के छैन १ नम्बर प्रदेशमा

विराटनगगर- देशका ७ प्रदेशमध्ये प्रदेश नम्बर १ धार्मिक, पर्यटन र औद्योगिक व्यापारको हिसाबले अब्बल देखिएको छ । यहाँ कृषि, जलस्रोत र पर्यटनको प्रचुर सम्भावना छ ।
प्रदेशमा ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुसहित तीमान जिल्ला हिमाल, उदयपुर, खोटाङ, ओखलढुंगा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलामसहित आठ जिल्ला पहाड तथा झापा, मोरङ र सुनसरी तराईका जिल्ला हुन् । एक महानगरपालिका, दुई उपमहानगर, ४६ नगर र ८८ वटा गाउँपालिका सो प्रदेशमा छन् । २५ हजार ९ सय ५ वर्ग किलोमिटर क्षेत्रफलको यो प्रदेशको जनसंख्या ४५ लाख ३४ हजार ९ सय ४३ छ । विं सं. २०६८ को जनगणनानुसार जनघनत्व १७५ दशमलव ०६ छ । प्रदेश नम्बर १ को जनसंख्या र भौगोलिक क्षेत्रफलले नेपालको १७ प्रतिशत हिस्सा ओगटेको छ । प्रदेशमा साक्षरता दर ६५ प्रतिशत छ । प्रदेशमा भौगोलिक, हावापानी, सभ्यता, संस्कृतिको विविधता छ । त्यसैले सामथ्र्यका दृष्टिले प्रदेश नं. १ अत्यन्त सम्भावनायुक्त रहेको अर्थशास्त्री डा. अर्जुन बरालले बताए । यहाँ सप्तकोसी जलाधार क्षेत्र र २० हजार मेगावाटको विद्युत् उत्पादन क्षमता, विश्वको सर्वोच्च शिखर सगरमाथासहित ८ हजार मिटरमाथिका ५ हिमाल मकालु, लोत्से, कन्चनजंगा र कुम्भकर्ण हिमाल छ । सगरमाथा राष्ट्रिय निकुञ्ज, कन्चनजंघा संरक्षण क्षेत्र र कोसी टप्पु वन्यजन्तु आरक्ष यहीं छ । धनकुटाको त्रिवेणीबाट सुरु भएर चीनको तिब्बतसम्म पुगेको एसियाकै लामो अविच्छेदित पर्वत र यही पर्वत शृंखलामा छ भने गुराँसको राजधानी तीनजुरे–मिल्के जलजले क्षेत्र तथा जैविक विविधताले भरिपूर्ण वन जंगल यहीं पर्छन् । नेपालको कुल निकासीको ४१ दशमलव ४ प्रतिशत प्रदेश १ को छ ।
देशको सबैभन्दा होचो केचनावधदेखि विश्वकै सर्वोच्च शिखर सगरमाथा पनि १ नम्बर प्रदेशले प्राप्त गरेको छ । यस हिसाबले पर्यटनको सम्भावना प्रचुर छ १ नम्बर प्रदेशमा । “१ नम्बर प्रदेशमा भएका स्रोत साधनलाई सदुपयोग गर्दैै अगाडि बढियो भने हामी छिट्टै आर्थिक रुपमा सम्पन्न हुन्छौंं,” सांसदसमेत रहेका उद्योगी मोती दुगड भन्छन्, “तर अब राजनीतिक मुद्दामा अलमलिनु हुँदैन । स्थानीय, प्रदेश र संघको सरकार बनिसकेकाले अब सबैको ध्यान आर्थिक विकासमा हुनुपर्छ ।”
औद्योगिक, पर्यटन, ऊर्जा, कृषि, धार्मिक पर्यटन, भौतिक संरचनाको विकास सबै कोणबाट हेर्दा यो प्रदेशले धेरै सम्भावना बोकेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ उपाध्यक्ष राजेन्द्र राउतको ठम्याइ छ । “अब हामीले थियो र छ भनेर मख्ख पर्ने होइन काम गर्ने बेला आएको छ,” राउत भन्छन्, “कुन–कुन क्षेत्रमा लगानी बढाउँदा प्रदेशको मात्रै होइन समग्र देशको आर्थिक विकास हुन्छ भनेर पहिला पहिचान गर्नु आवश्यक छ ।” राउतकै शब्दमा यो प्रदेशको सामाजिक जनजीवनमा जुन प्रकारको विविधता र समग्रता पाइन्छ यो अर्को उल्लेख पक्ष हो । उत्तरी छिमेकी र दक्षिणी छिमेकीसँग आर्थिक सामाजिक, कारोबार बराबरी हुन सक्ने सम्भावनाको प्रचुरता पाइन्छ । जोगबनीदेखि किमाथांकासम्मको राजमार्गलाई विस्तार गरे अन्तर्राष्ट्रियस्तरमा समेत यो प्रदेश एउटा गहकिलो आर्थिक नाकाको रूपमा स्थापित हुने नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित उपाध्यक्ष किशोर प्रधानले बताए । प्रधानले नै दुई दशकअघिदेखि यो नाका निर्माणको आवाज उठाएका थिए । “विश्वको ठूलो आर्थिक हिस्सा ओगटेको दुई राष्ट्रबीचको यो मितेरी पुल बन्नेसमेत हुँदा यो प्रदेश नयाँ नेपालको सबै दृष्टिकोणले नम्बर एकै हुने विश्वास लिन सकिन्छ,” उनी भन्छन्, “तर, आर्थिक समृद्धिका लागि विविध कुराहरूमा दुरगामी सोच, परिकल्पना र साकार बनाउन नेतृतवमा दृढ इच्छाशक्ति आवश्यक हुन्छ ।” यसलाई परिपूर्ति गर्न यहाँको जनजीवन र नागरिक समाजले आफ्नोतर्फबाट समेत रचनात्मक पहल भने गर्नु अत्यावश्यक देख्छन् प्रधान ।
मध्यपहाडी लोकमार्गले १४ जिल्लामध्ये ९ वटा जिल्ला भएर जान्छ भने, पूर्व–पश्चिम राजमार्गले तराईका जिल्लामा यातायात सुविधा दिएकै छ । मध्यपहाडी लोकमार्ग, पूर्व–पश्चिम राजमार्गलगायत यातायातका लागि अन्य स–साना स्थानीय सडकले सबै जिल्लालाई जोडेको छ । निर्माणधीन मध्यपहाडी लोकमार्ग यस क्षेत्रको पहाडी जिल्लाहरूको विकासको मेरुदण्ड हो । यस प्रदेशमा पर्ने सुनसरी र मोरङ जिल्ला पुराना औद्योगिक जिल्लाहरू हुन् । १ नम्बर प्रदेशमा मोरङको विराटनगर, झापाको भद्रपुर, ताप्लेजुङको सुकेटार, भोजपुरको टक्सार, संखुवासभामा तुम्लिङटार, खोटाङमा लामिडाँडा, खाडीडाँडा र थामखर्क, सोलुखुम्बुमा नाम्चेसहित १३ वटा विमानस्थल छन् । तीमध्ये विराटनगर विमानस्थललाई तत्काल अन्तर्राष्ट्रियस्तरको सेवा प्रदान गर्न ट्रान्जिट विमानस्थलको अवधारणालाई अघि सारेर सुरु गरिहाल्नुपर्ने आवश्यकता देखिन्छ । तर, यसतर्फ कसैको ध्यान जान नसकेको पर्यटन व्यवसायी पुण्य भट्टराई बताउँछन् । यो क्षेत्रका उद्योगी व्यवसायीहरूले स्तरोन्नति गरेर अन्तर्राष्ट्रियस्तरको बनाउन माग गर्दै आए पनि त्यो पूरा हुन सकेको छैन । हालकै विमानस्थलको भौतिक संरचनालाई प्रयोग गर्दै ट्रान्जिटस्तरको अन्तर्राष्ट्रियकरण गर्न सकिने भट्टराईको कथन छ ।
धार्मिकस्थल
प्रदेश नं १ धार्मिक क्षेत्रको हिसाबले निकै महत्वपूर्ण मानिएको छ । प्रदेशमा ताप्लेजुङको पाथीभरादेखि खोटाङको हलेसी हुँदै सुनसरीको बराहक्षेत्र, बूढासुब्बा, पिण्डेश्वरीजस्ता महत्वपूर्ण धार्मिक क्षेत्र छन् । प्रदेशमा धनकुटाको छिन्ताङदेवी, मोरङको सुनवर्षी, झापाको कन्काई धाम, शिवसताक्षीजस्ता धार्मिक क्षेत्र छन् । पाथीभरा र हलेसीमा मात्रै हरेक वर्ष हजारौं आन्तरिक र बाह्य धार्मिक पर्यटकहरू आउने गर्छन् ।
पर्यटनमा सम्भावनै सम्भावना
उच्च सगरमाथादेखि देशकै होचो भूभाग झापाको केचनासम्म रहेको सो प्रदेशमा पर्यटनको प्रचुर सम्भावना बोकेका धेरै स्थान छन् । मोरङका मिक्लाजुङ डाँडा, जेफाले डाँडा र बेतेना सिमसार, झापाको केचनाकलन, जामुनखाडी सिमसार र अर्जुनधारा, इलामका अन्तुडाँडा र कन्याम, पाँचथरको जोरपोखरी, ताप्लेजुङको पाथीभरा र कञ्चनजंघा हिमशृंखला क्षेत्र, सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्र, धनकुटाका भेडेटार र नाम्जे, भोजपुरका ट्याम्के र मैयुङ डाँडा, तेह्रथुमको गुराँसको राजधानी तीनजुरे, मिल्के र जलजले क्षेत्र, संखुवासभाका सभापोखरी, मत्स्यपोखरी र जौबारी महादेव गुफा, सोलुखुम्बुका सगरमाथा, ल्होत्से र चोयु हिमाल, खोटाङका बराहपोखरी र ट्याम्के डाँडा, उदयपुरका जाल्पादेवी, लिम्पाटार र रौतापोखरी तथा ओखलढुंगाको सतासीधामजस्ता पर्यटन क्षेत्र प्रचुर सम्भावना बोकेका क्षेत्र हुन् । सगरमाथा, मकालु, कञ्चनजंघालगायतका हिमालले हरेक दिन पर्यटकलाई आकर्षित गरिरहेका हुन्छन् । भेंडेटारमा त आन्तरिक र भारतीय पर्यटकका कारण विशेष गरी विदाको दिन पाइला राख्ने ठाउँ हुँदैन । यहाँ पर्यटन क्षेत्रमा लगानी गर्नेको ओइरो नै लागेको छ ।
खाद्यन्नमा प्रदेश नै आत्मनिर्भर हुनसक्छ
तराईका झापा, मोरङ र सुनसरी अन्न उत्पादनका भण्डार मानिन्छन् । कृषिमा आधुनिकीकरण गर्दै उत्पादन बढाउने हो भने यी जिल्लाले सिंगो प्रदेशलाई नै खाद्यान्नमा आत्मनिर्भर बनाउन सक्ने क्षेत्रीय कृषि निर्देशनालय विराटनगरको भनाइ छ । यी क्षेत्रमा वार्षिक सरदर १२ लाख बढी मेट्रिक टन धान उत्पादन हुन्छ । प्रदेशमा मकै, गहुँ, अमलिसो, अदुवा, अलैंची, चिया, आलुलगायत पनि उत्पादन हुन्छ । कृषि, पर्यटन, शिक्षा, उद्योग, जलस्रोत, जातीय र सांस्कृतिक विविधता, सामाजिक बनोट र पर्यावरणीय हिसाबले प्रदेश नम्बर १ सबैभन्दा अगाडि छ । कृषिको आधुनिकीकरण गर्ने हो भने तीनले मात्रै यो प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सक्छ । यस वर्ष मात्रै १ नम्बर प्रदेशमा १२ लाख ४० हजार मेट्रिक टन धान फलेको छ । धान उत्पादनका लागि मात्रै होइन, मकै, गहुँ, दाल र अन्य तरकारीजन्य उत्पादनका लागि १ नम्बर प्रदेशलाई अरू प्रदेशले भेट्दैनन् । साढे २ दशकअघिसम्म यो क्षेत्रबाट धान, गहुँ, तोरीलगायतका कृषिजन्य उत्पादन निर्यात हुन्थ्यो । तर, वैदेशिक रोजगारीप्रतिको आकर्षण, सरकारी नीति, सिंचाइ सुविधालगायतका कारण कृषिप्रतिको आकर्षण घट्दै गयो र, फलस्वरूप निर्यात घट्दै गई आयातमा बाँच्नुपर्ने अवस्था सिर्जना भयो । सरकारी नीतिमा परिवर्तन, कृषिको आधुनिकीकरण र यान्त्रीकरण, कृषकलाई प्रोत्साहित, सिंचाइ, समयमै मल र उन्नत जातको बिउ उपलब्ध गराउन सके साढे २ दशकअघिकै अवस्थामा पुग्न सकिने मोरङ व्यापार संघका पूर्वअध्यक्ष अविनाश बोहरा बताउँछन् । खेतीयोग्य जमिनलाई बाँझो राख्न नपाउने, जथाभावी हुने प्लटिङमा रोक, आवास र खेतीयोग्य जमिनको वर्गीकरण गरिनुपर्ने उनको भनाइ छ । “यसो गरेमा यो प्रदेशको उत्पादनले अन्य प्रदेशका जनतालाई पनि पुग्छ,” उनी भन्छन्, “कम्तीमा कृषिजन्य वस्तुको आयातलाई प्रतिस्थापन गर्न सकियो भने पनि धेरै हदसम्म विदेशमा पसिना बगाएर नेपाली युवाले पठाएको रुपैयाँ स्वदेशमै अडिन्थ्यो ।” विशेष गरी धान, गहुँ, कमै, दाल, मुसुरो दाल, चिया, अदुवा, मम्लिसो, अलैंची यो क्षेत्रका मुख्य उत्पादन हुन् । “माटोको उर्बरतालाई सही रूपमा प्रयोग गरे निश्चय नै १ नम्बर प्रदेश अन्नको भण्डारका रूपमा स्थापित हुनेछ,” बोहराले भने, “त्यसका लागि कृषि क्षेत्रलाई प्रोत्साहित गर्ने उचित नीति नियम निर्माण हुनु जरुरी छ ।”
हजारौंलाई रोजगारी दिने उद्योगमा सम्भावना
उद्योग व्यवसायको सम्भावना देखेरै दर्जनौं मारवाडी परिवार राजस्थानबाट यो क्षेत्रमा आएर स्थायी बसोबास गरेको पाइन्छ । विराटनगर जुट मिलको स्थापनासँगै नेपालको आधुनिक औद्योगिक इतिहासको रूपरेखा कोरिएको हो । वि.सं. १९९३ असार ३० गते विराटनगर जुट मिल देशकै सबैभन्दा पहिलो उद्योगको रूपमा स्थापना भएको पाइन्छ । यो उद्योगको स्थापनासँगै जुट, चिनी, सलाई, स्टिल, भाँडा, धागो, कपडा, फलामलगायतका उद्योगहरू खुले । “यसरी बाहिरबाट आएका व्यक्तिहरूको समेत उद्योग व्यवसायमा रुची बढ्नु निर्यातमा सहज हो,” उद्योगी उद्योगी महेश जाजु । “यो क्षेत्रमा विराटनगर, काँकडभिट्टा र पशुपतिनगर मुख्य तीनवटा नाका भएकाले आयात निर्यातमा सहजता छ,” जाजुले भने । कृषिजन्य उद्योगका लागि पनि १ नम्बर प्रदेशले प्रचुर सम्भावना बोकेको मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाको भनाइ छ । “जुट, चिनी, अदुवा, चियालगायतका कृषिजन्य उद्योगहरूका लागि उपयुक्त स्थान १ नम्बर प्रदेश नै हो,” उनले भने, “जडीबुटीजन्य उद्योगहरू पनि स्थापना गर्न सकिन्छ ।” कृषिजन्य उद्योगका रूपमा रहेका जुट उद्योगले हरेक वर्ष ५ अर्ब रूपैयाँ बराबरका तयारी सामग्री निर्यात गर्छन् । यसले पनि नेपालको व्यापार घाटालाई केही हदसम्म कम गरेको नेपाल जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाको ठम्याइ छ । मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा मात्रै सञ्चालित यी उद्योगहरू पछिल्लो समय धाराशायी बन्दै गएका छन् । लोडसेडिङ, मजदुर अभाव, प्रतिस्पर्धात्मक क्षमतामा आएको ह्रास, बजार र कच्चापदार्थको अभावलगायतका समस्याले यी उद्योगहरू ग्रस्त छन् । जुटखेतीलाई प्रोत्साहित गरी जुट विकास बोर्ड स्थापना र लोडसेडिङ अन्त्य भए जुट उद्योगको सम्भावना पनि उत्तिकै रहेको गोल्छाले बताए । मोरङ–सुनसरी औद्योगिक क्षेत्रसहित १ नम्बर प्रदेशमा झन्डै एक हजारको हाराहारीमा साना–ठूला उद्योग छन् । यी उद्योगहरूमा १ लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । विशेष आर्थिक क्षेत्र, लोडसेडिङ अन्त्य, दक्ष जनशक्ति, भौतिक संरचनाको विकासलगायतका सुविधा प्राप्त भए १ नम्बर प्रदेशमा ओद्योगिक विकासको प्रबल सम्भावना रहेको मोरङ व्यापार संघका महासचिव नविन रिजाल बताउँछन् । यो क्षेत्रमा सिमेन्ट र कृषिजन्य उद्योगको प्रचुर सम्भावना देख्छन् उनी । मधेस, पहाड र हिमालसम्म सडक सञ्जाल पुगेको प्रदेशमा उत्तर दक्षिणका ठूला व्यापारिक नाकाका कारण अझै व्यापक बनेको छ । चीनको नाका किमाथांका, ओलाङचुङ्गोला तथा दक्षिणमा पशुपतिनगर, काँकडभिट्टा, जोगबनी तथा भण्टाबारी नाका चर्चित छन् । उत्तरका नाका चालु अवस्थामा नभए पनि दक्षिणका नाका अहिले सञ्चालनमै रहेको छ । सडक सञ्जाललाई व्यवस्थित बनाउँदै उत्तर चीनसँग जोडिएका नाका पनि सञ्चालनमा ल्याउन सके यस प्रदेशमा अझै औद्योगिक व्यापार फस्टाउने विज्ञ अर्थशास्त्री डा. भेषप्रसाद धमला बताउँछन् ।
ऊर्जाबाटै प्रदेश समृद्ध
बढी विद्युत् उत्पादनको सम्भावना १ नम्बर प्रदेशले बोकेको छ । यस प्रदेशमा १० वटा ठूला जलाशययुक्त आयोजनाबाट मात्र ७ हजार ५ सय मेगावाट बिजुली उत्पादन सम्भावना रहेको छ । ३ हजार ४ सय ८९ मेगावाट क्षमताको सप्तकोसी उच्च बाँध, १ हजार ३ सय ५७ मेगावाटको सुनकोसी–१, ७ सय ६२ मेगावाट तमोर, ६ सय ९६ मेगावाट तमोर–१ आयोजना यस प्रदेशमा पर्दछन् । त्यसैगरी कन्काई (८४), दूधकोसी–१ (३००), दूधकोसी–२ (३००), माई (६२), अपर माई (५३), तमोर–३ (१८६) लगायत आयोजनाको सम्भावना यस प्रदेशले बोकेको छ । ऊर्जामा मात्रै लगानी बढाउने हो भने एक नम्बर प्रदेशका जनताले अरु गर्न पर्दैन भन्छन् ऊर्जाका जानकार राकेश सुराना । उद्योग संगठन मोरङका ऊर्जा समिति संयोजकसमेत रहेका सुरानाकै शब्दमा १ नम्बर प्रदेशमा २ हजार मेगावाटभन्दा बढी पाइप लाइनमा छन् । अरुण तेस्रो निर्माणको प्रक्रियामा अगाडि बढिसकेको छ । जहाँबाट ९ सय मेगावाट विद्युत् उत्पादन हुने अनुमान छ । त्यसका लागि अध्ययनसमेत भइसकेको छ । प्रदेशमा निर्माणाधिन विद्युत् आयोजनाहरू समयमै सम्पन्न भए अबको २ वर्षमा लोडसेडिङ पूर्ण रूपमा अन्त्य हुने देखिएको छ । अहिले १ नम्बर प्रदेशमा विद्युत् उत्पादन ४० मेगावाट छ । तर अबको २ वर्ष अर्थात आर्थिक वर्ष २०७५-०७६ को अन्त्यसम्ममा पूर्वमा निर्माणाधिन आयोजनाबाट मात्रै ३ सय ५ मेगावाट विद्युत् उत्पादन हुनेछ । ऊर्जा मन्त्रालयको तथ्यांकअनुसार पूर्वमा १ सय ८० मेगावाट विद्युतको माग छ । विद्युत् मागको प्रतिशत १५ मात्र छ । ३ वर्षमा विद्युत् माग बढेर २ सय ७३ मेगावाट पुग्नेछ । हाल १ नम्बर प्रदेशका लागि भारतबाट झन्डै १ सय ३० मेगावाट विद्युत् आयात भइरहेको छ । मागअनुसार विद्युत् आपूर्तिका लागि आयोजनाहरू समयमै सम्पन्न गर्नुपर्ने देखिन्छ । ऊर्जा मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६ को अन्त्यसम्ममा १ नम्बर प्रदेशबाटै अरुण र सप्तकोसीका ठूला आयोजनाबाहेक साना आयोजनाबाट मात्रै ४ सय ७६.७३ मेगावाट विद्युत् उत्पादन हुनेछ । त्यतिबेलासम्ममा विद्युत् मागको १५ प्रतिशतले वृद्धि हुने प्रक्षेपणअनुसार ३ सय १४ मेगावाट आवश्यक पर्नेछ । प्रस्तावित आयोजना र ठूला आयोजनाहरूको निर्माण सम्झौता हुने र निर्माण कार्य सम्पन्न हुने हो भने १ नम्बर प्रदेशमा मात्रै अबको दशकभित्रै झन्डै २१ सय मेगावाट विद्युत् उत्पादन हुने सम्भावना छ । १ नम्बर प्रदेशमा यतिका आयोजना निर्माण सम्पन्न हुने हो भने मात्रै पनि यस क्षेत्रको आर्थिक वृद्धिदर बढ्ने र भारतलाई झन्डै १ हजार मेगावाट विद्युत् बेच्न सकिन्छ । देशभरलाई पुग्नेभन्दा निकै बढी बिजुली १ नम्बर प्रदेशमै उत्पादनको सम्भावना देखिए पनि उत्पादन प्रवद्र्धन गर्न सरकारले नसकेको ऊर्जासम्बन्धी जानकार सुरानाको भनाइ छ । प्रदेशका खोला र नदीहरूबाट मात्रै २० हजार मेगावाटभन्दा बढी बिजुली उत्पादनको क्षमता रहेको अनुमान गरिएको छ । त्यसमा पनि सप्तकोसीमा मात्रै ४ हजार ६ सय मेगावाट बिजुली उत्पादनको पहिचान भएको छ । १ नम्बर प्रदेशको इलाम, पाँचथर, संखुवासभामा धेरैजसो विद्युत् आयोजना सञ्चालन तथा निर्माणाधिन छन् ।
शिक्षा र स्वास्थ्यमा पनि अब्बल
केही वर्षअघिसम्म यो क्षेत्रका अभिभावकले आफ्ना छोराछोरीलाई अध्ययनका लागि काठमाडौंसहित भारतका विभिन्न सहरमा पठाउँथे । राम्रो उपचारका लागि भारत र काठमाडौं जानुपर्ने बाध्यता पनि थियो । तर, पछिल्लो समय शिक्षा र स्वास्थ्यमा थपिएको लगानीले यो क्षेत्रका बासिन्दाले उपचारकै लागि अब भारत र काठमाडौं जानुपर्ने अवस्था छैन । स्तरीय शिक्षा र स्वास्थ्य सेवा उपलब्ध छ । स्तरीय इन्जिनियरिङबाहेक अन्य सबै अध्ययन हुन्छ यो क्षेत्रमा । वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान, नोवेल मेडिकल कलेज र विराट मेडिकल कलेज गरी ३ वटा मेडिकल कलेजसमेत स्थापना भइसकेका छन् । झापाको विर्तामोडमा सुविधासम्पन्न बीएनबी हस्पिटल सञ्चालनमा आएको छ । यसले बर्सेनि भारतको सिलीगुढीसहित पश्चिम बंगाल जाने बिरामीलाई रोकेको छ । हरेक वर्ष स्वास्थ्य उपचार र शिक्षाका नाममा विदेशिने नेपाली मुद्रालाई समेत रोकेको हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल बताउँछन् । “गुणस्तरीय शिक्षा लिनकै लागि अब काठमाडौं र भारतका विभिन्न सहर जानुपर्दैन,” उनी भन्छन्, “घरमै बसीबसी थोरै शुल्कमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने वातावरण बनिसकेको छ ।” यसले अभिभावकलाई समेत आर्थिक बोझ नहुने उनको तर्क छ । गाउँ–गाउँमा निजी विद्यालय र हस्पिटलको विस्तारले आमसर्वसाधारणलाई सहजता हुँदै गएको छ । मोरङ, झापा र सुनसरी, उदयपुरलगायतका स्थानमा बढी शिक्षा र स्वास्थ्यमा लगानी थपिँदै गएको छ । “लगानीअनुसारको सेवा–सुविधामा ध्यान दिइयो भने यो क्षेत्रका जनताले अब शिक्षा र स्वास्थ्यका लागि बाहिर गएर पैसाको खोलो बगाउनु पर्दैन,” प्याब्सन मोरङका उपाध्यक्ष प्रेमलाल सुवाल भन्छन्, “यी दुई क्षेत्रमा पर्याप्त भौतिक संरचनाको विकास भइसकेको छ र लगानी पनि भएको छ । अब मात्र सेवालाई व्यवस्थित गरिनुपर्छ ।” विराटनगरका विराट, नोवेल, न्यूरो, ग्रिनक्रस, लाइफगार्ड, हाम्रो, गोल्डेन, सप्तकोसी, विराटनगर आँखा, एम्सलगायत अस्पतालहरूले सेवा दिइरहेका छन् ।
सरकारीस्तरको कोशी अञ्चल अस्पतालले पनि निम्न आयस्रोत भएका व्यक्तिलाई उपचार अभावकै कारण मृत्यु हुनबाट जोगाइराखेको छ । पल्छिल्लो आक्रमक लगानीले शिक्षा र स्वास्थ्यका लागि यो प्रदेशका जनताले अर्को प्रदेश टेक्नु नपर्ने वातावरण निर्माण हुँदै गएको देखिन्छ । कोशी अस्पताललाई टिचिङ हस्पिटल र पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालनको पनि तयारी भइरहेको छ । प्रदेश नम्बर १ मा पूर्वाञ्चल विश्वविद्यालय र तीनवटा मेडिकल कलेज सञ्चालनमा छन् ।
जातीय र सांस्कृतिक विविधता
प्रदेश १ मा जातीय र सांस्कृतिक विविधता पाइन्छ । नेपालका प्राय सबै जातिको बसोबास रहेको यस प्रदेशमा बढी संख्या क्षेत्रीको छ । नेपालको जनगणना २०६८ अनुसार दोस्रोमा राईको जनासंख्या छ । क्षेत्रीको जनसंख्या ६ लाख ६९ हजार ९ सय ९८, राईको जनसंख्या ५ लाख १३ हजार ४ सय ५६ छ । बाहुन ५ लाख ७ हजार ९ सय ६३, लिम्बू ३ लाख ६४ हजार ८ सय ३०, तामाङ १ लाख ९४ हजार १ सय ३७, मगर १ लाख ८९ हजार २ सय ५० र थारु १ लाख ८८ हजार ३ सय ५५ बसोबास गछन् । यी मुख्य जातिहरूका अलावा यो प्रदेशमा पहाडे दलित ६.११ प्रतिशत, मधेसी दलित ३.१३ प्रतिशत, मुस्लिम ३.१५ प्रतिशत छन् । नेपालमा पाइने प्रमुख जाति यस प्रदेशमा बसोबास गर्दछन् । जातीय र सांस्कृतिक विविधताले प्रदेशलाई थप बलियो बनाएको छ भन्छन् संस्कृतिविद् प्रविणनारायण चौधरी ।