राप्तीका ५७१ सहकारी हस्तान्तरण

दाङ-डिभिजन सहकारी कार्यालय, दाङले राप्ती अञ्चलका ५ सय ७१ सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण गरेको छ । डिभिजन सहकारी कार्यालयले ५ जिल्लाका ५ सय ७१ सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण गरेको हो । कार्यालयले सल्यान, पूर्वी रुकुम, पश्चिम रुकुम, रोल्पा र प्युठान जिल्लाका स्थानीय तहलाई सहकारी अभिमुखीकरणसहितको कार्यक्रम आयोजना गरी सहकारी संस्थाहरू हस्तान्तरण गरिएको डिभिजन सहकारी कार्यालय, दाङका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए । उनका अनुसार सल्यान जिल्लामा १ सय ५५, पूर्वी रुकुममा ३३, रुकुम पश्चिममा १ सय ७, रोल्पामा १ सय ३२ र प्युठान जिल्लामा १ सय ४४ सहकारी सहकारी संस्था स्थानीय तहलाई डिभिजन सहकारी कार्यालयले जिम्मा लगाएको हो । तर, दाङमा भने आगामी जेठको पहिलो हप्तासम्म सहकारी संस्थाहरू हस्तान्तरण गरिने कार्यालयले जनाएको छ ।
“डिभिजन कार्यालय, दाङअन्तर्गत रहेका सहकारी संस्थाहरू स्थानीय तहलाई हस्तान्तरण गर्न केन्द्रले परिपत्र गरेपछि हामीले दाङबाहिरका जिल्लाबाट हस्तान्तरणको काम सुरु गरेका थियौँ,” सूचना अधिकारी पौडेलले भने, “दाङबाहिरका जिल्लामा सहकारी हस्तान्तरणको काम सकिएको छ, अब दाङका स्थानीय तहलाई सहकारी हस्तान्तरणका लागि फाइल मिलाउने काम भइरहेको छ ।”
सम्पुर्ण काम सकिएपछि जेठको पहिलो हप्तासम्म दाङका स्थानीय तहका लागि एक अभिमुखीकरण कार्यक्रमको आयोजना गरी सहकारी संस्थाहरू स्थानीय तहलाई हस्तान्तरण गर्ने तयारी रहेको कार्यालयले जनाएको छ । त्यसपछि बचेका सहकारी संस्थाहरूलाई प्रदेश र केन्द्रमा हस्तान्तरण गरिनेछ ।
नयाँ संविधान र सहकारी ऐन, २०७४ को प्रावधानअनुसार कार्यालयले सहकारी संस्थाहरू स्थानीय तहलाई हस्तान्तरण गरेको हो । राप्ती अञ्चलका ६ जिल्लामध्ये ५ जिल्लाका एउटै स्थानीय तहमा कार्यक्षेत्र भएका सहकारी संस्थाहरू स्थानीय तहमा हस्तान्तरण गरिएको कार्यालयले जनाएको छ । तर, दुई स्थानीय तहमा कार्यक्षेत्र भएका सहकारी संस्थाहरू भने कार्यालयले प्रदेशमा र दुई जिल्लामा कार्यक्षेत्र भएका सहकारी संस्थाहरूलाई केन्द्रमा हस्तान्तरण गर्ने तयारी गरेको सूचना अधिकृत पौडेलले बताए । मन्त्रालयले असार १५ सम्म सबै सहकारी हस्तान्त्रण गरी सक्ने पत्राचारसमेत गरिसकेको छ ।