बस दुर्घटनामा विद्यार्थीको मुत्यु

दोलखा- काठमाडौंबाट रामेछापको बाम्तिभण्डारका लागि छुटेको अरनिको यातायातको यात्रुवाहक बस ठोसे बजार नजिकै दुर्घटना हुँदा एसईई परीक्षा दिएर फर्किदै गरेका एक परीक्षार्थीको मृत्यु भएको छ भने डेढ दर्जन बढी घाइते भएका छन् । मृत्यु हुनेमा रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर २ बाम्ति भण्डार पिडाँल्नेका १७ वर्षिय सुभाष गजमेर रहेका छन् ।
स्थानीय सिद्धेस्वर माविमा अध्ययनरत गजमेरको ठोसे मावि परीक्षा केन्द्रमा परीक्षा दिएर फर्किने क्रममा दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको हो । बस पल्टिने क्रममा हाम फाल्दा ग्याविन वालमा ठोक्किएर गजमेरको मृत्यु भएको बाम्ती भण्डारबाट शिवश बस्नेतले जानकारी दिए । आइतबार दिउँसो करिब साढे २ बजे अरनिको यातायातको २६५९ नम्बरको बस गुडिरहेको अवस्थामा एक्कासि पछाडि गुडेर सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा डेढ दर्जन बढी घाइते भएका छन् । गम्भिर घाइते भएका उमाकुण्ड गाउँपालिका २ का रमेश भुजेल, बाम्ति भण्डार रत्नज्योति बजारकी बिमला तामाङ, बसका सहचालक भीमेश्वर नगरपालिकाका कृष्ण बुढाथोकीसहित ११ जनालाई उद्धार गरी थप उपचारका लागि जिरी अस्पताल पठाइएको छ । दुर्घटनामा घाइते हुने अधिकांश एसईई परीक्षा दिएर घर फर्किंदै गरेका विद्यार्थी रहेका छन् । दुर्घटनालगत्तै बसका चालक र सहचालक फरार भएको स्थानीयले बताएका छन् ।
उकालो सडकमा गुडिरहेको बस एक्कासि पछाडितर्फ ब्याक भएपछि चालक बसको स्टेरिङ छाडेर भागेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।