बाढीले सिँचाइ कुलो बगायो «

बाढीले सिँचाइ कुलो बगायो

शीतगंगा नगरपालिका–१४ स्थित पावराटारा सिँचाइ योजनाको निर्माणाधीन बाँधस्थल बाढीले बगाएको छ । पावरा गाउँमा सिँचाइका लागि पानी ल्याउन करिब सात किमि टाढा कुलो निर्माण हुँदै थियो । बुधबार राति आएको बाढीले निर्माण गर्दै गरेको बाँध बगाएर लगेको छ ।
करिब ८० मिटरको कुलो पूरै पुरेको छ । २०४४ सालमा कुलो निर्माण भएपछि पावरामा सिँचाइ सुविधा पुगेको थियो । आधुनिक बाँध निर्माण गरी धेरै पानी ल्याउने उद्देश्यले सिँचाइ विकास डिभिजन कार्यालयको ८२ लाख लगानीमा ठेक्कामार्फत काम भइरहेको थियो ।
योजना उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर खाम्चाकीका अनुसार बुधबार राति आएको बाढीले निर्माणकार्य भइरहेको बाँधस्थल बगाएर लगेको बताए । ९० प्रतिशत काम सम्पन्न भइसकेको थियो । जेठ पहिलो सातामै सबै काम सम्पन्न गरेर सिचाइ कुँलो सञ्चालन गर्ने तयारी थियो । बाढीले बगाएपछि सबै काम शून्यमा झरेको उनले बताए ।
निर्माणका लागि ठेक्का लिएका यू एण्ड आर शर्मा कन्ट्रक्सन प्रालिका सञ्चालक श्रीहरि गौतमले सम्पन्न हुन लागेको काम बाढीले शून्यतामा झारेको बताए । केही दिनमै काम सम्पन्न गरी सिँचाइ डिभिजन कार्यालय र उपभोक्तालाई हस्तान्तरण गर्ने तयारी थियो । बाढीले सबै काम शून्यमा झारिदिएको उनले बताए । १६ लाख रुपैयाँको निर्माण सामग्री, औजार मेसिन, २० क्युन्टल छड, ४० थान जाली, २५ थान ढक्कन, ३० वटा वाटर प्रुफ मेसिन लगायतका सामग्री पनि बगाएर लगेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्