केटीएमको पहिलो स्टन्ट प्रतिस्पर्धा

केटीएम मोटरसाइकलले नेपालमा पहिलो पटक अरेन्ज स्टन्ट प्रतिस्पर्धा ‘रोरिङ गेयर्स’ आयोजना गरेको छ । गत शनिबार सातदोबाटो स्वीमिङ कम्प्लेक्समा उक्त प्रतिस्पर्धा आयोजना गरेको हो । उक्त प्रतिस्पर्धा २२ वर्षिय भिम होना विजेता घोषित भएका थिए भने यसै गरी राम सरदार र रमेश दुवाल क्रमशः दोस्रो र तेस्रो भएका थिए ।
यस समारोहमा विश्व विख्यात र केटीएमका आधिकारिक स्टन्ट राइडर स्लोभेनीयाका रोक बगारोज्ले पनि स्टन्ट प्रस्तुत गर्नुका साथै प्रतिस्पर्धामा निर्णायकको भूमिका पनि निर्वाह गरेका थिए । समारोहमा नयाँ ग्राफिक्स भएको केटीएम ३ सय ९० डुकको पनि बगारोज् आफैंले प्रदर्शन गरेका थिए । केटीएम अष्ट्रेलियामा उत्पादन भएको युरोपको १ नंबर स्पोर्टस मोटरसाइकल ब्राण्ड हो । यो मोटरसाइकल नेपाली बजारमा हन्सराज हुलासचन्द एण्ड कम्पनी ल्याएको हो ।
केटीएमसँग विगत ७ वर्षदेखि आवद्ध रहेका बगारोज प्रतिस्पर्धाहरू देखेर निकै प्रभावित भएका थिए र उनले नेपाली राइडरहरूबाट धेरै कुरा सिकेको बताए । यसका साथै समारोहमा बीएमएक्स नेपालले पनि प्रदर्शन गरेका थिए । जसबाट उपस्थित सबै रोमाञ्चित भएका थिए ।
रोक बगारोज्को प्रदर्शन हेर्नका लागि ठूलो जमात भेला भएका थिए र बगारोज्ले पनि कसैलाई पनि निराश गरेनन् । बगारोज् ठूलो जमात देखेर स्तब्ध हुँदै भने, “तपाईंहरू यति धेरै जना आउनु हुनेछ भनेर मैले सोचेको थिइन ।” पहिलो अरेन्ज स्टन्ट प्रतिस्पर्धा रोरिङ गेयर्स, शानदार स्टन्टहरू र ५ हजार उत्साह प्रशंसकहरूको उपस्थितिमा ज्यादै सफल भयो । उपस्थित जमातको उत्साह र जोशले सम्पूर्ण समारोहलाई रोमाञ्चक र जीवन्त बनाएको थियो ।