गत आवमा ३९ अर्बको लगानी प्रतिबद्धता

गत आर्थिक वर्षको अन्तिम चार महिना कोरोनाभाइरस (कोभिड–१९) का कारण मुलुकको अर्थतन्त्र नै ठप्प भए पनि वार्षिक तथ्यांकका आधारमा प्रत्यक्ष वैदेशिक लगानी तथा आन्तरिक लगानीमा सुधार देखिएको छ । उद्योग विभागमार्फत आउने विदेशी लगानी प्रतिवद्धता अघिल्लो वर्षको तुलनामा ५१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०७५-७६ मा २५ अर्ब ४७ करोड रुपैयाँको प्रतिवद्धता आएकोमा गत आवमा ३८ अर्ब ६५ करोड रुपैयाँँको प्रतिवद्धता आएको छ । वैदेशिक लगानी प्रतिवद्धता पर्यटन र सेवा क्षेत्रमा बढेको छ भने देशका आधारमा चीनका लगानीकर्ता नेपालमा लागानीका लागि बढी इच्छुक देखिएका छन् ।
सरकारले गत चैत ११ गतेदेखि देशव्यापी लकडाउन गरे पनि सोही अवधिमा विदेशी लगानीको प्रतिबद्धता भने आएको देखिन्छ । उद्योग विभागका अनुसार चैतदेखि असार मसान्तसम्ममा ४९ वटा उद्योगमार्फत २९ अर्ब ३१ करोड ९३ लाख ५८ हजार ८ सय रुपैयाँको कुल लगानीको प्रतिबद्धता आएको हो । जसमध्ये विदेशी लगानीको प्रतिबद्धता मात्रै ८ अर्ब ७७ करोड ६८ लाख ४८ हजार ७६२ रुपैयाँ बराबरको छ । यसबाटमात्रै २ हजार १५१ जनाले रोजगारी पाउने विभागको तथ्यांक छ ।
उद्योग विभागका प्रवक्ता विनोद खड्काले कोरोना महामारीका विचमा पनि विदेशी लगानी प्रतिवद्धता आउनुले संभावनाका ढोकाहरू खोलेको बताए । उनका अनुसार गत वर्ष २ सय २६ उद्योगका लागि २८ अर्ब ६५ करोड रुपैयाँको लगानी उद्योग विभागले स्वीकृत गरेको छ । अघिल्लो वर्ष विदेशी लगानी प्रतिवद्धता १ सय १७ वटा उद्योगमा मात्रै आएको थियो । विभिन्न मुलुकका राष्ट्र प्रमुखहरूको भेटघाट तथा ऐन कानुनको आवश्यक संशोधन तथा एकद्वार नीतिले गर्दा लगानी प्रतिवद्धता बढेको उनको अनुभव छ ।
विगतका वर्षमा उद्योगका संख्या धेरै हुने तर लगानी कम हुने परम्परा लगानीको थ्रेसहोल्ड तोकेपछि कम भएको छ । अघिल्लो वर्षसम्म ५० लाख रहेको थ्रेसहोल्ड अहिले ५ करोड पु¥याइएको छ । अघिल्लो वर्षमा कुल ३४४ वटा उद्योगका लागि २५ अर्ब ४७ करोड १४ लाख ३५ हजार ९६० रुपैयाँको विदेशी लगानीको प्रतिबद्धता आएको थियो । जसबाट १४ हजार ५४४ जनालाई रोजगारी पाउने उल्लेख थियो । सरकारले एकल सेवा विन्दु सेवा केन्द्र सञ्चालनमा ल्याएको भए पनि प्रभावकारी हुन सकेको छैन । कर्मचारी व्यवस्थापन तथा प्राविधिक जनशक्तिको अभावमा सोचेअनुसार काम भने हुन सकेको छैन ।
सेवामूलक बढी
उद्योग विभागका अनुसार सेवामूलक क्षेत्रमा मात्रै ७३ वटा कम्पनीमा कुल ११ अर्ब ३५ करोड २ लाख ३३ हजार ८ सय रुपैयाँ बराबरको विदेशी लगानीको प्रतिबद्धता आएको छ । यी कम्पनीमा कुल १२ अर्ब ५१ करोड ५० लाख ४० हजार ८ सय रुपैयाँ लगानी प्रतिवद्धता छ । पर्यटन क्षेत्रमा कुल ८१ वटा कम्पनीमा विदेशी लगानीको प्रतिबद्धता आएको छ । जसमध्ये विदेशी लगानी मात्रै १० अर्ब ९६ करोड ६९ लाख ९१ हजार ४ सय रुपैयाँ छ । सूचना प्रविधिसम्बन्धि ३७ वटा उद्योगमा विदेशी लगानीका लागि प्रतिबद्धता आएको छ । विभागमा गत आवमा उर्जा क्षेत्रका लागि ८ वटा उद्योगमा विदेशी लगानीको प्रतिबद्धता आएको छ ।
विभागका अनुसार गत आवमा कुल २३ वटा उत्पादनमूलक उद्योगमा विदेशी लगानीको प्रतिबद्धता आएको छ । यी उद्योगमा कुल पुँजी ३१ अर्ब ७८ करोड ५० लाख रुपैयाँको प्रतिबद्धता आएको छ भने विदेशी लगानी मात्रै २ अर्ब ७६ करोड ९८ लाख ६८ हजार ७५ रुपैयाँ बराबरको प्रतिबद्धता आएको छ । यो उद्योग विभागमा भित्रिएको कुल विदेशी लगानीको ७.२ प्रतिशत हो । यसबाट ९१० जनाले रोजगारी पाउनेछन् । यस्तै, कृषि क्षेत्रमा गत आवमा मात्रै विदेशी लगानी भएका ४ वटा उद्योगबाट लगानीको प्रतिबद्धता आएको छ ।