सुरक्षामा आफ्ना जनशक्ति तैनाथ गराएको छ । मतदानस्थल र मतपेटिका रहेको क्षेत्रमा प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीलाई सुरक्षा व्यवस्थापनमा खटाएको सरकारले सेनालाई मतदान केन्द्र र मतदान स्थलको बाहिरी सुरक्षा कवचको जिम्मा दिएको छ ।
दुवै चरणको निर्वाचनमा करिब २ लाख ५५ हजार भन्दा बढी सुरक्षाकर्मी तैनाथ छन् ।

प्रतिक्रिया दिनुहोस्