Logo

कांग्रेस पदाधिकारीको टुंगो आज

नेपाली कांग्रेसले महाधिवेशन सम्पन्न भएको लामो समयपछि पदाधिकारी मनोनयन गर्ने भएको छ । यसअघि पटक–पटक सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयन गर्ने गृहकार्य गरे पनि आकांक्षी धेरै हुँदा निर्णय हुन सकेको थिए । तर, आज (सोमबार) बिहान बस्ने महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति सदस्य बैठकले उपसभापति र महामन्त्रीको टुंगो लगाउने स्रोतको दाबी छ । केन्द्रीय समितिमा निर्वाचित सदस्यमा देउवा पक्षको बाहुल्यता छ ।
सहमति नभए बहुमतका आधारमा भएपनि प्रस्ताव पारित गराउने योजनामा सभापति देउवा छन् ।
स्रोतका अनुसार पदाधिकारी बैठकले मनोनित गर्न बाँकी रहेको उपसभापतिमा विमलेन्द्र निधि र महामन्त्रीमा पूर्णबहादुर खड्कालाई मनोनित गर्ने तयारी भइसकेको छ । सहमहामन्त्रीका बारेमा भने निर्णय भइसकेको छैन । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई सहमहामन्त्री दिने विषयमा पनि छलफल भइरहेको देउवा निकट एक केन्द्रीय सदस्यले बताए । पौडेल समूहबाट सहमहामन्त्री पाउने अवस्था आएमा दिलेन्द्र बडुको नाम चर्चामा छ । एकता प्रक्रियाबाट कांग्रेसमा आएका फोरम लोकतान्त्रिकका तत्कालिन अध्यक्ष विजय गच्छदारले पनि उपसभापतिमा दाबी गरेका छन् । तर, सभापति देउवाले केन्द्रीय समितिभित्रैबाट पदाधिकारी मनोनित गर्ने भएकाले उनको सम्भावना नरहेको देउवा निकटस्थको दाबी छ ।
यसैबीच, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने पदाधिकारी प्रस्ताव गर्न बोलाइएको बैठक बहिष्कारको चेतावनी दिएका छन् । सभापति देउवाले एकलौटी पदाधिकारी मनोनित गर्न लागेपछि पौडेल समूह रुष्ट बनेको हो । पौडेल निकट एक नेताले भने, “बैठक बहिष्कार हुनसक्छ । २ महिनामा गरिसक्नुपर्ने मनोनयन अहिले गर्नु विधान विपरित हो । एकलौटी रुपमा गरिएको प्रस्ताव स्विकार्न सकिन्न ।”

महासमिति बैठक भदौमा, संसदीय बोर्ड भंग
नेपाली कांग्रेसले निर्वाचनमा आएको प्रतिकूल परिणामको जिम्मेवारी केन्द्रीय समितिले लिएको छ । वरिष्ठ नेता पौडेल र कृष्ण सिटौला पक्षले हारको जिम्मेवारी सभापति देउवाले लिनुपर्ने अडान राख्दै आएका थिए । तर, केन्द्रीय समितिको बैठकले गरेको निर्णय नम्बर २ मा हारको जिम्मेवारी केन्द्रीय समितिले लिने उल्लेख छ । कांग्रेसले महासमिति बैठक भदौमा बोलाउने भएको छ । १४ दिन चलेर आइतबार साँझ ६ बुँदे निर्णय सार्वजनिक गर्दै सम्पन्न भएको बैठकले भदौमा महासमिति बैठक बोलाउने निर्णय गरेको प्रवक्ता शर्माले बताए । प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि समिक्षाका लागि बसेको कांग्रेसको यो छैटौं बैठक हो । त्यस्तै बैठकमा पौडेल र कृष्ण सिटौला पक्षका नेताहरूले निर्वाचन पराजयको समिक्षाका लागि महासमिति बैठक बोलाउनुपर्ने माग राख्दै आएका थिए । “बैठकमा १५ युवा नेताहरूले राखेको ९ बुँदे लिखित प्रस्तावलाई पनि सम्बोधन गरिएको छ,” प्रवक्ता शर्माले भने, “जेठ मसान्तमा जिल्ला भेला गर्ने, भदौमा महासमिति बैठक, संसदीय बोर्ड भंग गर्ने, कार्यसम्पादन र अनुशासन समिति पुनर्गठन गर्ने निर्णय भएको छ ।” त्यस्तै बैठकले सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले सार्वजनिक रुपमा नेपालको संविधानविपरित दिएको धारणाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । निर्णयको ५ नम्बर बुँदामा भनिएको छ, “स्वतन्त्र न्यायपालिका तथा अन्य संवैधानिक अंगहरूको अधिकारमाथि अतिक्रमण गर्ने कार्य कांग्रेसलाई मान्य हुनेछैन ।” खुला राजनीतिक अभ्यासमा प्रत्यक्ष वा परोक्ष कुनै पनि बाधा सिर्जना नगर्न पनि सरकारलाई सचेत गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्