Logo

लकडाउनले भन्सार राजस्व आधा घट्यो

धनगढी-कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मुलुकमा लकडाउन जारी गरेपछि भन्सारमा आयात आधा घटेको छ ।
उच्च सतर्कता अपनाएर आयातलाई निरन्तर गरिएपनि कैलालीको त्रिनगर भन्सार नाकाहरुबाट सामान्य अवस्थाको भन्दा लकडाउनमा आधा मात्रामा आयात भइरहेको हो । आयात घटेपछि भन्सार कार्यालयहरुले लक्ष्य भन्दा आधा मात्रै राजस्व संकलन गर्न सकेको छन् ।
लकडाउनका कारण धनगढीस्थित कैलाली जिल्ला भन्सार कार्यालयको तथ्यांक अनुसार चैतमा २५ करोड ५७ लाख ३२ हजार रुपैयाँ मात्रै राजस्व संकलन भएको जनाए । भन्सार कार्यालयका लेखापाल भीम भट्टले चैत महिनाका लागि भन्सार विभागबाट ५० करोड ५९ लाख ६९ लाख रुपैयाँको राजस्व संकलन गर्ने लक्ष्य प्राप्त भएको बताए । उनले ५०.५४ प्रतिशत राजस्व असुल भएको बताए ।
उनका अनुसार वैशाख महिनाका लागि ५३ करोड ७५ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएको बताए । कैलाली भन्सार कार्यालयका निमित्त प्रमुख दिल्लीप्रसाद शर्माले हालसम्म चार करोड मात्रै राजस्व संकलन भएको जनाए ।
उनले लकडाउन अवधीमा चामल, गहुँ, मकै, सोयावीन, आलु, प्याज, कोइलालगायतका अत्यावश्यक वस्तुका मालबाहक सवारी साधन त्रिनगर नाकाबाट भित्रिरहेको बताए । उनले नेपाल भित्रिने मालबहाक सवारी साधनमाथि सीमा नाका र भन्सार क्षेत्रभित्र प्रवेश गरेपछि सेनिटाइजर तथा कीटनाशक औषधी छर्कने गरेको बताए । सवारीसाधनमा अत्यावश्यक सामग्री ल्याउने व्यक्तिलाई पनि मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सुक्षाका सामग्री प्रयोग गर्न भनिएको बताए ।
भन्सार अधिकृत परमान्द जोशीले भन्सार क्षेत्रबाट कोरोना भाइरस भित्रन नदिन उच्च सावधानी अपनाएर मालसामान भित्रिन दिएको बताए । उनले मालबाहक सवारी साधनका चालक र सहचालकलाई जाँच गर्नुका साथै कुनै किसिमको स्वास्थ्य समस्या नरहेको भनि स्वघोषणा पत्रमा सही गराएर मात्रै भित्रिन दिने गरेको बताए ।
कैलालीको टिकापुर नगरपालिका–७, खग्रौलास्थित सत्ती भन्सार कार्यालयले पनि नाकाबाट भित्रिने सवारी साधनमाथी उच्च सावधानी अपनाइएको निमित्त प्रमुख धर्म विकले बताए ।

कोइला आयात रोक्न माग
कोरोनाको जोखिम बढ्न सक्ने भन्दै अत्यावश्यक वस्तुबाहेक कोइला आयात तत्कालका लागि बन्द गर्न स्थानीय व्यक्तिहरुको माग रहेका छन् ।
सरकारले अत्यावस्यक वस्तुबाहेक आयात गर्न नपाउने भने पनि त्रिनगर र खक्रौला नाकाबाट दैनिक कोइला भित्रिदै आएको छ । कोइला बोकेको ट्रकमा मानिसहरु लुकिछिपी नेपाल प्रवेश गर्न थालेको भन्दै स्थानीयहरुले तत्कालका लागि कोइला आयात बन्द गर्नुपर्ने माग गर्दै आएका हुन् ।
भारतमा कोरोनाको संक्रमण बढिरहेको बेला भारतबाटै कोइला विधिवत रुपमा भित्रिरहेको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले पनि मालबहाक सवारी साधन माथि उच्च सावधानी अपनाएर भन्सार नाकाबाट भित्र्याउने गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्