Logo

लकडाउन खुलेपछिको सतर्कता

सरकारले लकडाउन लागू गर्दा पनि त्यसको औचित्य जनतालाई बताएको थिएन भने अहिले हटाउँदा पनि बताइएको छैन ।

सरकारले लकडाउन खुला भएको घोषणा गरे पनि अझै केही क्षेत्रमा प्रतिबन्ध कायमै छ । कतिपयले यसलाई सरकारले कर उठाउनका लागि जनताको जीवन जोखिममा पारेको रुपमा टिप्पणी गरिरहेका छन् भने लामो लकडाउन अन्त्य गरेर अब ‘न्यू नर्मल’तर्फ लाग्नुपर्ने भएकाले सरकारको निर्णयलाई सकारात्मक रुपमा पनि लिएको देखिन्छ । यसरी सरकारको यो निर्णयसँगै समाजमा थरीथरीका टिप्पणी भइरहे पनि व्यवहारमा भने कोरोना संक्रमणको सन्त्रास अझै रहेकाले आम नागरिकले अझै केही समय सचेत रहनुपर्ने अवस्था देखिन्छ । काठमाडौं उपत्यकालगायतका तराईका जिल्लामा अझै कोरोना संक्रमण बढ्दो क्रममा रहेकाले सतर्कता अवलम्बन गर्नु आवश्यक देखिन्छ ।
लकडाउन खुलेसँगै सार्वजनिक क्षेत्रमा गतिविधि पनि बढ्ने भएकाले सरकारले पनि सेवा प्रवाहका लागि आवश्यक प्रोटोकल जारी गर्नुपर्ने देखिन्छ । सार्वजनिक बसदेखि एयरलाइन्स तथा अन्य क्षेत्रलाई लक्षित गर्दै प्रोटोकल जारी गर्ने र त्यसको प्रभावकारी कार्यान्वयनका लागि अनुगमनको व्यवस्थासमेत गर्नुपर्ने अवस्था छ । यसरी लकडाउन खुला गरेसँगै सरकारको जिम्मेवारी समाप्त भएको नभइ अरु बढेको र उत्पन्न चुनौतीका विषयमा जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने आवश्यकता छ । सरकारले चैत ११ गतेदेखि लागू गरेको लकडाउनले जनजीवन र अर्थतन्त्रमा ठूलो समस्या उत्पन्न भए पनि नेपालमा समुदायस्तरमा संक्रमण रोक्न यो प्रभावकारी उपाय भएको यथार्थलाई हृदयंगम गर्नु आवश्यक छ ।
हुन त कतिपय विज्ञहरू लकडाउन पूरै हटाउने बेला नभएको भन्दै संक्रमणको अर्को लहर फैलनसक्ने चेतावनी दिइरहेका छन् । जनसाधारण र व्यवसायीहरू भने बन्दाबन्दी हटेकोमा उत्साहित देखिन्छन् । यसलाई भने सकारात्मक रुपमा नै लिनु आवश्यक छ । अर्कोतर्फ सरकारले लकडाउन लागू गर्दा पनि त्यसको औचित्य जनतालाई बताएको थिएन भने अहिले हटाउँदा पनि बताइएको छैन । संक्रमणको अवस्था लकडाउन लागू गर्दा भन्दा हटाउँदा गम्भीर देखिएकाले सरकारले यसमा थप प्रष्ट पार्नु आवश्यक देखिन्छ । यसैले सरकारले दुवै निर्णय राजनीतिक आधारमा लिएको भन्ने आरोपका सम्बन्धमा आफ्नो भनाइ स्पष्ट पार्नुपर्छ ।
सरकारले लकडाउन हटाउँदैमा कोरोनाभाइरसको संक्रमण रोकिने अवस्था छैन र यो अझै केही समय बढ्ने जोखिम देखिन्छ । संक्रमण रोकिएर लकडाउन हटेको होइन भन्ने सन्देश सरकारले नै दिन सक्नुपर्छ किनकी यससम्बन्धी भ्रम समुदायमा पर्न गयो भने यसले झन् भयावह रूप लिनसक्छ । यसै पनि परीक्षणको घेरा साँगुरो बनाइएकोमा सरकारको रणनीतिप्रति नै आशंका उत्पन्न भइरहेकाले सरकार आगामी दिनमा पारदर्शी रुपमा प्रस्तुत हुन सकेन भने अर्को समस्या आउन सक्छ । छिमेकी मुलुक भारतमा संक्रमण डरलाग्दो गरी फैलँदो रहेकाले सीमामा विशेष सावधानी पनि उत्तिकै आवश्यक छ भने हवाई उडान सुरु भएसँगै विदेशबाट आउनेहरूको संख्या बढ्दा उत्पन्न हुनसक्ने परिस्थितिलाई बुझ्न सक्नुपर्छ । उनीहरूको परीक्षण गरेरमात्र समुदायमा पठाउने व्यवस्था हुनु आवश्यक छ । नेपालजस्तो कमजोर तयारी र पूर्वाधार भएको मुलुकमा संक्रमण फैलियो भने यसको मूल्य निकै महँगो पर्नसक्छ र नियन्त्रणभन्दा बाहिर जानसक्छ । यसैले सरकारले लकडाउन खुलायो भन्दैमा हामी खुसी हुने नभइ सचेत भएर आफ्ना गतिविधिहरू अगाडि बढाउनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्