सबै नगरपालिकामा डिजिटल टेलिभिजन «

सबै नगरपालिकामा डिजिटल टेलिभिजन

सरकारले चैत दोस्रो सातादेखि राजधानीमा एनालगलाई पूर्ण विस्थापन गरी डिजिटल बनाएपछि अब भने देशभर डिजिटल अभियान सुरु भएको छ । असारभित्र सबै नगरपालिकाबाट एनालग प्रविधि हटाउने अभियानमा सूचना तथा सञ्चार प्रविधि मन्त्रलय छ । पहिलो चरणमा महानगर र उपमहानगर, दोस्रो चरणमा नगरपालिका र सबै गाउँपालिकामा डिजिटल प्रविधिमा आधारित टेलिभिजन सञ्चालन गर्न लागेको हो ।
मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले डिजिटलको लाइसेन्स लिएर एनालग सेवा दिने र एनालगमा लाइसेन्स लिएर प्रविधि अपग्रेड नगर्ने सेवा प्रदायकलाई अनुगमन गरी सेवा बन्द गराइएको बताएका छन् । असारसम्म नगरपालिका भन्दा बाहिर एनालग हेडेन भएमा डिजिटलमा रूपान्तरण गरिसक्नुपर्छ । असारभित्र देशभर नै ‘एनालग स्वीच अफ’ गरिने पनि उनले जानकारी दिएका छन् । असारपछि दूरदराजका लोकल केवल मात्रै रहन्छन् अन्यन्त्र सबै डिजिटल प्रविधिका टेलिभिजन हुनेछन् ।
मन्त्रालयका फ्रिक्वेन्सी महाशाखा प्रमुख अनुप नेपालले विकट ठाउँका लागि भने छुट्टै निर्णय गर्नुपर्ने आवश्यकता हरेको बताउँछन् । गाउँमा सूचनाको अन्य माध्यम नहुने र विकल्प नभएसम्म एनालग हटाउँदा सूचनाको हक हनन हुने हुनाले नयाँ व्यवस्था हुने तर अन्य क्षेत्रमा निर्धातिर समयमै प्रविधि रूपान्तरण गर्नुपर्नेछ ।
इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आईटीयू)ले एनालग प्रविधि खारेज गर्न आफ्ना सदस्य राष्ट्रलाई निर्देशन दिएपछि सरकारलाई डिजिटल केवल टेलिभिजन सञ्चालनमा गुर्नपर्ने बाध्यता छ । नेपाल पनि आईटीयूको सदस्य राष्ट्र हो । “एनालगभन्दा डिजिटलमा पिक्चर सफा वा क्वालिटी आउँछ, त्यति मात्रै नभएर एकै ठाउँमा बसेर सबै प्रकारको इन्कोडिङ र डिकोडिङ मिलाउन सकिन्छ,” प्रवक्ता ढकालले भने । डिजिटलाइजेसन नहुँदा आधिकारिक तथ्याङ्क आउन गाह्रो भएको छ भने सरकारले पाउनुपर्ने राजस्व पनि पाएको छैन । एनालगबाट डिजिटलमा जाँदा ग्राहकका लागि आवश्यक पर्ने सेट–टप बक्स, एन्टेनालगायत आवश्यक सामग्री ३ हजारदेखि ४ हजार ५ सयसम्म पर्छ । एनालग टेलिभिजन बन्द भएपछि ग्राहकले आफ्नो घरमा अनिवार्य रूपमा सेट अप बक्स राख्नैपर्छ । सेवामा गुणस्तरीयता हुने भए पनि सेट–टप बक्सका कारण ग्राहलाई आर्थिक भार भने पर्नेछ । काठमाडौं र विराटनगर महानगरपालिकामा एनालग प्रविधिबाट डिजिटलमा रूपान्तरण भए पनि अरू महानगर र उपमहानगर तथा नगरपालिकामा अनुगमन जरुरी रहेको मन्त्रालयले जनाएको छ ।
हालसम्म ३० लाखको हाराहारीमा विभिन्न खालका सेट–टप बक्स आयत भएका छन् । टेरेस्टेरियल, स्याटेलाइट, एमएसओ, वायरलेस, आईपी टिभी तथा पछिल्लोप्रविधि डिजिटल टेरेस्टोरियल टेभिजिन ब्रोडकाष्टिङका सेट–टप बक्स आयत हुँदै आएका छन् । टोलीले सुबिसु, सुदर्शन केबलनेट, सोनिङ केबल नेट, सीईसी, स्काई केबलनेट, स्पेसटाइम केबल नेट, काठमाडौं केबल नेटलगायतका कम्पनीले डिजिटल टेलिभिजन सेवा दिएका छन् ।
मन्त्रालयमा हाल १० ओटा डिजिटल केबल टीभी दर्ता भए पनि नेपालमा आठवटा मात्र सञ्चालनमा छन् । त्यस्तै डिजिटल टेरेस्ट्रियल टेलिभिजन ब्रोडकास्टिङमा भने चार कम्पनीले मन्त्रालयमा इजाजतपत्र लिएको छ ।
एनालग टेलिभिजन पुरानो प्रविधि हो । यसमा अडियो र भिडियोलाई एम्प्लिच्युड वा फ्रिक्वेन्सीमार्फत सिग्नल पठाइन्छ । यो एकतर्फी हुन्छ भने तस्बिर र साउन्डको गुणस्तर कम हुन्छ । एनालग केबलमा एउटै केबलबाट धेरैजनाले टिभि हेर्न सकिने हुँदा गुणस्तर कम हुन्छ । यो प्रविधि न्यून गुणस्तरीय भएकाले सन् १९५० को दशकदेखि नै विकसित देशहरूले हटाइसकेका छन् । छिमेकी देश चीन र भारतमा समेत एनालग प्रविधि हटाइसेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्