दुवै कार्यदलले प्रतिवेदन बुझाए «

दुवै कार्यदलले प्रतिवेदन बुझाए

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता गर्न गठित एकता संयोजन समितिको बैठकमा दुई कार्यदलले प्रतिवेदन बुझाएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संयोजन समितिको बैठकमा वैचारिक दस्तावेज निर्माण र संगठनात्मक स्वरुप र विधान निर्माण कार्यदलले प्रतिवेदन बुझाएका हुन् ।
एमाले वरिष्ठ नेता माधव नेपाल र माओवादी केन्द्रका नेता रामबहादुर थापा संयोजक रहेका कार्यदलले एकता प्रक्रियाको अन्तिम रूपसहितको प्रतिवेदन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई बुझाएको परराष्ट्रमन्त्री तथा एमाले नेता प्रदीप ज्ञवालीले जानकारी दिए । प्रतिवेदन बुझाएसँगै कार्यदल भने भंग गरिएको छ ।
एकताका लागि धेरै कुरामा सहमति जुट्न नसकेको अवस्थामा कार्यदलले प्रतिवेदन बुझाएको बताइएको छ । बैठकमा कार्यदलले टुंग्याउन नसकेका विषय टुंगो लगाउने बताइए पनि निष्कर्ष भने निस्कन सकेन । विवादित विषयमा कुनै पनि छलफल नभएको संयोजन समितिका सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
वैशाख ९ गते नै पार्टी एकता गर्ने विषयमा छलफल भएको सञ्चारकर्मीसँग कुरा गर्दै नेता श्रेष्ठले बताए । विवादित विषयमा सहमति जुटाउन र एकता घोषणाको मिति तय गर्न बिहिबार बस्ने बैठकले टुंगो लगाउने बताइएको छ ।
दुई पार्टीबीच केन्द्रीय तहदेखि स्थानीय तहसम्म सहभागिताको अनुपात, चुनाव चिह्न र जनयुद्ध शब्दबारे सहमति जुट्न सकेको छैन । संगठन कसरी मिलाउने भन्नेबारेमा दुई पार्टीबीच सहमति जुट्न सकेको छैन । माओवादीले समानताका आधारमा (५०–५०) प्रतिशत हैसियतमा मात्र एकता गर्न सकिने प्रस्ताव अघि सारेको छ । तर एमाले माओवादीको प्रस्ताव मान्न तयार देखिएको छैन । एमाले चुनावी आँकडाका आधारमा अनुपात मिलाउने पक्षमा छ ।
एकीकृत पार्टीको अन्तरिम विधान तथा संगठनात्मक ढाँचा निर्माण कार्यदलले २९९ सदस्यीय केन्द्रीय समिति, ९९ सदस्यीय पोलिटब्युरो र ३३ सदस्यीय स्थायी समिति बनाउने गरी प्रस्ताव तयार पारेको छ । प्रस्ताव अनुसार नेता व्यवस्थापन गर्न चुनौति रहेको बताइन्छ ।
त्यसैगरी नयाँ पार्टीको चुनाव चिन्हमा पनि सहमति जुट्न सकेको छैन । एमालेले सूर्यलाई यथावत राख्न भनेको छ भने माओवादीले सूर्यभित्र हँसिया हथौडा राख्नुपर्ने बताउँदै आएको छ । माओवादी केन्द्रले १० वर्षे माओवादी ‘जनयुद्ध’ लाई पार्टीको कार्यदिशामा उपलब्धि मान्नुपर्ने बताउँदै आएको छ, जुन एमाले मान्न तयार देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्