चितवनले विकासको मोडेल सिकाउँछ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी बजेटमा चितवनको विकासलाई लक्षित गरेर सम्बोधन गरिने बताएका छन् । नारायणी, राप्ती र रिउमा तटबन्धन, माडीका ठाडा खोला नियन्त्रण, अन्य पूर्वाधारका विकास, जंगली जनावरबाट वस्तीको सुरक्षा जस्ता विषयमाथि सम्बोधन हुने गरी बजेट ल्याउन तयारी गरेको बताएका छन् ।
भरतपुरमा प्रेस सेन्टर नेपाल चितवन शाखाले आयोजना गरेको ‘चितवनको विकास र समृद्धिबारे’ को अन्तक्र्रियामा उनले भने, “एकीकृत रुपमा एउटा ‘मास्टर प्लान’ बनाउनुपर्छ भन्ने सोचाइका साथ केन्द्रमा छलफल गर्दैछौँ ।” पूर्वप्रधानमन्त्री प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी बनेका थिए । चितवन उनको गृहजिल्ला पनि हो ।
“चितवन विकासको साँच्चै उदाहरण बन्न सक्छ,” उनले भने, “यसको अवस्थिति, प्राकृतिक साधन स्रोतको स्थिति, जनमतले पनि नमूना विकासको जिल्ला बनाउन सकिन्छ ।” उनले एसियाली मापदण्ड, अन्तर्राष्ट्रिय मापदण्ड जस्तै चितवनलाई पनि मोडेलका रुपमा विकास गर्ने सम्भावना रहेको बताए ।
उनले चितवनमा व्यवस्थापिका संसदको कार्यालय, मन्त्रालय राख्न सकिने बारे छलफल चलिरहेको बताए । “सरकारको हेडक्वाटर जहाँ हुन्छ, अर्को नजिकको शहरमा संसद भवन हुन्छ,” उनले भने, “चितवनमा राख्ने चर्चा छ । राम्रो त्यही हुन्छ । पूर्वाधार विकासलाई सन्तुलित ढंगले लान सकिन्छ ।” उनले पूर्वपश्चिम रेलमार्ग र उत्तर –दक्षिण रेलमार्ग दुवैले चितवनलाई जोडेरै जाने दाबी गरे । पूर्वप्रधानमन्त्री दाहालले बजेट फ्रिज हुन नदिन अतिआवश्यक विकासका योजना पूरा गर्न पूरक बजेटको व्यवस्था गर्नुपर्नेमा जोड दिए । उनले फ्रिज हुन लागेका रकमको सदुपयोग गर्दै रकमान्तर गरेर विकास कार्यलाई अघि बढाउन पहल भैरहेको बताए ।
“माडीमा बाढी नियन्त्रण गर्ने केही काम भएका छन्,” उनले भने, “पहिलेकै बजेटबाटै रकमान्तर गरेर तत्काल समाधान गर्न सकियोस् भनेर लागेका छौँ ।” मंगलबार बिहानमात्रै माडीका मेयर, उपमेयर सहितको टोलीले प्रधानमन्त्री र प्रचण्डबीच छलफल गरेर बाढीको समस्याबारे अवगत गराएका थिए । भरतपुर–ठोरी हुलाकी मार्ग मर्मत गर्न ३ करोड र शारदानगर–चनौली मार्गको धुलाम्मे सडक कालोपत्रे गर्न १२ करोड रुपैयाँ निकासा भएर काम अगाडि बढिसकेको उनले बताए ।