अज्ञात समूहद्वारा लाखौंको केराखेती नष्ट

चितवनको कालिका नगरपालिका–६ मा अज्ञात समूहले सोमबार राति ठूलो परिमाणमा केराखेती नष्ट गरेको छ । सो वडामा करिब ३ हजार १ सयभन्दा बढी केराको बोट अज्ञात समूहले काटेर नष्ट गरिदिएको चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तले जानकारी दिए ।
चितवन केराखेतीका लागि पकेट क्षेत्र मानिन्छ । तर बेलाबेलामा यस्ता गतिविधि हँुदै आएका छन् । यति धेरै क्षति गराइएको भने यो पहिलो पटक हो । कालिका नगरपालिका–६ नयाँ टोलमा स्थानीय १२ जना किसानले लगाएको केराखेती अज्ञात समूहले नष्ट गरिदिएको संघका अध्यक्ष पन्तले बताए । आत्मनिर्भरतर्फ उन्मुख रहेको केराखेतीमा यसरी क्षति पुराउँदा किसान चिन्तित छन् । “थोरै मात्रामा पहिले पनि केराको बोट काटेर क्षति पुराउँथ्यो,” संघका अध्यक्ष पन्तले भने, “यति ठूलो परिमाणमा क्षति भएको यो पहिलो घटना हो, यसले किसानलाई निरुत्साहित पार्ने काम भएको छ ।” अज्ञात समूहले मध्यराततिर बगानमा पसेर छानीछानी केराको बोट काटेको छ । केरासँगै करिब ५ कठ्ठामा लगाएको मकैमा समेत सो समूहले क्षति पुराएको पन्तले बताए । सो अपराधमा सलग्नलाई कारवाहीको माग गर्दै प्रहरीमा उजुरी दिईएको छ । स्थानीय कोपिला दाहालको सबैभन्दा बढी १२ सय केराको बोट नष्ट गरिएको छ ।
कोसा लागिसकेको केरा काटेर नष्ट गर्नु सुनियोजित तथा आपराधिक गतिविधिको उपज रहेको भन्दै दोषीलाई पक्राउ गरी कारबाही गर्न किसानहरूले माग गरेका छन् । केही दिनअघि मात्रै सो क्षेत्रबाट लागू पदार्थ सेवन गरेका युवालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूको समूहबाट नै केरामा क्षति पुराएको हुनसक्ने स्थानीयको अनुमान छ ।
चितवन केरा उत्पादक संघले मंगलबार एक विज्ञप्ति जारी गरी घटनामा संलग्नको खोजी गरी कारबाही गर्न माग गरिएको छ । संघका अध्यक्ष विष्णुहरि पन्तले विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई कारबाही गरी क्षतिपूर्ति उपलब्ध गराउन भनिएको छ ।