आठ महिनामा २ लाख मेट्रिक टन ग्यास आयात

पछिल्ला ८ महिनामा मुलुकमा २ लाख मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भएको छ । बजारमा एलपी ग्यासको खपत बढ्दै गएपछि आयात दर उच्च भएको हो । सहरी क्षेत्रमा मात्र नभएर ग्रामीण क्षेत्रमा समेत ग्यासको प्रयोग बढ्न थालेपछि खपत बढ्दै गएको हो । बजारमा ग्यासको खपत बढेसँगै आयात पनि बढ्दै गएको नेपाल आयल निगमको तथ्यांकले देखाएको छ । निगमका अनुसार पछिल्लो ८ महिनामा २ लाख २८ हजार ५० मेट्रिक टन ग्यास आयात भएको छ ।
निगमका प्रवक्ता वीरेन्द्र गोइतले बजारमा ग्यासको खपत बर्सेनि बढ्दै गएको बताए । सहरी क्षेत्रमा मात्र नभएर ग्रामीण क्षेत्रसम्म ग्यासको प्रयोग बढ्दै गएकाले पनि ग्यासको खपत बढ्दै गएको उनले जानकारी दिए । वार्षिक १५ देखि २० प्रतिशतका दरले ग्यासको खपत बढ्दै गएको निगमको भनाइ छ । बिजुलीभन्दा ग्यास सस्तो पर्ने हुँदा पनि यसको खपत बढ्दै गएको हो । काठमाडौं उपत्यकामा लोडसेडिङ अन्त्य भए पनि खाना पकाउने एलपी ग्यासको आयात भने क्रमिक रूपमा बढ्दै गएको छ । निगमको तथ्यांकअनुसार जुलाईमा १४ हजार २ सय ६३ मेट्रिक टन आयात भएकोमा अगस्टमा २६ हजार ३५ टन आयात भएको थियो । सेप्टेम्बरमा ३० हजार ६ सय २१ आयात भएकोमा अक्टोबरमा २९ हजार ९ सय १६, नोभेम्बरमा ३३ हजार ८ सय ७४, र डिसेम्बरमा ३१ हजार ८ सय ९ मेट्रिक टन आयात भएको थियो ।
यस्तै जनवरीमा ३५ हजार ३ सय ५७ मेट्रिक टन र फेब्रअरीमा २६ हजार १ सय ७४ मेट्रिक टन ग्यास आयात भएको निगमले जानकारी दिएको छ । निगमको तथ्यांकअनुसार १० वर्षको अवधिमा ग्यासको खपत २ लाख टनले वृद्धि भएको छ । आर्थिक वर्ष ०६४-६५ मा ९३ हजार ८ सय ३७ टन ग्यास आयात भएको थियो । आर्थिक वर्ष ०७३-७४ सम्म आइपुग्दा २ लाख ९४ हजार टन पुगेको छ ।
निगमका अनुसार आर्थिक वर्ष ०७१-७२ मा २ लाख ५९ हजार ९ सय टन ग्यास आयात भएकोमा आव ०७३-७४ मा आएर ३ लाख १४ हजार ८ सय टन आयात भएको थियो । आर्थिक वर्ष ०७२-७३ मा भारतले गरेको नाकाबन्दीका कारण २ लाख १७ हजार टन ग्यास आयात भएको थियो । निगमका अनुसार आर्थिक वर्ष २०७३-७४ मा १९ अर्ब ४८ करोड ९७ लाख ८८ हजार रुपैयाँबराबरको ३ लाख १४ हजार ८ सय ५ टन ग्यास आयात भएको छ । छिमेकी मुलुक भारतबाट खाना पकाउने ग्यास आयात हुने गर्छ । निगमका अनुसार आव ०७२-७३ नाकाबन्दीको कारणले १२ अर्ब ९० करोड ३९ लाख २४ हजार रुपैयाँको २ लाख १७ हजार ५ सय ५८ टन ग्यास आयात भएको थियो । आर्थिक वर्ष ०७१-७२ मा २१ अर्ब ६१ करोड ३५ लाख ९ हजार रुपैयाँ बराबरको २ लाख ५९ हजार ९ सय १ टन ग्यास आयात भएको थियो भने आव २०७०-७१ मा २६ अर्ब ६ करोड ९१ लाख हजार रुपैयाँबराबरको २ लाख ३३ हजार १ सय ६१ टन आयात भएको थियो ।