भण्डारी दोस्रो कार्यकाललाई राष्ट्रपति चुनिँदै «

भण्डारी दोस्रो कार्यकाललाई राष्ट्रपति चुनिँदै

नयाँ राष्ट्रपतिका लागि आज (मंगलबार) निर्वाचन हुँदैछ । निर्वाचन आयोगले तोकेको कार्यतालिकाअनुसार नयाँ राष्ट्रपति चयनका लागि आज १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।
संविधान कार्यान्वयनपछि पहिलो पटक हुन लागेको निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमाले र नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार छिन् । भण्डारीविरूद्ध नेपाली कांग्रेसले नेतृ लक्ष्मी राईलाई उठाएको छ ।
संविधानले राष्ट्रपति निर्वाचनमा प्रदेश सभा, प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य मतदाता हुने व्यवस्था गरेको छ । संविधानअनुरूप भएको निर्वाचनबाट सात प्रदेशबाट प्रदेशसभामा ५५० जना, प्रतिनिधिसभामा २७५ जना र राष्ट्रिय सभामा निर्वाचनबाट ५६ जना निर्वाचित तथा ३ जना मनोनीत गरी ५९ जना सदस्य छानिएका छन् ।
राष्ट्रपति निर्वाचनमा प्रदेश सांसद र संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रिय सभा)को मतभार भने फरक–फरक कायम गरिएको छ । संघीय संसद्को एक मतबराबर ७९ र प्रदेश सांसदको एक मतबराबर ४८ मतभार तोकिएको छ । जसअनुसार केन्द्रीय सांसदको मत २१७२५, प्रदेश सांसदको मत, २६४००, राष्ट्रिय सभा सदस्यको मत ४६६१ गरी जम्मा ५२७८६ मत हुनेछ । राष्ट्रपतिमा निर्वाचित हुन २६३९४ आवश्यक पर्नेछ ।
निर्वाचनमा संघीय संसदका ३३४ सदस्यमध्ये ३३१ जनाले मतदान गर्न पाउनेछन् । राष्ट्रिय सभामा मनोनित ३ जनाको नाम मतदाता नामावलीमा छैन । सात प्रदेशका ५५० सदस्य मध्ये ५४९ जनाले मतदान गर्नेछन् । मनाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका दिपक मनाङ्गेको नाम मतदाता नामावलीमा समावेश गरिएको छैन ।

कसको सम्भावना कति ?
नयाँ राष्ट्रपतिमा भण्डारी र राईबीच प्रतिष्पर्धा हुने भए पनि भण्डारी निर्वाचित हुने निश्चित छ । भण्डारीलाई एमाले, माओवादी र अन्य साना दलको समेत समर्थन छ । राईलाई भने कांग्रेसको मात्रै समर्थन रहेको छ । यसरी हेर्दा भण्डारी दोस्रो कार्यकाल राष्ट्रपतिमा निर्वाचित हुने पक्का छ । राष्ट्रपतिमा निर्वाचित हुन जम्मा मतको ५१ प्रतिशत आवश्यक पर्छ । तर, बाम गठबन्धनसँग मात्रै ६५ प्रतिशत मत रहेको छ । एमालेसँग कुल ५२७८६ मतको ४५ प्रतिशत अर्थात् २३ हजार ५१४ मत रहेको छ । माओवादी केन्द्रसँग १० हजार ३९८ अर्थात् २० प्रतिशत मत रहेको छ । संघिय समाजवादी फोरमको ३ हजार १९८ अर्थात् ६ प्रतिशत र राष्ट्रिय जनता पार्टीको २ हजार ८४५ प्रतिशत अर्थात् ५ प्रतिशत गरी ११ प्रतिशत मतसमेत जोडिनेछ । यता राईका पक्षमा कांग्रेसको ११ हजार ४२८ मत अर्थात् २२ प्रतिशत मतमात्रै रहेको छ । अन्य दलसँग १ हजार ४०३ अर्थात् २ प्रतिशत मत छ । यो जोडघटाउ हेर्दा राष्ट्रपतिमा भण्डारीको ‘सेकेन्ड इनिङ’ पक्का छ ।
निर्वाचन आयोगले मंगलबार अपरान्ह ४ बजेदेखि मतगणना सुरू हुने जनाएको छ । आयोगका अनुसार मतगणना सुरू भएको चार घण्टाभित्रमा परिणाम आइसक्ने छ ।

प्रतिक्रिया दिनुहोस्