निगमलाई १५ दिनमा १५ करोड नाफा

नेपाल आयल निगमले १५ दिनको अवधिमा १५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । इन्धन बिक्रीबाट निगमले नाफा कमाएको हो । निगमले नाफा आर्जन गरेपछि पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य केही वृद्धि भए पनि स्थानीय बजारमा वृद्धि गरेको छैन ।
इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले १६ मार्चमा पठाएको नयाँ मूल्य सामान्य बढेर आए पनि स्थानीय बजारमा भने निगमले साविककै मूल्य कायम गरेको हो । मूल्य बढाउँदा उपभोक्तालाई मार पर्न सक्ने भन्दै निगमले साविककै मूल्यमा इन्धन बिक्री गरिरहेको जनाएको छ । आइओसीले पठाएको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटरमा ८२ पैसा र डिजेलमा ५० पैसा बढेर आएको छ । आइओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्य पठाउने गर्छ । सोही मूल्यअनुसार निगमले स्थानीय बजारमा मूल्य समायोजन गर्छ । निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहले मूल्य बढेर आए पनि उपभोक्ताको हितलाई ध्यानमा राखेर साविककै मूल्य कायम गरिएको बताए । तर, निगमको नाफा भने घटेको छ । १५ दिनमा १५ करोड नाफा कमाएको निगमको नाफा अहिले १० करोड ७९ लाख रुपैयाँमा झरेको छ ।
निगमलाई डिजेल र खाना पकाउने एलपी ग्यासबाहेक सवै पेट्रोलियम पदार्थमा नाफा छ । पेट्रोल प्रतिलिटरमा २ रुपैयाँ ९४ पैसा, मट्टितेल प्रतिलिटरमा १५ रुपैयाँ ५८ पैसा, हवाई इन्धन आन्तरिकमा ३४ रुपैयाँ ७२ पैसा नाफा छ । तर डिजेल प्रतिलिटरमा ४१ पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १ सय १९ रुपैयाँ घाटा छ ।
भारतको तुलनामा नेपालमा पेट्रोल प्रतिलिटरमा २३ रुपैयाँ ३४ पैसा र डिजेल प्रतिलिटरमा २६ रुपैयाँ ५२ पैसा सस्तो छ । नेपालमा इन्धनको मूल्य सस्तो हुँदा तस्करीमा भारतमै तेल जाने गर्छ । यस्तै हवाई इन्धन आन्तरिकमा प्रतिलिटरमा १० रुपैयाँ ३८ पै-मट्टितेल ८३ रुपैयाँ, हवाई इन्धन आन्तरिक प्रतिलिटरमा ९५, हवाई इन्धन वाह्य १ सय र ग्यास प्रतिसिलिन्डर १ हजार ३ सय ७५ रुपैयाँ रहेको छ ।