काठमाडौं उपत्यकामा सस्तियो तरकारी

काठमाडौं उपत्यकामा तरकारीको मूल्य घटेको छ । लकडाउन सुरु हुनुअघिको तुलनामा टमाटर, आलुलगायतका दर्जन बढी तरकारीको मूल्य घटेको हो । कालीमाटी तरकारी तथा फलपूmल बजार विकास समितिको तथ्यांकअनुसार लकडाउन हुनु अघिल्लो दिन प्रतिकिलो ३८ रुपैयाँ रहेको सानो गोलभेडाको थोक मूल्य २६ प्रतिशतले घटेर बुधबार २८ रुपैयाँ कायम भएको छ । सानो गोलभेडा प्रतिकिलो २८ बाट २२ रुपैयाँ र रातो आलु ३६ रुपैयाँ प्रतिकिलो औसत थोक मूल्यबाट ३२ रुपैयाँमा झरेको छ ।
उपत्यकाबाट धेरै मानिस बाहिर गएको तथा होटेल, कलेज बन्द भएका कारण खपत कम हुँदा मूल्य घटेको हो । “यो सिजन तराईदेखि उपत्यका वरपरसमेतबाट तरकारी पर्याप्त भित्रने सिजन हो, यसै पनि मूल्य कम हुनेमा कोरोनाका कारण थप घटेको छ,” राष्ट्रिय तरकारी तथा फलपूmल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले भने, “निर्वाध रूपमा तरकारी आपूर्ति भइरहेको छ, ठूलो खपत हुने होटेलहरू बन्द हुनु र उपभोक्ता पनि बाहिर जाँदा बिक्री घटेको छ ।” खेतबाट उपभोक्तासम्म निर्वाध रूपमा तरकारीजन्य उत्पादन पु¥याइरहेको तर किसानले उचित मूल्य नपाएको र व्यवसायीको पनि खपत घटेको उनले बताए ।
घ्यू सिमी (२१), तितेकरेला(२९), पर्वर (१७), घिरौंला (१८), भिण्डी (६५), रायो (३७), खुर्सानी (१९), धनियाँ (३६), भेडे खुर्सानी (२९) लगायतका हरियो तरकारीको थोक मूल्य घटेको छ भने भारतीय प्याजको मूल्य पनि घटेको छ । स्थानीय गाजरको मूल्य घटेको छ । तराईको गाजरको मूल्य भने बढेको छ । हरियो फर्सी, स्थानीय सेतो मूला र स्थानीय काउलीको मूल्य पनि बढेको छ भने बाँकी तरकारीको मूल्य घटी वा स्थिर छ । कालीमाटी बजारले सबैखोले तरकारीको थोक तथा खुद्रा मूल्य वेबसाइटमा राख्दै आएको छ । समितिका सूचना अधिकारी विनय श्रेष्ठले लकडाउनका बेला घरमै बसेर वेबसाइट वा फोनबाट मूल्य बुझेर कारोबार गर्न अनुरोध गरे ।
लकडाउनको सुरुवाती समयमा ढुवानीमा समस्या भए पनि पछिल्लो समयमा भने तरकारीजन्य उत्पादनको ढुवानी सहज भएको र घरघरमा तरकारी पु¥याउन पनि थालेको उनले बताए । रोपाइँ अगाडि खेत खाली गर्ने समय भएकाले खेत खाली गर्दै तराइ र पहाड सबैतिरबाट जेठको दोस्रोसातासम्म उत्पादित तरकारी ठूलो मात्रामा बजारमा पठाइन्छ । मुलुककै ठूलो थोक बजार कालीमाटीमा हाल दैनिक ४ देखि ५ सय मेट्रिक टन र बाँकी क्षेत्रमा गरि उपत्यकामा करिव ७ सय टन तरकारी खपत भइरहेको छ । स्थानीय खुद्रा पसलमा पनि बिक्री भइरहेको छ ।
हालको तरकारीको मूल्य गत वर्षको यही सिजनको तुलनामा गोलभेडाको हालको औषत थोक मूल्य ४८ प्रतिशत कम हो । आलू र प्याज भने गत वर्षको तुलनामा बढेको पाइएको छ । गत वर्ष यही सिजनको तुलनामा आलूको मूल्य प्रतिकिलो १० रुपैयाँ र सुकेको प्याज २३ रुपैयाँ बढी हो । अन्य अधिकांस हरियो तरकारीको मूल्य कम्तिमा २२ प्रतिशतदेखि अधिकतम ७५ प्रतिशतसम्म कम हो । कानुनअनुसार थोक मूल्यमा अधिकतम २० प्रतिशतसम्म नाफा राखेर खुद्रा मूल्य तय गर्न मिल्छ । सरकारले लकडाउनको अवधिमा अनावश्यक मूल्य वृद्धि भएमा उजुरी गर्न आह्वान गर्दै आएको छ ।