देशैभर पूर्वाधार विस्तार गर्दै आयल निगम

नेपाल आयल निगमले मुलुकका विभिन्न स्थानमा पूर्वाधार विस्तार गर्ने तयारी गरेको छ । पेट्रोलियम पदार्थको भन्डारण विस्तारदेखि निगमले कर्पाेरेसन हाउस निर्माण गर्ने तयारी गरेको हो । निगमले आगामी आर्थिक वर्षमा विस्तार गर्ने गरी विभिन्न कार्यक्रम अगाडि बढाएको छ । तीन महिनालाई पुग्ने पेट्रोलियम पदार्थको भन्डारण विस्तार गर्ने निगमको योजनाअनुरूप अहिले विभिन्न ठाउँमा भन्डारणका लागि पूर्वाधार निर्माण गर्न लागिएको हो ।
निगमका इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभागका निर्देशक पूर्णप्रसाद रिजालले पोखरा र भैरहवामा इन्धनको भन्डारण क्षमता विस्तार गर्न लागिएको जानकारी दिए । पोखरामा १० हजार किलोलिटर क्षमताको डिजेलको डिपो विस्तार गर्न लागिएको उनले जानकारी दिए । ७७ करोड लागतमा विस्तार गर्न लागिएको डिपोको लागि टेन्डर आह्वान गरिसकेको निगमले जानकारी दिएको छ । पोखरामा हाल ३ हजार ५ सय किलोलिटर क्षमताको भन्डारण रहेको छ । पोखराको क्षेत्रीय विमानस्थलका लागि दुईदेखि तीन हजार किलोलिटर हवाई इन्धनको भन्डारण बढाउन लागिएको निगमले जानकारी दिएको छ ।
भैरहवाको अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थलका लागि १० हजार किलोलिटर हवाई इन्धनको डिपो विस्तार गर्ने तयारी गरिएको छ । भैरहवामै ४ करोड ९८ लाख लागतमा ३ सय ५० किलोलिटर क्षमताको अन्डर ग्राउन्ड ट्याङ्की निर्माण गर्न लागिएको रिजालले जानकारी दिएको छ । जनकपुर, झापाको भद्रपुर र रामेछापको मन्थलीमा १५० किलोलिटर क्षमताको हवाई इन्धनको बन्डेड ट्याङ्की निर्माण गर्न लागिएको छ । नौ करोड लागतमा मन्थलीमा ३० किलोलिटर र जनकपुर र भद्रपुरमा ६०÷६० किलोलिटर क्षमताको बन्डेड ट्याङ्की निर्माण गर्न लागिएको हो । निगमको केन्द्रीय कार्यलय बबरमलमा कर्पाेरेट भवन निर्माण गर्न योजना रहेको छ । १० तलाको कर्पाेरेट भवन निर्माण गर्न लागिएको छ । यसमा सूचना प्रविधि विभाग बनाउनुका साथै कारोबारलाई डिजिटाइजेसन बनाउन लागिएको निगमको भनाइ छ । यसले गर्दा काम गर्नका लागि जनशक्ति कम लाग्ने निगमको भनाइ छ । यस्तै, थानकोटमा रहेको चार रोपनी जग्गामा तालिम केन्द्र निर्माण गर्ने तयारी गरिएको छ । यस्तै, चितवनको लोथरमा ९० हजार किलोलिटर क्षमताको पेट्रोलियम पदार्थको भन्डारण विस्तार गर्न योजना रहेको छ । यसका लागि अध्ययन भइरहेको छ ।
झापा र कन्चनपुरमा बोटलिङ प्लान्ट विस्तार गर्नका लागि कन्सल्टेन्सी हायर गरिएको निगमले जानकारी दिएको छ । हाल निगमसँग मुलुकभर ७१ हजार किलोलिटर पेट्रोलियम भन्डारणको क्षमता रहेको छ । प्राविधिक रूपमा हाल भएको भन्डारण पूर्णरूपमा राख्न मिल्दैन । झापा र कन्चनपुरमा बोटलिङ प्लान्ट बनाउने तयारी गरिएको छ ।
कहाँ कति भण्डारण क्षमता (किलोलिटरमा) विराटनगर ११९२० जनकपुर २४० अमलेखगन्ज २३२३० थानकोट २२७८० पोखरा ३४५४ भैरहवा ३६४५ नेपालगन्ज ३५३० धनगढी २५५० भद्रपुर ५४ मन्थली २७ स्रोतः नेपाल आयल निगम |
१०२५ निवेदन खारेज
आयल निगमले पेट्रोलियम पदार्थ बिक्रीका लागि नयाँ विक्रेताको लाइसेन्स खारेज गरेको छ । नयाँ पेट्रोल पम्प राख्नका लागि आएका १ हजार २५ वटा आवेदन नेपाल आयल निगमले खारेज गरेको हो । नयाँ पम्प विस्तारका लागि आवश्यक नभएका ठाउँबाट धेरै आवेदन आएको भन्दै निगमले आवेदन खारेज गरेको हो । २७६ वैशाख १७ र भदौ १० गते निगमले पेट्रोलियम पदार्थ विक्रीका लागि नयाँ विक्रेता नियुक्त गर्न आवदेन मागेको थियो । तर, अहिले पेट्रोल पम्प रहेकै क्षेत्रबाट नयाँ विक्रेता माग भएकाले आवेदन रद्ध गरिएको निगमले जानकारी दिएको छ ।
निगमको सञ्चालक समितिले नयाँ विक्रेताका लागि पर्न आएको निवेदनहरू जनसंख्या, भूगोल, सवारी साधनको तथा सडक घनत्वका आधारमा उपयुक्त नभएको ठहर गर्दै आवेदन खारेज गरेको हो । अब आवेदन दिँदा बुझाएको दस्तुर रकम निवेदकले फिर्ता लिन सक्नेछन् । निगमले अब नयाँ मापदण्ड बनाएर फेरि सूचना जारी गर्ने तयारी गरेको छ । एउटा पम्पको लागि निगमले ५० हजार शुक्क लिएको थियो । विक्रेता विनियमावली अनुसार आवश्यक परेको ठाउँमा पुनः पम्पको लागि आवेदन खुला गर्ने निगमले जानकारी दिएको छ ।