कृषि चुनको प्रयोग बढ्यो «

कृषि चुनको प्रयोग बढ्यो

बिर्तामोड-पछिल्लो समय झापाका किसानले कृषि चुनको प्रयोग गर्न थालेका छन् । झापाका अधिकांश ठाउँको माटोमा अधिक मात्रामा अम्लियपन भएर उर्वराशक्ति हराउँदै गएपछि माटोको उत्पादकत्व बढाउन किसानले कृषि चुनको प्रयोग गर्न थालेका हुन् ।
झापाका सहकारीहरूले माटोको स्वास्थ्य शिविर गर्ने प्रचलन बढ्न थालेसँगै कृषि चुनको प्रयोग बढ्न थालेको जिल्ला कृषि विकास कार्यालय झापाका बरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिम्सिनाले बताए । कृषि चुनको प्रयोग बढ्न थालेसँगै जिल्ला कृषि विकास कार्यालय झापा, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम र विभिन्न कृषि सहकारी संस्था र नगरपालिका तथा गाउँपालिकाले कृषि चुनमा किसानलाई अनुदान दिँदै आएका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम मार्फत कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि चुन उपलब्ध गराइने गरेको प्रधानमन्त्री कृषि आधुनिकरण कार्यक्रम धान सुपरजोन प्रमुख एवम् वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिम्सिनाले बताए । कृषि चुनको प्रयोगले बिग्रिएको र उत्पादन घट्ने गरेको माटोमा सुधार आएर उत्पादन बढ्छ भनेर किसानलाई सम्झाएपछि झापाका किसानले कृषि चुनको प्रयोग गर्न थालेकोे उनको भनाइ छ । रासायनिक मल प्रयोगलाई निरुत्साहित गर्दै कृषि चुनको प्रयोगलाई बढावा दिन नगरपालिका तथा गाउँपालिकाहरूले समेत अनुदान दिँदै आएका छन् ।
यसैबीच झापाको कमल गाउँपालिकाले यो वर्ष कृषि चुनमा ढुवानी अनुदान दिएको छ । आफूहरूले कृषि शाखा मार्फत ८० टन कृषि चुन ल्याएको र कृषक समूह तथा कृषि सहकारी संस्थामार्फत् किसानसम्म पुर्या इने कृषि प्राविधिक प्रेम पोखरेलले बताए । आइपीएम कृषि प्रणालीलाई प्रोत्साहन गर्न कृषि चुनमा अनुदानको व्यवस्था मिलाइएको समेत जनाइएको छ ।
माटो परीक्षण गरेर कृषि चुनको प्रयोग गर्न सिफारिस गर्ने गरिएको माटो परीक्षण प्रयोगशाला सुरुंगाका प्रमुख एवम् माटो विज्ञ हरि भुजेलले जानकारी दिए । उनले माटोको अवस्था हेर्दा एक कठ्ठामा १ सय २० बोरासम्म कृषि चुनको प्रयोग गर्नुपर्ने अवस्थामा रहेको बताए ।
कृषि विकास कार्यालय झापाका योजना शाखाका धर्म कटवालले पछिल्लो समयमा झापाका गाउँपालिका र नगरपालिकाले ५० देखि १ सय टनसम्म कृषि चुन ल्याइरहेको बताए । उनले बुद्धशान्ति गाउँपालिकाले मात्र यो वर्ष एक सय टनभन्दा बढी कृषि चुन ल्याएको जानकारी दिए ।

तुलसीप्रसाद निरौला

प्रतिक्रिया दिनुहोस्