नयाँ वर्षमा चरिकोटमा सडक महोत्सव «

नयाँ वर्षमा चरिकोटमा सडक महोत्सव

नयाँ वर्षको अवसरमा चरिकोटमा आगामी चैत ३० गतेदेखि ‘सडक महोत्सव–२०७४’ को आयोजना गरिने भएको छ । नयाँ वर्ष मनाउन चरिकोट आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई लक्षित गरी चैत ३० गते महोत्सवको आयोजना गर्न लागिएको हो ।
सदरमुकाम चरिकोटबीच बजारमा आयोजना गरिने महोत्सवमा विभिन्न होटलहरूले खानाका विभिन्न परिकारहरू सडकमै तयार गरेर खुवाउने व्यवस्था मिलाइएको पत्रकार सम्मेलनमा आयोजक बुद्धनगर टोल सुधार तथा सरसफाइ समितिले बताएको छ । महोत्सवमा इन्डियन, कन्टिनेन्टल, चाइनिज, नेवारी खानालगायत दोलखाका मौलिक परिकारहरूको स्वाद लिन सकिने आयोजकको दाबी छ ।
महोत्सवमा खानाका परिकारका साथै दोलखाका मौलिक उत्पादनका सामग्रीहरूको स्टल समेत राखिने आयोजक बुद्धनगर टोल सुधार तथा सरसफाई समितिकी अध्यक्ष सविना मानन्धरले जानकारी दिइन् । महोत्सवमा सांस्कृतिक कार्यक्रम, जनप्रतिनिधिहरूलाई नागरिक अभिनन्दन, डकुमेन्टी प्रदर्शनी, स्थानीय कलाकारहरूको कन्सर्ट, विभिन्न जातजातिको भेषभूषा प्रदर्शन, दोलखाका परम्परागत नृत्य तथा झाँकीहरूको प्रस्तुति, फोटो प्रदर्शनीलगायतका कार्यक्रमहरूले समेत रहेको आयोजक समितिका सदस्य रमेश खतिवडाले बताए । चरिकोटमा पहिलो पटक सडक महोत्सव आयोजना गर्न लागिएको हो ।
चरिकोट बजार सरसफाइ अभियान सञ्चालन गर्दै टोलसुधार समितिमार्फत व्यवस्थित पनि यही टोलबाट भएको थियो । महोत्सव अवधी चैत ३० गते र वैशाख १ गते चरिकोटको मुख्य बजार सातदोबाटोदेखि पशुपतिडाँडासम्म यातायातका साधन बन्द गरिने भएको छ । यातायातका साधन सञ्चालनका लागि २ वटा वैकल्पिक रुट व्यवस्थापन गरिने उनले जानकारी दिए ।
नयाँ वर्ष मनाउनका लागि यस पालीपछि १५ हजार बढी आन्तरिक पर्यटकहरू चरिकोट आउने अनुमान छ । विगतका वर्षमा पनि नयाँ वर्ष, विदा, शुक्रबार र शनिबार चरिकोटमा हजारौं पर्यटकहरू आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्