सरकार अभिनन्दनमा, नागरिक असन्तुष्ट

नेपालमा मोदीका दुई दिन |
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन् । शुक्रबार जनकपुर हुँदै काठमाडौं आइपुगेका मोदी शनिबार बिहानै मुक्तिनाथ दर्शन गरेर काठमाडौं आइपुगेलगत्तै पशुपतिनाथको दर्शन गर्न पुगेका थिए । नेपालका प्रधानमन्त्री केपी ओलीको निमन्त्रणामा मोदी शुक्रबार राजकीय भ्रमणमा नेपाल आएका थिए ।
शनिबार राष्ट्रिय सभा गृहमा काठमाडौं महानगरपालिकाले मोदीको अभिनन्दन गरेको थियो । काठमाडौं महानगरपालिकाले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा सम्बोधन गर्दै मोदीले नेपाल आउँदा शन्तिको अनुभूति भएको बताए । “मेरो मात्रै होइन, पूरै भारतको सम्मान हो यो । सवा सय करोड भारतीय कृतज्ञ छन्,” सम्बोधनको क्रममा उनले भने, “म नेपाल आउँदा शान्तिको अनुभूति हुन्छ । म कार्यक्रम बनाएर लुम्बिनी अवश्य जानेछु ।” उनले सन्दीप लामिछाने आईपीएलमा भाग लिएपछि आईपीएलमा नेपाल पनि जोडिएको बताउँदै क्रिकेट मात्रै होइन, अन्य खेलबाट पनि जनता–जनताबीचको सम्बन्ध मजबुत हुने बताए । काठमाडौं महानगरको कार्यक्रममा प्रवेश नदिइएपछि नेपाली सञ्चारकर्मीले विरोध स्वरुप ‘क्यामेरा डाउन’ गरेका थिए ।
शुक्रबार जनकपुर उपमहानगरपालिकाले पनि मोदीको अभिनन्दन गरेको थियो । त्यस क्रममा उनले आफू प्रधानमन्त्रीका रुपमा भन्दा पनि प्रधान तिर्थालुका रुपमा नेपाल आएको बताएका थिए । मोदीले आफ्नो भ्रमण ऐतिहासिक र फलदायी भएको ट्विटमार्फत् जनाएका छन् । मोदीले जनकपुरमा जानकी मन्दिरमा विशेष पूजा गरेका थिए । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।
क–कसलाई भेटे ?
शुक्रबार जनकपुरमा रक्षामन्त्री ईश्वर पोख्रेलले मोदीको स्वागत गरे । प्रधानमन्त्री केपी ओली पनि जनकपुर नै पुगे । जनकपुरबाट काठमाडौं आएका उनले साँझ नै राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्रीहरुसँग भेटवार्ता गरेका थिए ।
दबाइएको विरोध
मोदी पहिला नेपाल आउँदाजस्तो यसपटक नागरिक तहबाट भने स्वागत भएन । सडकमा बालबालिकालाई उनको स्वागतमा उभ्याइएको थियो । ०७२ असोज ३ गते संविधान जारी हुँदा त्यसलाई स्वागत नगरेको र अघोषित नाकाबन्दी लगाएको भन्दै छिटफुट विरोध भयो भने सामाजिक सञ्जालमा नाकाबन्दी अपराध थियो भन्ने ट्रेन्डिङ नै चल्यो । तर, मोदीले जनकपुर र काठमाडौं दुई ठाउँमा अभिनन्दनका क्रममा सोबारे मुख खोलेनन् । विरोधमा प्रदर्शन गर्न खोज्नेहरुलाई प्रहरीले पक्राउ परेको थियो । सुरक्षा व्यवस्था निक्कै कडा पारेर नागरिक आवाज दबाउन खोजेको भन्दै सरकारमाथि कतिपयले रोषसमेत व्यक्त गरेका छन् ।
जनकपुरको माहोल
एयर इन्डियाको विमानबाट शुक्रबार बिहान करिब साढे १० बजे जनकपुर विमानस्थलमा उत्रिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेल, दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलगायतले स्वागत गरे । विमानस्थलबाट मोदी करिब ५ किलोमिटर टाढा रहेको जानकी मन्दिर पुगे, जहाँ प्रधानमन्त्री केपी शर्मा ओली उनलाई स्वागत गर्न पर्खिरहेका थिए ।
ओली मोदीलाई स्वागत गर्न कुर्ता–पाइजामा तथा गम्छामा सजिएर बिहानै जानकी मन्दिर पुगेका थिए । ओलीले स्वागत गरेपछि मोदी जानकी मन्दिर छिरे र शोषडोपचार विधिबाट विशेष पूजाआजा गरे । पूजा सकेर मोदीले संक्षिप्त सम्बोधन गर्दै ओली र जनकपुरबासीलाई आतिथ्यताका लागि धन्यवाद दिए । त्यस्तै, ओलीले ओलीलाई स्वागत गर्दै भारतसँगका पुराना सम्झौता कार्यान्वयन गर्नुपर्ने कुरा पनि उठाए ।
सम्बोधनपछि दुवैले नेपाल र भारतका विभिन्न स्थान समेटिएको रामायण सर्किट र जनकपुर–अयोध्या सिधा बस सेवा उद्घाटन गरे । त्यसपछि मोदी बाह्रबिघा मैदानतिर लागे, जहाँ उनको अभिनन्दनको कार्यक्रम राखिएको थियो । कार्यक्रमको सुरुमा राजपा नेता जितेन्द्र सोनलले हिन्दीमा बोल्दै मोदीको स्वागत गरे । त्यसपछि रक्षामन्त्री ईश्वर पोखरेलले लिखित भाषणमा मोदीको प्रशंसा र स्वागत गरे ।
पोखरेलपछि दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले बोले अनि जनकपुर उपहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृतले मोदीलाई जनकपुरको साँचो हस्तान्तरण गरे । कुनै पनि विदेशी पाहुनालाई नगरको साँचो दिनुको अर्थ तपाईं जुनसुकै बेला नगरको भ्रमणमा आउन सक्नुहुन्छ भनेर निमन्त्रणा दिनु हो । मोदीलाई १२१ किलोका छुट्टाछुट्टै तीनवटा माला पनि पहि-याइएको थियो । कार्यक्रमको अन्त्यमा बोलेका मोदीले नेपाल र भारतबीचको सम्बन्ध त्रेतायुगदेखिको भएको बताए । नाकाबन्दीपछि पहिलोपल्ट नेपाल आएका मोदीले त्यसबारेमा आफ्नो धारणा राख्ने अपेक्षा गरिएको थियो तर उनले आफ्नो सम्बोधनका क्रममा नेपाल र भारतबीचको सम्बन्ध कसैले पनि भत्काउन नसक्ने खालको बताए ।
हिन्दीमा सम्बोधन गरेका मोदीले नेपाली भाषामा भने, “मेरो यसपटकको नेपाल भ्रमण प्रधानमन्त्रीको रुपमा र एउटा तिर्थ यात्रीको रुपमा रहनेछ ।” उनले नेपाल र भारतबीचको मित्रता आजको होइन त्रेता युगको भएको बताएका थिए । उनले प्रदेश नम्बर २ का लागि १ सय करोडको सहायता घोषणा गरे ।