अब कुनै पनि क्षेत्रमा सिण्डिकेट रहँदैन : मन्त्री यादव «

अब कुनै पनि क्षेत्रमा सिण्डिकेट रहँदैन : मन्त्री यादव

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले आफ्नो मन्त्रालय माताहातका निकायमा रहेका सबैखाले सिण्डिकेट अन्त्य गर्ने स्पष्ट पारेका छन् ।
बुधबार रिपोटर्स क्लब नेपालले आयोजना गरेको साक्षत्कारमा मन्त्री यादवले वर्तमान सरकार सिण्डिकेट तोड्ने अभियानमा सफल भएको बताएका हुन् । उनले भने, “गृह मन्त्रालयबाट सुरु भएको अभियान अहिले सफल भएको छ, यातायात व्यवसायी गाडी चलाउन तयार भएका छन्, गाडीको सिट क्षमताभन्दा बढी यात्रु बोकेर जनताको जीवनप्रति नै खेल्ने अहिले तह लागेका छन् ।” “व्यवसायीले पनि हाम्रो अभियानलाई सहयोग गरेका छन्, हामी सबै पक्षलाई धन्यवाद दिन चाहान्छौं,” उनले भने ।
मन्त्री यादवले आफूहरुले सबै प्रकारका सिण्डिकेटको अन्त्य गर्ने विश्वास दिलाए । उनले भने, “हाम्रो नीति नै सबै क्षेत्रको सिण्डिकेटको अन्त्य गर्नु हो, हामी अहिले त्यही अभियानमा छौं ।” प्रधानमन्त्री केपी शर्मा ओलीले पनि समृद्ध नेपाल र सुखी नेपाली बनाउँछौं भनेको र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारीहरूलाई जेल हाल्नुपर्छ भनेकाले सरकार सोही अभियानमा लागेको उनको भनाइ थियो ।
पेट्रोलियम पदार्थमा पनि सिण्डिकेट छ नि भनेर सोधिएको एक प्रश्नमा मन्त्री यादवले भने, “नेपाल आयल निगममार्फत सरकारले नै पेटो«लियम पदार्थको काम सञ्चालन गरिरहेको छ, यसलाई सिण्डिकेट भन्न मिल्दैन, तर पनि हामी यसमा पनि प्रतिस्पर्धा चाहन्छौं ।”
नेपालमा खुल्ला उदारीकरण र निजीकरणको नाममा राष्ट्रिय उद्योगहरू बेचेर खाएको उनको आरोप छ । पूर्वअर्थमन्त्री डा. रामशरण महतप्रति लक्षित गर्दै मन्त्री यादवले भने, “जसको अर्थ नीतिले मुलुकको अर्थतन्त्र ध्वस्त भयो उनै व्यक्तिलाई बेष्ट फाइनान्स मिनिष्टर भनेर अवार्ड दिए, अहिले उत्कृष्ट अर्थमन्त्री भनेर मूल्यांकन गर्नेहरू नेपालको अर्थतन्त्र ध्वस्त भयो भनेर मज्जा लिइरहेका छन् ।”

प्रतिक्रिया दिनुहोस्