आर्थिक वृद्धिदर झनै खुम्चियो

नेपाल डेभलपमेन्ट अपडेट २०२० |
विश्व बैंकले कोरोनाभाइरस (कोभिड–१९) का कारण गत आर्थिक वर्ष ०७६-७७ मा नेपालको आर्थिक वृद्धिदर १.८ प्रतिशतसम्ममा खुम्चिने जनाएको छ । यसअघि विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर १.५ देखि २.८ प्रतिशतका बीचमा रहने जनाएको थियो । तर, बैंकले बिहीबार ‘नेपाल डेभलपमेन्ट अपडेटः २०२०’ सार्वजनिक गर्दै नेपालको आर्थिक वृद्धिदर १.८ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरेको हो । केन्द्रीय तथ्यांक विभागले गत आर्थिक वर्षमा २.३ प्रतिशत वृद्धिदर कायम हुने प्रारम्भिक आकलन गरेको थियो ।
बैंकका वरिष्ठ अर्थशास्त्री केनी इजेमेनरीले कोभिडका कारण नेपालको अर्थतन्त्र शिथिल भएको बताइन् । उनका अनुसार नेपालको वहनशील क्षमताका कारण ‘भी सेप’को आर्थिक पुनर्वहाली हासिल गर्नेछ । यसको अर्थ आगामी वर्षदेखि बैंकले वृद्धिका लय समाउने अर्थशास्त्री केनीले जिकिर गरिन् । विश्व बैंकले विस्तारै आर्थिक पुनर्बहाली भए पनि चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा कायम हुने पनि जनाएको छ । सेवाक्षेत्र विशेषतः पर्यटन र रेमिट्यान्समा आएको कमी र औद्योगिक र कृषि उत्पादनमा हुने कमीले आर्थिक वृद्धिदर संकुचित हुने बैंकले जनाएको छ ।
प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कोभिड–१९ महामारीपछि नेपाली अर्थतन्त्र विस्तारै सामान्य लयमा फर्किने क्रममा रहेकोले चालू आर्थिक वर्षमा सरकारको लक्ष्यअनुरुप ७ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने दाबी गरे । वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयनले गर्दा आगामी वर्ष आर्थिक गतिविधि बढ्ने र सरकारका सबै लक्ष्य भेटिने बिश्वास ब्यक्त गरे । “आयोजनाहरूको कार्यान्वयन पक्षमा भइरहेका सुधारले पनि आर्थिक वृद्धिलाई माथि उठाउन सहयोग पुग्ने छ,” डा. खतिवडाले भने, “साउनदेखि नेपालको अर्थतन्त्रले लय समाउने छ ।”
सलह र प्राकृतिक विपदका कारण नेपालको कृषि क्षेत्रमा थप असर परेको भन्दै यसले आर्थिक वृद्धिदरमा प्रभाव पार्ने बताए । उनले मुद्रास्फीति भने ६ प्रतिशतमात्रै रहने विश्वास व्यक्त गर्दै सरकारले वित्तीय स्थायित्वका क्षेत्रमा काम गरिरहेको जानकारी दिए । “कोभिड –१९ को असरबाट आर्थिक सामाजिक पुनरुत्थानमा विश्व बैंक, एशियाली विकास बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले दिएको ‘¥यापिड क्रेडिट फ्यासिलिटी’ले धेरै सहयोग पुगेको छ,” उनले भने ।
कोभिडको सन्त्रासकाबीच पनि गत आर्थिक वर्षमा बजेट कार्यान्वयन सन्तोषजनक भएको खतिवडाको दावी थियो । “गत आर्थिक वर्षमा आयात घटेको छ, निर्यात बढेको छ, खर्च र राजस्वको परिचालन सन्तोषजनक छ,” उनले भने, “राजस्व चुहावटमा कमी आउँदा करदाताको संख्या बढेको छ ।” कार्यक्रममा नेपाल, माल्दिभ्स, र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जेर्भोसले संकटपछिको समयमा अझ बलियो भएर उदाउन नेपालले तुरुन्तै विकास भएका नयाँ बास्तविकतालाई आत्मसाथ गर्नुपर्ने बताए । उनले भने, “सुरुवाती चरणमा नेपाल सरकारले राहत, पुनरुत्थान, र रोकथामकालागि गरेका प्रयासले हामीलाई सहकार्य गर्न उत्साहित बनाएको छ दाता र दातृ निकाय र सरकार बीचको सहकार्यबाट नै अर्थतन्त्र अझै समृद्ध र विकासतर्फ लम्किने छ ।”सरकारले कोरोना भाइरस महामारीसँग जुध्नका लागि केही प्रयास गरेको र आर्थिक पुनर्बहालीका लागि समेत केही पहल गरे पनि त्यो पुनर्बहालीका लागि पर्याप्त नभएको बैंकको ठहर छ ।
बैंकका अनुसार गत आर्थिक बर्षमा नेपालको मुद्रास्फीति दर ६.६ प्रतिशत पुगेको छ, यो अघिल्लो वर्षभन्दा २ प्रतिशतले बढेको हो । बैंकले नेपालको कमजोर आन्तरिक राजस्व परिचालन क्षमताका कारण सन् २०२०मा ऋणभार कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ३७.९ प्रतिशत पुग्ने र सन् २०२१ मा यो अझ बढेर ४३.५ प्रतिशत पुग्ने बताएको छ ।