अलैंची खेतीमा रमाउँदै सोभितमान

तेह्रथुम-तेह्रथुमको छथर गाउँपालिका–१ आङदिमका शोभितमान श्रेष्ठ दिनभर अलैंचीको बगान रमाउने गरेका छन् । गाउँका साथीभाई पैसा कमाउन देश–प्रदेश लागे पनि उनी भने गाउँमै अलैंची खेतीमा सक्रिय भएका हुन् । उनले २०४२ सालमा इलामबाट प्रतिगोटा १ रुपैयाँका दरले अलैंचीका बिरुवा खरिद गरेर खेती सुरु गरेका थिए । सुरुका दिनमा अलैंचीबाट राम्रो आम्दानी नहुँदा निकै समस्यामा परेका उनी अहिले भने यसैमा सन्तुष्ट भएका छन् ।
२५ सयवटा अलैंचीका बिरुवा खरिद गररेर १६ रोपनी क्षेत्रफलमा खेती सुरु गरेका उनले अहिले खेती विस्तार गर्दै लगेका छन् । परिवारको साथमा रमाउँदै घर नजिकैको अलैंची बगानमा उनी दिनभर व्यस्त हुने गरेका छन् । अलैंचीको व्यावसायिक खेती थालेका उनले पहिलो उत्पादनमै ३ मन अलैंची बिक्री गरेका थिए । “आम्दानी राम्रो हुने देखेपछि थप अलैंची विस्तारमा लागें,” उनले भने, “खेती बढाउँदै लगेपछि आम्दानी पनि बढ्दै गएको छ ।” अलैंची उत्पादनबाट राम्रो आम्दानी हुन थालेपछि अन्नबाली मासेर खेतीलाई विस्तार गर्दै आएका उनले ३ वर्षअघि मात्र अलैंची बेचेर ९ लाख रुपैयाँ आम्दानी लिएका थिए । उनले रामशाही गोलशाही र डम्बरशाही जातका अलैंची खेती गर्दै आएका छन् ।
अलैंची खेतीबाट गरेको आम्दानीले उनले जेठा छोरा रेवतकुमार श्रेष्ठलाई स्नातकसम्मको अध्ययन गराएका छन् भने माइला छोरा चन्द्रबहादुर श्रेष्ठले एसएलसी र कान्छा छोरा गनिन्द्र श्रेष्ठलाई स्नातकोत्तर गराएका छन् । जेठी छोरी सकुन्तलाले पनि स्नातकोत्तर गरेकी छन् । परिवार चलाउन र छोराछोरी पढाउन साहुकोमा हात माग्न जानु नपरेकोमा उनको सन्तुष्टि मिलेको छ ।
अलैंची खेती गर्दा बीचबीचमा परेका समस्यालाई पनि उनले सहज रुपमा स्वीकार गर्ने गरेका छन् । अलैंचीमा विभिन्न समयमा लाग्ने रोगको प्रकोप नियन्त्रण गर्न उनलाई कतिपय समयमा धौ–धौसमेत पर्ने गरेको छ । तर त्यसबाट बिचलित नभई यसैमा सक्रिय हुँदै आएको उनले बताए । रोग नियन्त्रण गर्न ठाउँ–ठाउँमा सल्लाह र परामर्शका लागि पुगे पनि औषधि पाउन नसकेको उनले दुःखेसो पोखे ।
अलैंची बिक्रीबाट उनले यस वर्ष २ लाख ५० हजार रुपैयाँ आम्दानी गरेका छन् । अलैैंचीको आम्दानीबाट उनले धनकुटाको सिधुवा बजारमा १६ लाख रुपैयाँ बराबरको घडेरी खरिद गरेका छन् । खेतीलाई बिस्तार गर्दै आगामी वर्ष २० मन अलैंची उत्पादन गर्ने लक्ष्य उनले राखेका छन् ।