४२ जिल्लामा सहकारी हस्तान्तरण «

४२ जिल्लामा सहकारी हस्तान्तरण

सरकारले ४२ जिल्लाका सहकारी स्थानीय तहलाई हस्तान्तरण गरेको छ । चैतभरमा सबै स्थानीय तहलाई हस्तान्तरण गरिसक्ने योजना बनाए पनि लक्ष्यभन्दा न्यून मात्र हस्तान्तरण गरिएको हो ।
संविधानअनुसार एक स्थानीय तहभित्र कार्यक्षेत्र भएका सहकारी स्थानीय तह, एकभन्दा बढी स्थानीय तह कार्यक्षेत्र भएका सहकारी प्रदेश र एक प्रदेशभन्दा बढी कार्यक्षेत्र भएका सहकारीहरू संघ मातहत सञ्चालनमा हुने व्यवस्था छ । सोही व्यवस्थाअनुसार स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीलाई सहकारीसम्बन्धी ओरेन्टेसनसहित अभिलेख हस्तान्तरण गर्नुपरेकाले केही ढिलाइ भएको हो ।
सहकारी विभागका अनुसार हाल देशभर ३४ हजार ५ सय सहकारी दर्ता भएका छन् । ती सहकारी संघसंस्थामध्ये डेढ सयको हाराहारीमा मात्र संघ मातहत रहनेछन् । त्यसबाहेक ५ हजार हाराहारीमा प्रदेश मातहतमा र बाँकी स्थानीय तह मातहतमा जाने विभागको अनुमान छ ।
सहकारीको दर्ता अभिलेख हस्तान्तरणका लागि सहकारीको कार्यक्षेत्रका आधारमा फाइल बनाउन डिभिजन कार्यालयलाई विभागले निर्देशन दिएको थियो । डिभिजन कार्यालयले तयार गरेको अभिलेख अभिमुखीकरण कार्यक्रमसँगै हस्तान्तरण गर्दै लैजाने विभागका रजिष्टार केशव रेग्मीले जानकारी दिए । “औपचारिक कार्यक्रममार्फत एक-दुइटा स्थानीय तहलाई अभिलेख हस्तान्तरण गरी सुरुवात गरिएको छ,” उनले भने, “अब डिभिजन कार्यालयहरूले स्थानीय तहलाई बोलाउँदै हस्तान्तरण गरिरहेको छ ।”
सरकारले माघ दोस्रो सातादेखि हेटौंडाबाट सहकारीको हस्तान्तरण सुरु गरेको थियो । स्थानीय तहमा हस्तान्तरण सकेपछि प्रदेशमा सहकारीको हस्तान्तरण सुरु गर्ने विभागले जनाएको छ । प्रदेशमा सहकारी महाशाखा हेर्ने कर्मचारीका लागि समेत तालिम सञ्चालन गरिसकेको विभागले जनाएको छ ।
स्थानीय तहमा सहकारीको दर्ता तथा अनुगमनको कामलाई प्रभावकारी बनाउनका लागि सहकारी विभागले सहयोग गरिरहेको छ । स्थानीय तहलाई सहकारीको दर्ता तथा अनुगमनका लागि नमुना विनिमय तथा मापदण्ड बनाएर मन्त्रालयमार्फत सबै निकायमा पठाइएको रजिष्टार रेग्मीले जानकारी दिए ।
“स्थानीय तह काम गर्नका स्वायत्त र स्वतन्त्र हुन्छन्,” रेग्मीले भने, “उहाँहरूलाई सजिलो होस् भनेर नमुना विनियम र मापदण्ड निर्माण गरेर पठाएका छौं ।” यही नमुना विनियमका आधारमा स्थानीय तहले नीति नियम बनाएर काम गर्न सक्ने उनले जानकारी दिए । अभिलेख बुझेका कतिपय स्थानीय तहहरूले सहकारीबाट प्रगति विवरण लिनेलगायतका काम सुरु गरिसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्