स्वदेशमै लगानी गर्न इच्छुक यूएईका नेपाली व्यवसायी

नेपालका सबै राजनीतिक दल एवं सरकारले आर्थिक एजेन्डालाई प्राथमिकतामा राखेर अघि बढ्ने जनाउन थालेपछि विदेशमा रहेका नेपाली स्वदेशमा लगानी गर्न इच्छुक देखिएका छन् । नेपालमा राजनीतिक एजेण्डालाई भन्दा आर्थिक एजेण्डा अघि बढाएर देशलाई समृद्धिमा लैजाने आवाज उठिरहेका बेला यूएईमा रहेका नेपाली मातृभूमिमा लगानी गर्न आतुर देखिएका छन् ।
विदेशमा सिकेको सिप, प्रविधि तथा प्रणाली बुझेका नेपाली व्यवसायी अब आफ्नो देशमा लगानी गर्ने सोच बनाएका छन् । यूएईमा अल खवास ट्रेडिङका सञ्चालक ओम प्रकाश भण्डारी अहिले विदेशमा रहेका सम्पूर्ण नेपाली व्यवसायीलाई नेपालमा लगानीका लागि आकर्षण गर्ने सुनौलो अवसर भएको बताउँछन् । सन् २००७ मा रोजगारको सिलसिलामा यूएई आएका भण्डारी ८ वर्ष काम गरेर कमाएको पैसा लगानी गरेर यूएईमा नै इम्पोर्टर, सप्लायर तथा जनरल हार्डवेयर टूल्स एण्ड इलेक्ट्रिकल सामानको व्यवसाय गरिरहेका छन् ।
“अब सरकारले विदेशमा रहेका नेपालीको लगानी भित्र्याउन केही नीतिगत व्यवस्थाको सुधार गर्नुपर्छ,” व्यवसायी भण्डारी भन्छन्, “नेपालमा खनिजजन्य कच्चा पदार्थको आयात गर्दा निःशुल्क अथवा न्यूनतम करको दायरा राखेर साना तथा मझौला अथवा ठूला कारखाना खोल्ने वातावरण बनाउनुपर्छ ।”
व्यवसाय प्रवद्र्धन गर्न आवश्यक पर्ने विभिन्न कर तथा अन्य नीतिगत व्यवस्थामा परिमार्जन तथा नयाँ बनाउन सके विदेशबाट ल्याएको कच्चा पदार्थबाट उत्पादन गरिएका सामान प्रतिष्पर्धाका साथ विदेशमा बिक्री गर्न सकिने उनको सुझाव रहेको छ । अहिले नेपालमा भएका कलकारखाना बन्द भइरहेको अवस्थामा विदेशमा रहेका नेपालीको लगानीको खाँचो छ । विदेशबाट लगानी गर्न इच्छुक नेपाली भन्छन्, “सरकारले नेपालको अर्थतन्त्र बलियो बनाउन ठोस कदम उठाउनुपर्ने बेला आएको छ ।”
व्यवसायी भण्डारीले सरकारले कच्चा पदार्थ आयातका लागि सहुलियत कार्यक्रम ल्याउन सके नेपालीले देशको आर्थिक समृद्धिका लागि प्रदेशअनुसार लगानी गर्न आतुर रहेको बताए ।
विदेशका व्यवसाय गरिरहेका नेपाली देशको राजनीतिक एजेन्डामा खासै चासो नराख्ने भए पनि आर्थिक विकास र देश समृद्धिको विषयमा भने चासो राख्न थालेका छन् । देश संघीयतामा गएको र राजनीतिक स्थिरता पनि भएको हुँदा अब लगानीको वातावरण बन्न लागे पनि अझै सरकारले केही नीतिगत कुराहरूमा ध्यान दिनुपर्ने उनीहरू बताउँछन् । “हामी हाम्रै देशमा लगानी गर्न चाहन्छौ तर सरकारले केही कुरामा हामीलाई सहयोग गर्नुपर्छ,” उनीहरू भन्छन् ।
लगानी सुरक्षाको खाँचो
विदेशमा रहेका नेपाली व्यवसायीले नयाँ व्यवसाय गर्नका लागि आवश्यक पर्ने सुरक्षाका बारे पनि सरकारले ध्यान दिनुपर्ने बताएका छन् । विदेशी भूमिमा रहेका नेपालीहरूले स्वादेश फर्काउने नीतिमा सुरक्षाको चासोसमेत राखेका छन् । व्यसायीले उद्योग कलकारखाना खोलेपछि त्यसलाई राजनितीक दबाबभन्दा पनि लगानीमैत्री वातावरणमा काम गर्न दिनुपर्ने सुझाव दिएका छन् ।
देश संघीय संरचनामा गएसँगै स्थायी सरकार बनेकोमा खुशी व्यक्त गर्दै अनुभवी अर्थमन्त्रीको नयाँ नीतिले देशमा लगानीको वातावरण बन्ने र वैदेशिक क्षेत्रमा रहेका व्यवसाय स्वदेशमै लगानी गर्न पाउनेमा विदेशमा रहेका नेपाली ढुक्क छन् ।
-भुपराज बस्याल