विप्लव माओवादीका ३७६ नेता–कार्यकर्ता पक्राउ

नेपाल प्रहरीले निर्वाचन विरोधी गतिविधिमा संलग्न नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका करिब ३ सय ७६ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ ।
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन विरोधी गतिविधि तथा विस्फोट र आगजनीमा संलग्न रहेको अभियोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरी प्रवक्ता मनोज न्यौपानेले पक्राउ परेका व्यक्तिहरु निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेकोले नियन्त्रणमा लिइएको बताए । प्रवक्ता न्यौपानेले आरोपित विरुद्ध विस्फोटक पदार्थ ऐन, हातहतियार तथा खरखजाना ऐन, ज्यान मार्ने उद्योग, केही सार्वजनिक अपराध ऐन लगायत कसूरमा देशभरका प्रहरी कार्यालयहरुमा अनुसन्धान जारी रहेको बताए ।
कतिपय विस्फोटमा दलका नेता÷कार्यकर्ता तथा सर्वसाधारण घाइतेभएपनि मानवीय क्षति भने भएको छैन । विप्लवले आफ्ना कर्यकर्तालाई चुनाव विथोल्ने क्रममा नेता तथा कार्यकर्तामाथी भौतिक कारबाही गर्न लिखित परिपत्र गरेपछि सेना र प्रहरी उक्त समूह नियन्त्रणमा सक्रिय भएको हो ।
“पक्राउ परेका अधिकांश निर्वाचन विरोधी तथा कानुनले वर्जित गरेका गतिविधिमा संलग्न छन्,” प्रवक्ता न्यौपानेले भने, “कतिपय स्थानमा उम्मेदवार तथा सार्वसाधारणको ज्यान समेत लिने मनसायले विस्फोट गराइएको देखिन्छ ।”
सुरक्षा निकायहरुको सावधानी र सतर्कताका कारण अहिलेसम्म चुनाव विरोधी समूहका हर्कतबाट मानवीय क्षती हुन नपाएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीको विशेष व्यूरोले समेत विप्लव माओवादीमाथी निगरानी बढाउँदै उनीहरुले प्रयोग गरेका हातहतियार तथा विस्फोटक पदार्थ कहाँबाट ल्याए भन्नेबारे समेत अनुसनधान गरिरहेको छ ।
भारत र चीनसँग सीमा जोडिएका क्षेत्रमा समेत व्यूरोको टोली विप्लवका गतिविधि निगरानीमा खटिएको छ ।
यसैबीच, एमाले भ्रातृ संगठन अनेरास्ववियुकी अध्यक्ष नविना लामाका बाबु माणिक लामालाई चिनिया व्यक्तिसँग हतियार डिल गरेको अभियोगमा विशेष व्यूरोले गतसाता मात्रै पक्राउ गरेको छ । यो विषयलाई व्यूरोले गम्भीर रुपमा लिएको स्रोतले जानकारी दियो ।
पछिल्लो ३ साताको अवधिमा विप्लव समूहले देशका ४८ स्थानमा बम विस्फोट र आगजनी गराएको छ । नुवाकोट, रोल्पा, रुकुम, रौतहट, भोजपुर, ओखलढुंगा, संखुवासभा लगायत जिल्लामा विप्लवका कार्यकर्ताले चुनाव प्रचारप्रसारमा संलग्न नेता÷कार्यकर्ताहरुलाई लक्षित गरी बम विस्फोट गराइएको छ ।
नेपाली सेनाका प्रवक्ता नैनराज दाहालका अनुसार पछिल्लो ३ साताको अवधिमा २५ स्थानमा राखिएका बम निष्क्रिय पारिएको छ ।
“पछिल्लो तथ्यांक अनुसार हामीले निर्वाचन विरोधी गतिविधि गर्ने अभिप्रायले राखिएका २५ स्थनको बम निस्कृय पारिदिएका छौं,” प्रवक्ता दाहालले भने, “निर्वाचन निस्पक्ष र भयरहित बाताबरणमा सम्पन्न गराउनु हाम्रो मूख्य लक्ष हो, यसक्रममा हुने जुनसुकै गैरकानुनी गतिविधिमा संलग्नलाई सुरक्षाफौजले नियन्त्रणमा लिने छ ।”
प्रवक्ता दाहालका अनुसार पहिलो चरणमा निर्वाचन हुने ३२ वटै जिल्लाका हरेक मतदानकेन्द्रमा सैनिक फौज परिचालन भइसकेको छ ।
दोस्रो चरणको मतपत्र ढुवानी सकियो
नेपाली सेनाले दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा समेत मतपत्र ढुवानीको जिम्मेवारी पूरा गरेको छ । मंसिर २१ गतेका लागि तय गरिएका ४५ जिल्लाको मतपत्र ढुवानीको काम पूरा गरिएको सेनाले जनाएको छ ।
सैनिक प्रवक्ता सहायक रथी नैनराज दाहालले बुधबारबाट मतपत्र ढुवानीको काम पूरा भएको जानकारी दिए ।
“सरकारले निर्वाचन सुरक्षामा सेनालाई दिइएको प्रमुख जिम्मेवारी मध्येको मतपत्र ढुवानीको काम पूरा भएको छ,” प्रवक्ता दाहालले भने, “अव सबै निर्वाचन क्षेत्रको चुनावी सुरक्षामा हाम्रो फौज केन्द्रीत भएको छ ।” निार्वचन सुरक्षाकै लागि सेनाले उपत्यका सहित सातवटै प्रदेश अन्तर्गतका पृतना मूख्यालयलाई बेस बनाएर एक÷एक वटा सैनिक हेलिकप्टर आपतकालिन उद्धार, उडान र बन्दोबस्तीका सामान ढुवानीका लागि स्ट्यान्डवाई राखिएको जनाएको छ । निर्वाचनमा मतदानको बाहिरी सुरक्षा र मतदाता घरदेखी मतदान स्थल सम्म पुग्दाको एरीया सुरक्षाको जिम्मेवारी सहित परिचालित भएको छ । हरेक निर्वाचन क्षेत्रमा मेजरको कमान्डमा अस्थायी बेसक्याम्प स्थापना गरी सेना चुनावी सुरक्षामा खटिएको सैनिक प्रवक्ता दाहालले जानकारी दिए ।
मातृका दाहाल