Logo

पदाधिकारी मनोनयनमा सहमति खोजिँदै

नेपाली कांग्रेसले पदाधिकारी मनोनयनमा सहमति खोज्न भन्दै निर्वाचित सदस्यहरुको बैठक वैशाख २१ गतेका लागि बोलाएको छ । सोमबार बिहान बैठक बोलाइएकामा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बहिष्कार गर्ने चेतावनी दिएपछि बैठक स्थगन गरेर बैठक २१ गते २ बजे बस्ने गरी बैठक बोलाइएको हो ।
सभापति शेरबहादुर देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्री सोमबार नै प्रस्ताव गर्ने तयारी गरेका थिए । मुख्य सचिव कृष्णप्रसाद पौडेलले विशेष कारणवश बैठक वैशाख २१ गतेका लागि सारिएको जनाएका छन् ।
कांग्रेस विधानमा निर्वाचित केन्द्रीय सदस्यहरुबाट ३ जना पदाधिकारी मनोनित हुने उल्लेख छ । प्रस्ताव गरिएका तीन पदाधिकारिलाई निर्वाचित केन्द्रीय सदस्यको बैठकले अनुमोदन गर्नुपर्ने छ । विधानतः महाधिवेशन सकिएको २ महिनाभित्र पदाधिकारी मनोनयन गरिसक्नुपर्ने भएपनि २६ महिनासम्म पनि हुन सकेको छैन । स्रोतका अनुसार २१ गतेसम्म पौडेल समूहसँग छलफल सहमतिमै पदाधिकारी प्रस्ताव गर्न सभापति देउवाले प्रयास गर्नेछन् । उपसभापतिमा विमलेन्द्र निधि र महामन्त्रीमा पूर्णबहादुर खड्का बनाउने निर्णयमा सभापति देउवा पुगिसकेको उनी निकटस्थ बताउँछन् । सहमहामन्त्री भने पौडेल पक्षलाई दिन देउवा लचक देखिएका छन् । “तर, पौडेल समूह सहमतिमा नआए २१ गतेको बैठकमा सहमहामन्त्री पनि आफ्नै पक्षबाट बनाउने तयारीमा उहाँ हुनुहुन्छ,” देउवा समूहका एक केन्द्रीय सदस्यले भने ।
महामन्त्री शशांक कोइरालाले पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेलको सहमतिमै पदाधिकारी मनोनयन गर्न आफूले सोमबार बोलाइएको निर्वाचित केन्द्रिय सदस्यहरुको बैठक शुक्रबारसम्मका लागि स्थगित गर्न सभापति देउवासँग आग्रह गरेको बताए । शुक्रबारसम्म सहमतिका लागि प्रयास हुने र सहमति नजुटेपनि अब निर्णय गरेर अघि बढ्ने तयारीमा सभापति देउवा छन् ।

पौडेल आवेगमा आउनुभयो : कोइराला
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई उत्तेजित नहुन सुझाएका छन् । सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पार्टी केन्द्रीय कार्य समितिको बैठकमा ‘बहुमतीय प्रक्रियाबाट निर्णय लिएको’ भन्ने वरिष्ठ नेता पौडेलको अभिव्यक्तिको पनि खण्डन गरेका छन् । उनले आइतबार केन्द्रीय समितिको बैठक सर्वसम्मतिले सम्पन्न भए पनि वरिष्ठ नेता पौडेलले असन्तुष्टि व्यक्त गर्नु आवेगको अभिव्यक्ति भएको बताए ।
सोमबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीको जिज्ञासामा महामन्त्री कोइरालाले पार्टीलाई एकतावद्ध बनाएर अघि लैजानुको विकल्प नरहेको बताए । उनले बामपन्थीहरु एक भएका बेला पार्टीलाई एकतावद्ध बनाएर लैजानु आफू अग्रसर भएको पनि बताए ।

 

प्रतिक्रिया दिनुहोस्