‘निर्वाचन विथोल्न खोज्नेलाई असफल पार्नुस् ’

प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर १० र २१ गते दुई चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा भयरहित वातावरणमा मतदान गर्न सक्ने अवस्था बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयमा सोमबार आयेजित प्रदेश नं. ३ स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री देउवाले मतदाताले रोजेको दल र उम्मेदवारलाई मतदान गर्न सक्ने गरी सुरक्षा प्रबन्ध मिलाउन सुरक्षा निकायलाई निर्देशन दिए ।
“मतदानस्थल कब्जा गर्ने मनसाय पनि सुरक्षाको चुनौती बन्न सक्छ, सबै सुरक्षा निकायले सुरक्षा प्रणालीमा तहगत निर्देशनलाई उचित रुपमा परिपालना गरेर काम गर्नुस्,”’ प्रधानमन्त्री देउवाले भने, “सरकार निर्वाचनका लागि आवश्यक सबै सुरक्षाको प्रबन्ध मिलाउन प्रतिवद्ध छ । कसैसित सम्झौता हुँदैन ।” केही दिनयता निर्वाचन विथोल्ने उद्देश्यले उम्मेदवार लक्षित आक्रमण भइरहेको छ । नेपाल कम्युनिष्ट पार्टीले राजनीतिक दलका उम्मेदवार सवार गाडी र सभास्थललाई लक्षित गर्दै आक्रमण गर्न थालेपछि सो समूहलाई निर्वाचनका लागि थ्रेटका रुपमा हेरिएको छ । प्रधानमन्त्री देउवाले निर्वाचन विथोल्न खोज्नेप्रति कडा रूपमा प्रस्तुत हुँदै शान्ति, सुरक्षाको उचित प्रबन्ध गर्न निर्देशन दिए ।
गोष्ठीमा गृह सचिव मोहनकृष्ण सापकोटाले निष्पक्ष, भयरहित र स्वतन्त्र निर्वाचन सम्पन्न गर्न निर्देशन दिए । उनले निर्वाचनअघि, निर्वाचनमा र निर्वाचनपछिका तीनै चरणमा सुरक्षा दिनका लागि सुरक्षा योजना कार्यान्वयनमा ध्यान केन्द्रित गर्न निर्देशन दिए । मध्यमाञ्चलन क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डेले यस क्षेत्रका सबै जिल्लाको सुरक्षा व्यवस्थाको अवस्था र निर्वाचनको सुरक्षाका लागि तयार गरेका योजनाका बारेमा जानकारी गराएका थिए । गोष्ठीमा सहभागी प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका प्रमुखले निर्वाचन विरोधी विभिन्न समूह, अवैध हतियार, विस्फोटक पदार्थ र केही स्थानमा बुथ कब्जा निर्वाचनका लागि मुख्य चुनौती रहेको बताएका थिए ।
निर्वाचन विरोधी कार्य गर्नेलाई पक्रन परिपत्र
गृह र रक्षा मन्त्रालयले मातहतका सुरक्षा निकायलाई निर्वाचन विरोधी गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिन परिपत्र गरेका छन् । निर्वाचन विरोधी गतिविधिमा संलग्न भएका नेपाल कम्युनिष्ट पार्टीका केही नेता, कार्यकर्ता पक्राउ परेका छन् । सो समूहले निर्वाचन विरोधी गतिविधि बढाउने संकेत पाएपछि सो विरुद्ध सुरक्षा निकाय कडा रूपमा प्रस्तुत हुने भएको हो । चुनावी प्रचारमा रहेका उम्मेदवार सवार गाडीलाई लक्षित गर्दै माइन राख्ने, बम हान्ने घटना बढेपछि निर्वाचन सुरक्षा थप कडा बनाउन लागिएको हो ।
उचित सुरक्षा प्रबन्ध गर : मानवअधिकार आयोग
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उचित सुरक्षा व्यवस्थाको उचित प्रबन्ध गर्न आवश्यक रहेको बताएका छन् । निर्वाचन आयोगका पदाधिकारीसँग सोमबार भएको छलफलमा आयोग अध्यक्ष शर्माले निर्वाचनमा सुरक्षाको उचित प्रबन्ध गर्न आवश्यक रहेको बताएका हुन् । आयोगले निर्वाचन अनुगमनमा राष्ट्रिय मानव अधिकार आयोगबाट २ सयभन्दा बढी जनशक्ति खटाउने जानकारी समेत गराए । सो अवसरमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनलाई स्वच्छ, भयरहित र मितव्ययी बनाउन आयोग गम्भीर रहेको बताए ।