सहकारी संस्था हस्तान्तरण «

सहकारी संस्था हस्तान्तरण

डिभिजन सहकारी कार्यालय बागलुङले स्थानीय तहलाई सहकारी संघ, संस्था हस्तान्तरण सुरु गरेको छ । कार्यालयले बुधबार बेनीमा आयोजना गरेको कार्यक्रममा आफ्नो कार्यक्षेत्रमा पहिलो पटक म्याग्दीको रघुगंगा गाउँपालिकाका सहकारी संघ, संस्थालाई स्थानीय तहमा हस्तान्तरण गरेको हो ।
सहकारी विभागका उपसचिव आनन्द सारु र डिभिजन प्रमुख विष्णुप्रसाद शर्माले जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी र प्रजिअ कृष्णप्रसाद अधिकारीमार्फत रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी र प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद चापागाईंलाई सहकारी संस्थाको अभिलेख विवरण हस्तान्तरण गरेका हुन् ।
संघीयता कार्यान्वयनसँगै बनेको सहकारी ऐन २०७४ अनुसार सहकारी संस्था दर्ता, नियमन, खारेजी, संरक्षण, प्रवद्र्धनको अधिकार स्थानीय तहमा रहेकाले ऐन कार्यान्वयनका लागि अभिलेख हस्तान्तरण सुरु गरिएको डिभिजन प्रमुख शर्माले बताए ।
डिभिजनअन्तर्गत म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वतमा १ हजार ६९ वटा सहकारी संस्था दर्ता भएकोमा म्याग्दीमा २ सय बढी सहकारी छन् । रघुगंगाका २१ वटा सहकारी संस्था गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।
डिभिजनको आयोजनामा बेनीमा स्थानीय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतका लागि सहकारीसम्बन्धी ऐन, नियमका बारेमा दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । अन्य स्थानीय तहमा पनि अभिमुखीकरण र हस्तान्तरणको तयारी भएको डिभिजनले जनाएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख केसीले स्थानीय तहले रोजगारी सिर्जना, आयआर्जन, गरिबी निवारण र सामाजिक परिवर्तनका लागि सहकारी संस्था परिचालनमा प्राथमिकता दिनुपर्ने बताए । प्रजिअ अधिकारीले संविधानले दिएको अधिकारको प्रयोगका लागि स्थानीय तह सक्षम बन्न क्षमता विकास गर्नुपर्ने बताए । बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले संस्था हस्तान्तरणसँगै जनशक्तिको समेत व्यवस्था गर्न माग गरे । जिल्ला सहकारी संघका अध्यक्ष दिपक कार्कीले स्थानीय तहले छिटो सहकारीसम्बन्धी ऐन निर्माण गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्