अविलम्ब महासमिति बैठक र शिघ्र महाधिवेशनको माग

नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा ७ जना केन्द्रीय सदस्यहरूले अविलम्ब महासमिति बैठक र शिघ्र महाधिवेशनको माग गर्दै लिखित धारणा पेश गरेका छन् । केन्द्रीय समितिको मंगलबार बसेको बैठकमा ५१ पृष्ठ लामो धारणा पेश गरेका उनीहरूले सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्न सभापति देउवालाई आग्रह गरेका छन् ।
“अविलम्ब महासमिति बैठक र शिघ्र महाधिवेशन गराएर सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्नेतर्फ लाग्नुभयो भने त्यो सभापतिज्यूको व्यक्तिगत हितमा हुन्छ,” धारणापत्रमा उल्लेख छ । पार्टी सभापति शेरबहादुर देउवालाई बुझाइएको सो लिखित दस्तावेजमा केन्द्रीय सदस्यहरू गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे, प्रदिप पौडेल, रामकृष्ण यादव र जीवन परियारले हस्ताक्षर गरेका छन् ।
सो प्रस्तावमा पार्टीका विगतका कमजोरी र आगामी दिनमा तत्कालका समात्नुपर्ने बाटोका बारेमा उल्लेख गरिएको छ । कांग्रेसले उठाएको विचार र राजनीतिक सोचले राष्ट्रिय राजनीतिमा सर्वमान्य भएर स्थापित हुँदा पनि पार्टी स्वयंले भने चुनाव जित्न नसक्नु आफैंमा विरोधाभाषपूर्ण समस्या भएको उनीहरूको निष्कर्ष छ । “वि.सं. २०४८ मा ३७.७५ प्रतिशत मत ल्याएको कांग्रेसले यो २६ वर्षमा त्यो मत ५० प्रतिशतमा बढाएको भए आज जुनसुकै दल वा शक्ति मिलेको भए पनि कांग्रेसलाई पराजित गर्ने ल्याकत राख्दैनथे र हामी यति निराश पनि बन्नुपर्ने थिएन । तर त्यस्तो हुन सकेन बरु मत घट्दै गयो किन ?” धारणापत्रमा भनिएको छ । ०१५ सालमा ७ प्रतिशत र ०४८ मा ३४ प्रतिशत मत ल्याएका कम्युनिष्टले ०७४ सालमा आइपुग्दा ४९ प्रतिशत मत ल्याउनुको कारण पार्टीको सिद्धान्त तथा नीति र पार्टीको संगठन यी दुवै विषयमा कांग्रेस अस्पष्ट र अलमलिनु रहेको उनीहरूको ठहर छ । “एकातर्फ पार्टीले लिएका आर्थिक उदारीकरण जस्ता नीतिगत विषयमा न पार्टीभित्र सैद्धान्तिक बहस भयो, न त मतदाता समक्ष त्यसका सकारात्मक पक्ष र सफलताहरूको बारेमा विश्वास दिलाउन सक्यौं,” उनीहरूले भनेका छन् ।
त्यस्तै, उनीहरूले मुलुक संघीयतामा गए पनि कांग्रेस नगएकोतर्फ ध्यानाकर्षण गराउँदै पार्टीलाई तत्काल संघीय संरचनामा लगेर वडा, पालिका, प्रदेश र संघ सबै तहमा सबल सरकार वा छायाँ सरकारको भूमिका खेल्न सक्ने नेतृत्व स्थापित गर्नुपर्नेमा जोड दिएका छन् । “त्यसैले महासमिति बैठकबाट संसोधित विधान पारित गरि शीघ्र महाधिवेशनमा जानुको विकल्प छैन,” प्रस्तावमा उल्लेख छ ।
राजनीति जितेर चुनाव हारेको भन्दै प्रस्तावमा अहिलेको मतदाता जोगाएर कम्तिमा १५ लाख भोट थपेर एक्लै बहुमत सहितको पहिलो पार्टी बनाउनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।
‘जेठ ११ भित्र महासमिति बैठक बोलाइयोस् ’ नेपाली कांग्रेसका १५ जना केन्द्रीय सदस्यहरुले पार्टीको महासमिति बैठक आगामी जेठ ११ गतेभित्र गर्न माग गरेका छन् । मंगलबारको केन्द्रीय समिति बैठकमा १५ जना सदस्यहरुले सामूहिक रुपमा पेश गरेकोे ९ बुँदे प्रस्तावमा भनिएको छ, “महासमितिको साधारण बैठक २०७५ जेष्ठ ११ गतेभित्र सम्पन्न हुन सक्ने गरी यसको मिति र स्थान यस बैठकबाट तय गरिदिनु हुनका लागि आदरणीय सभापतिज्यूमार्फत् यस केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्ताव गर्दछौं ।” केन्द्रीय समिति बैठकमा निर्णयार्थ पेश गरिदिन उनीहरुले मंगलबार सभापति शेरबहादुर देउवालाई आग्रह गरेका हुन् । ९ बुँदे प्रस्तावको दोस्रो बुँदामा विधान विपरित गठन भएको कार्य सम्पादन समिति भंग गरी विधानबमोजिम नयाँ कार्य सम्पादन समिति गठन गर्न माग गरिएको छ । तेस्रो बुँदामा विधान विपरित गठन भएको संसदीय समिति भंग गरी नयाँ समिति गठन गर्न र चौथो बुँदामा पार्टीको केन्द्रीय निर्वाचन समिति गठनको माग गरिएको छ । त्यसैगरी विधान संशोधनको विषयमा आवश्यक राय सुझाव संकलन गर्न वैशाख महिनाभित्र सबै जिल्लाका जिल्ला सभापतिहरुको भेला गर्न पनि उनीहरुको माग छ । प्रस्तावको सातौँ नम्बर बुँदामा पार्टीको निर्णय पुस्तिकामा उपस्थितिमा मात्रै हस्ताक्षर हुने गरेको बताउँदै यसले कुनै पनि निर्णयमा कुन सदस्यको सहमति वा असहमति के भन्ने छुट्याउन गाह्रो भएको बताउँदै बैठकको निर्णय माइन्युट गरेपछि सबैले सुन्ने र हस्ताक्षरसहित सहमति वा असहमति उल्लेख गर्ने व्यवस्थाको थालनी गर्न माग गरिएको छ । केन्द्रीय सदस्य नविन्द्रराज जोशीको नेतृत्वमा तयार पारिएको प्रस्तावमा चन्द्र भण्डारी, कमला पन्त, गोविन्द भट्टराई, धनराज गुरुङ, गगन थापा, रत्ना शेरचन, बद्री पाण्डे, जीवन परियार, किरण यादव, सरिता प्रसाई, गुरुराज घिमिरे, प्रदिप पौडेल, कल्याण गुरुङ र रामकृष्ण यादवले हस्ताक्षर गरेका छन् । |