सहकारीमार्फत सहुलियत कर्जा परिचालन गर्न माग

सहकारी अभियन्ताहरूले सहुलियत कर्जा सहकारीमार्फत पनि परिचालन गर्न माग गरेका छन् । बैंक तथा वित्तीय संस्थामार्फत मात्र सहुलियत कर्जा प्रदान गर्दा तल्लो वर्गका किसानको पहुँच पुग्न नसकेको भन्दै सहकारीमार्फत पनि लगानी गर्न माग गरेका हुन् ।
सोमबार संघीय संसदको अर्थ समितिको बैठकमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले वाणिज्य तथा विकास बैंक र फाइनान्स कम्पनीले लगानी गरेको कृषि ऋणमा ६ प्रतिशत ब्याज अनुदान दिने व्यवस्था भएकोमा उक्त व्यवस्था सहकारीमा पनि लागू गर्न आग्रह गरे ।
अध्यक्ष कँडेलले कोरोनाका कारण अन्य क्षेत्रजस्तै सहकारी पनि प्रभावित भएको भन्दै लकडाउनपछि तरलताको अभाव हुनसक्ने बताए । “लकडाउन खुलेपछि तरलताको अभाव हुने र सहकारी क्षेत्रमा नै नकारात्मक सन्देश जाने हो कि भन्ने चिन्ता रहेको छ,” उनले भने, “तरलता व्यवस्थापनका लागि सरकारले सहयोग गर्नुपर्छ ।” तरलता व्यवस्थापनका लागि सबै सहकारी संघ, संस्थाबाट योगदानसमेत रहने गरी विपद तरलता व्यवस्थापन कोष स्थापना गर्नुपर्ने र उक्त कोषमा सरकारबाट ५ वर्षभित्र फिर्ता गर्ने गरी ५ अर्ब रुपैयाँ विनियोजन गर्न माग गरे ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले तरलता व्यवस्थापनका लागि सरकारको सहयोग आवश्यक रहेको बताए । सहकारीसँग भएको रकमले मात्र लकडाउनपछिको अवस्था व्यवस्थापन गर्न नसकिने भन्दै सरकारले सहयोग गर्नुपर्ने उल्लेख गरे ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष परितोष पौड्यालले बचत तथा ऋण सहकारीलाई व्यवस्थापन गर्न बेग्लै कानुन आवश्यक रहेको उल्लेख गरे । अहिलेको सहकारी कानुनले वित्तीय सहकारीका सबै विषय सम्बोधन गर्न नसकेको भन्दै त्यसका लागि छुट्टै ऐन आवश्यक रहेको उनको भनाई छ ।
कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठकले किसानको आफ्नै बजार नहुँदा समस्या भएको गुनासो गरे । “काठमाडौंमा सहकारीका किसानले ल्याएर डोको बिसाउने ठाउँ छैन,” उनले भने, “भएको बजार निजी व्यापारीको कब्जामा छ अनि कसरी किसानले काम गर्ने ?” उत्पादन गरेको वस्तुको लागत अनुसार मुल्य पाउने वातावरण नपाएसम्म किसान प्रोत्साहित नहुने उनको भनाइ थियो ।
तरकारी तथा फलफुल केन्द्रीय संघका अध्यक्ष विनोद पराजुलीले कालिमाटी तरकारी बजारमा किसानहरूद्वारा सञ्चालित सहकारीको पहुँच नभएको गुनासो गरे । कालिमाटी बजारमा ९ प्रतिशत स्टल सहकारीले पाउने सहमति भएपनि त्यहीँको व्यापारीहरूले नै सहकारी बनाएर कब्जा गरेको बताए । नेपाल दुग्ध केन्द्रीय सहकारी संघका कोषाध्यक्ष कृष्ण प्रसाद सापकोटाले लकडाउनका कारण धेरै दूध खेर गइरहेको गुनासो गरे ।