Logo

बाँकेलाई विशेष आर्थिक जिल्ला घोषणा गर्न माग

प्रदेश नम्बर ५ को बजेटमा सुझाव संकलन

नेपालगन्ज- प्रदेश नम्बर ५ को आगामी आर्थिक वर्षको बजेटका विषयमा सुझाव संकलन गर्ने उदेश्यले प्रदेशिक आर्थिक मामिला मन्त्रालय र प्रदेश योजना आयोगले नेपालगन्जमा सरोकारवालाहरूसंग छलफल र अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
प्रदेश सरकारका कृषि तथा भूमिसुधार मन्त्री आरती पौडेलको उपस्थितिमा आयोजना गरिएको सो सुझाव संकलन र छलफल कार्यक्रममा सहभागि बाँकेका अधिकांश उद्योगी व्यवसायीहरूले प्रदेश नम्बर ५ को आगामी बर्षको बजेट र योजनामा बाँके जिल्लालाई विशेष आर्थिक जिल्लाका रूपमा स्थापित गर्ने योजना र बजेट बनाउन माग गरेका छन् ।
उनीहरूले प्रदेशको बजेट र योजना बनाउँदा विभिन्न जिल्लालाई ती जिल्लाको क्षमता र संभावना अनुसार योजना बनाएर बजेट छुट्याउनु पर्ने माग गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले उद्योग, ब्यबसाय, जडिबुटी र पर्यटन लगायतको विकासका लागि बाँके जिल्ला सबैभन्दा उपयुक्त रहेको जनाउँदै यो जिल्लालाई सोही प्रकारका योजनाहरू दिनु पर्ने माग गरे ।
उनले विभिन्न दृष्टिकोणले यो जिल्ला उद्योग र कृषिका लागि सबैभन्दा बढी उर्वर देखिएकोले ती दुबैलाई फस्टाउने खालका योजना र बजेट यहाँका लागि बनाउनु पर्ने सुझाव सो अवसरमा दिए ।
उनले बाँकेलाई कुनै एक प्रदेशको भन्दा पनि हालका लागि समग्र पश्चिम नेपालकै आर्थिक हब बनाएर यो जिल्ला नजिकका अन्य प्रदेशका जिल्लाहरूका लागि लाभ पुग्ने योजना बनाउनु पर्नेमा जोड दिए ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले बाँकेलाई प्रदेश नम्बर ५ को आर्थिक राजधानी बनाउने अभियान यो जिल्लाका समग्र उद्योगी, ब्यबसायी लगायत अन्य विभिन्न क्षेत्रका जनताले चलाएको जनाउँदै प्रदेश सरकारले यसलाई छिटो भन्दा छिटो आर्थिक राजधानी घोषणा गर्नुपर्ने माग गरे ।
उनले त्यसका लागि सबैभन्दा पहिले नेपालगन्जमा अन्तृराष्ट्रिय बिमानस्थल निर्माण, बहुउदेश्यीय ब्यबसायीक सभागृह निर्माण, नेपालगन्ज विश्व विद्यालय निर्माण लगायतका बिषयमा प्रदेश सरकारले ध्यान दिनु पर्ने बताए ।
सो छलफल कार्यक्रममा बोल्दै प्रदेश नम्बर ५ का कृषि तथा भुमिसुधार मन्त्री एवं बाँकेकै प्रदेश सभाषद आरती पौडेलले आर्थिक हबका लागि बाँके सबैभन्दा बढी उपयुक्त रहेकोले यसलाई आर्थिक हब बनाउन प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताइन् ।
उनले बाँके जिल्ला धेरै पहिलेदेखि समग्र पश्चिम नेपालकै केन्द्र रहेको स्मरण गर्दै अब पनि यो जिल्ला पश्चिम नेपालकै एक प्रमुख आर्थिक केन्द्र रहने जनाइन् ।
उनले बाँकेमा उद्योग, कलकारखाना र अन्य ब्यबसाय संचालनका लागि सरकारले बिशेष योजना बनाउने सोच बनाएर अगाडी बढीरहेको प्रष्ट पारिन् ।
सो अवसरमा जिल्ला समन्वय समिति, बाँकेका संयोजक अजय कुमार श्रीवास्तव, नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन आचार्य, बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसी लगायतका विभिन्न उद्योगी ब्यबसायीले बाँकेलाई ठुला ठुला उद्योग स्थापना गर्ने मुख्य थलो बनाउनुका साथै पश्चिम नेपालकै पर्यटन द्धार बनाउनु पर्ने सुझाव दिएका थिए ।
कोहलपुरको नौबस्तामा निर्माण गर्न लागिएको औद्योगिक क्षेत्र, सीमाना नजिक निर्माण गर्न लागिएको सुख्खा बन्दरगाह र भारत–नेपाल दुबै देशको एकिकृत चेकपोष्ट तथा जडिबुटी प्रयोगशालालाई यथासिघ्र निर्माण गराउनु पर्ने माग समेत अधिकांश उद्योगी ब्यबसायीले सो अवसरमा अघि सारेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्