सामुदायिक विद्युत् महासंघमा ज्ञवाली

सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ नेपालको पाचौ राष्ट्रिय महाधिवेशनले नारायण ज्ञवालीको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ ।
शुक्रबार र शनिबार ललितपुरमा सम्पन्न महाधिवेशनले आगामी तीन वर्षसम्मका लागि ज्ञवालीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा श्रीकान्त घिमिरे, महिला उपाध्यक्षमा मिना खड्का, महासचिवमा रामकृष्ण हुमागार्इं, सचिवमा यमबहादुर पछाईं र कोषाध्यक्षमा ज्ञानु पाण्डे चयन भएका छन् । यसैगरी केन्द्रीय सदस्यमा प्रदेश–१ बाट भूमिका सुब्बा र नागेश पोख्रेल, प्रदेश–२ बाट दुर्गा चौलागार्इं र विजय गैरे, प्रदेश–३ बाट अनिता मैनाली र हरिशरण तामाङ छन् । त्यसैगरी प्रदेश–४ बाट फूलमाया वाग्ले र देवेन्द्र गुरुङ, प्रदेश–५ बाट विद्या थापा र मिरा मरासिनी तथा प्रदेश–७ बाट प्रदिप शाह निर्वाचित भएका छन् । त्यसैगरी खुला सदस्यमा शेरबहादुर बस्नेत, हरि छन्त्याल, जंगबहादुर महतो, राजेश्वर ढकाल र सार्किमान तामाङ छन् । यसैगरी लेखा सुपरिवेक्षण समिति संयोजकमा गोविन्द पौडेल, सदस्यमा खगेश्वर न्यौपाने र तेजबहादुर शेरचन निर्वाचित भएका छन् ।
महाधिवेशनको उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी पाँच वर्षमा हरेक नेपालीको घरमा विद्युत् सेवा पुराइने प्रतिबद्धता जनाए । हालसम्म ७५ प्रतिशत नागरिकको पहुँचमा मात्र विद्युत् सेवा पुगेको र २५ प्रतिशत नागरिक अँध्यारोमा बस्न बाध्य भएको भन्दै उनले पाँच वर्षभित्र विद्युत् पुराउने प्रतिबद्धता जाहेर गरेका हुन् । आर्थिक समृद्धिको राष्ट्रिय अभियानमा विद्युत् क्षेत्रको उल्लेख्य योगदान रहने चर्चा गर्दै मन्त्री पुनले त्यसका लागि विद्युत् खपत बढाउने नीति अख्तियार गरिएको बताए ।